Successfully Copied

सेलिब्रेटीहरूको तीज कार्यक्रम

हिन्दू महिलाहरूको महान् चाड तीज उनलाई रमाइलो लाग्ने पर्वमध्ये एक हो ।

माण्डवी त्रिपाठी, गायिका

सिम्पल–सिम्पल कान्छीको जस्ता थुप्रै लोकप्रिय गीत गाइसकेकी गायिका माण्डवी त्रिपाठी तीजको अवसरमा तीज गीतहरू पनि गाइरहेकी हुन्छिन् । हिन्दू महिलाहरूको महान् चाड तीज उनलाई रमाइलो लाग्ने पर्वमध्ये एक हो । तीजको व्रत बस्दा श्रीमान्को आयु लम्बिने कुरामा विश्वास नभए पनि उनी संस्कृति जोगाउन एवं आत्मसन्तुष्टिका लागि व्रत बस्छिन् । माधवीले तीजका लागि १ महिनाअघि नै पहिरन बनाइसकेकी हुन्छिन् । तीजमा चोखो लगाउनुपर्छ भन्ने मान्यताअनुरूप तीजका लागि चोखो एक सेट छुट्याउँछिन् ।

७ दिनअघि : आफन्त तथा मिल्ने साथीहरूका लागि उपहारहरू किन्छु ।

६ दिनअघि : पार्लरमा गएर हेयर स्टाइल, फेसियल, वाक्स, थ्रेडिङ आदि गराई फ्रेस हुन्छु ।

५ दिनअघि : तीजका सम्पूर्ण सामग्रीको जोहो गर्छु ।

४ दिनअघि : घरमा नन्द, दिदीहरूलगायत आफन्त महिलाहरूलाई दर ख्वाउँछु । नाचगान गरी उपहार आदान–प्रदान गर्छु ।

३ दिनअघि : साथीहरू तथा आफन्तकहाँ दर खान जान्छु । कार्यक्रमहरू पर्ने भएकाले त्यति नभ्याए पनि सकेजति जमघटमा सहभागी हुने प्रयास गर्छु ।

अघिल्लो दिन : आमा–बुवा चितवनमा हुनुभएकाले म दिदीको घरमा दर खान जान्छु र उतै तीज मनाउँछु । चार जना दिदीसँग नाचगान गरेर घरमै रमाउँछु ।

तीजको दिन : बिहान चोखो नयाँ रातो पहिरन लगाई मन्दिर जान्छु । त्यसपछि पानी, फलफूल खाएर व्रत बस्छु । म निराहार व्रत बस्न सक्दिन । घरमा दिदीहरूसँगै तीजको लयमा नाचेर त्यो दिन बिताउँछु । बेलुकी पूजा गरेर व्रत सम्पन्न गर्छु । 

 

उषा खड्गी तिमिल्सिना, मिस नेपाल–२००० तथा फेसन डिजाइनर

२००० की मिस नेपाल उषा खड्गी अहिले फेसन डिजाइनका साथै मोडलिङमा पनि व्यस्त छिन् । नेवार समुदायमा जन्मिए पनि बाहुनसँग विवाह गरेपछि उषा तीजको व्रत बस्न थालेकी हुन् । उनलाई तीजको व्रत र व्रतअघि दर खाने तथा नाचगान गर्ने चलन सारै मनपर्छ । डेढ महिनाअघिदेखि नै तीजका कार्यक्रमहरूमा उनको व्यस्तता बढ्छ ।

 

७ दिनअघि : साथीभाइहरूकहाँ दर खान जान्छु ।

६ दिनअघि : आफ्ना पहिरन, एसेसरिज एवं तीजका सामग्रीहरू जोरजाम गर्छु ।

५ दिनअघि : आफन्तकहाँ तथा कार्यक्रमहरूमा व्यस्त हुन्छु ।

३–४ दिनअघि : १५ दिनअघि फेसियल गराइसकेकी हुन्छु । त्यसैले पार्लरमा गएर क्लिन्जिङ, थ्रेडिङलगायत फ्रेसअपका लागि वाक्स, बडी स्पा, मेनिक्योर–पेडिक्योर आदि गराउँछु । 

अघिल्लो दिन : दरको दिन घरमा नन्दहरूलाई बोलाई दर ख्वाउँछु, नाच–गानमा रमाउँछु अनि चुरा, टीका बाँड्छु ।

तीजको दिन : बिहान नुवाइधुवाई रातो पहिरन लगाएर मन्दिर जान्छु । १ बजेसम्म केही पनि नखाई पूजाआजा गर्छु । त्यसपछि घर आएर पानी तथा फलफूल खान्छु । तीज एउटा संस्कार हो, यसको राम्रो पक्षलाई अपनाउनुपर्छ तर श्रीमान्का लागि भनेर आफू बिरामी हुने गरी पानी नै नपिई व्रत बस्नु ठीक होइन । 

 

सोनिका लामा, गायिका तथा मोडल

तामाङ चलचित्रकी नायिका सोनिका मोडल एवं गायिका पनि हुन् । उनले पप, आधुनिक, नेवारी, दोहोरी तथा तीज गीतहरूमा स्वर दिइसकेकी छिन् । लामा भए पनि खत्री क्षेत्री (केसी) सँग विवाह गरेकी सोनिकालाई तीज पर्व निकै मन पर्छ । लामाले यसपटकको तीजको सेड्युलसमेत बनाइसकेकी छिन् ।

७ दिनअघि : बुटिकहरूमा आफूले अर्डर गरेका पहिरन कलेक्ट गर्छु ।

६ दिनअघि : मेकअपका सरसामान तयार पार्छु ।

५ दिनअघि : पार्लर गएर फेसियल, वाक्स तथा स्पाहरू गर्छु ।

४ दिनअघि : दाइको घरमा दर खान जान्छु ।

३ दिनअघि : मेहन्दी लगाउँछु, नेल आर्ट गराउँछु ।

अघिल्लो दिन : घरमा दिदीबहिनी तथा साथीहरूलाई दर खान बोलाउँछु । घरकै कौसीमा मज्जाले नाचगान गर्छु ।

तीजको दिन : बिहानै उठी नुहाएर चोखो रातो पहिरनमा शिवजीको मन्दिर जान्छु । त्यो दिन म श्रीमान्को लामो आयुका लागि व्रत बस्छु । पानी नपिई व्रत बस्न त सक्दिन तर जुस एवं फलफूल खाएर व्रत लिन्छु । त्यो दिन विभिन्न ठाउँमा तीज कार्यक्रममा गाउन पनि बोलाइन्छ । त्यहाँ पनि पुग्छु । राति पूजा गरेर बूढाले ख्वाएपछि मात्र मेरो व्रत सकिन्छ । 

 

सञ्चिता लुईंटेल, नायिका

बाल्यकालमा आमाहरूको सिको गरेर रमाइलोका लागि व्रत बसेकी सञ्चिता ३–४ वर्षयतादेखि तीजका लागि सारै व्यस्त हुन थालेको अनुभव सुनाउँछिन् । सञ्चिता ईश्वरप्रतिको आस्था तथा सामाजिक रूपमा आपसमा खुसी आदान–प्रदान एवं परिवारको खुसीका लागि व्रत बस्छिन् । साथीहरूको घरमा दर खान जाने, तीजको फोटोसुट, तीज कार्यक्रम आदिमा उनको व्यस्तता बढ्दो छ । 

७ दिनअघि : फुपू, ठूलीआमा तथा साथीहरूको घरमा दर खान जान्छु । 

६ दिनअघि : तीजका लागि चुरा, पोते, झुम्का, टीका एकैपटक किनेर ल्याउँछु । भेटघाटका क्रममा ती चुरा–पोते सबैलाई बाँडिदिन्छु । 

४ दिनअघि : अर्डर गरेका तीजका पहिरन कलेक्ट गर्छु र पार्लरमा गएर ट्रिटमेन्ट गराउँछु । 

३ दिनअघि : घरमा दिदीबहिनी तथा साथीहरूलाई दर खान बोलाउँछु । उनीहरूसँग रमाइलो गर्छु । यसरी भेटघाट गर्दा धेरै कुरा सेयर हुन्छ र धेरैको लुकेको प्रतिभा पनि बाहिर आउँछ । 

२ दिनअघि : पूजाका सामग्री आफै किन्छु । 

अघिल्लो दिन : घरमा भेज खाना बनाएर दर खान्छु । दरका लागि हरेक वर्षजसो एउटा न एउटा नयाँ परिकार बनाइरहेकी हुन्छु । 

 तीजको दिन : बिहान मन्दिर जान्छु । मन्दिरबाट फर्किएपछि पानी पिउँछु । साँझ बत्ती बालेर पूजा गरेपछि भने फलफूल खान्छु । दिउँसो कुर्ता–सुरुवाल लगाए पनि साझँ भने साडी लगाउँछु ।  

 

सुगरिका केसी, मिस नेपाल

मिस नेपाल–२००४ सुगरिका केसीलाई तीज निकै पर्छ । उनले विवाहअघि तीजलाई त्यति महत्व दिएकी थिइनन् तर विवाहपछि तीजको महत्व बेग्लै लाग्न थालेको केसी बताउँछिन् । उनको तीजको समय तालिका प्राय: निश्चितजस्तै हुन्छ । महिना दिनअघि : तीजका लागि केही पहिरन बनाउँछु । 

७ दिनअघि : आफूले अर्डर गरेका पहिरन संकलन गर्छु ।

६ दिनअघि :  आफन्तहरूकहाँ गएर दर खान्छु ।

५ दिनअघि : विभिन्न तीज कार्यक्रममा सहभागी भैरहेकी हुन्छु ।

४ दिनअघि : पार्लर गएर फेसियल, स्पा तथा हेयर केयर गराउँछु ।

३ दिनअघि : घरमा आफन्तहरू बोलाएर दर ख्वाउँछु । सौभाग्यका सामान चुरा, पोते आदि उपहार आदान–प्रदान गर्छु ।

२ दिनअघि : पूजा सामग्री मिलाउँछु । बाँकी सामानहरू किन्छु ।

अघिल्लो दिन : मामुकहाँ दर खान जान्छु ।

तीजको दिन : तीजको दिन व्रत बस्छु । सौभाग्यको रातो साडी, गहना, चुरा, पोते आदि लगाएर मन्दिरमा नाचगान गर्छु । बेलुका शिवजीको आरती गरेपछि व्रत समाप्त गर्छु । त्यसपछि फलफूल खान्छु । व्रतको भोलिपल्ट ऋषिपञ्चमीका दिन मन्दिर गएर पूजा गर्छु अनि कर्कलाको तरकारी र भुजा खान्छु ।   

 Image