उत्साहित महसुस गरौं

लक्ष्मी भण्डारी थापा

भाद्र २७, २०७३  

कहिलेकाहीँ जीवनमा मस्तीले फरक उत्साह ल्याउँछ । त्यति मात्र होइन यसले जीवनमा अनेकौं पाठ पनि सिकाउँछ । एक शोधका क्रममा जब कलाकार, धावक, डाक्टर, इन्जिनियर, संगीतकार आदि विविध क्षेत्रका मानिसहरूसँग सोधियो–आफ्नो कामको परिणाम प्राप्त गर्दा कस्तो महसुस हुन्छ ? त्यतिबेला सबैले एकै खालको उत्तर दिएका थिए । मानसिक कामले सुखको अनुभूति गराउँछ र संसार जितेको महसुस हुन्छ । सुखद् क्षणहरू मानिसको जीवनमा स्मृतिका रूपमा रहन्छन् । ती मानसिक कार्यका लागि सहयोगी सिद्ध हुन्छन् । कालान्तरको प्रयासमा पनि यस्ता ताजा स्मृतिले प्रभावकारी भूमिका खेल्छन् ।

 

ब्रेकफास्ट 

ब्रेकफास्ट ठीक तरिकाले लिँदा काम गर्ने तथा सोच्ने क्षमतामा आश्चर्यजनक सुधार आउँछ । बौद्धिक परीक्षामा भाग लिने हरेक बालबालिका जसले समयमा सही ब्रेकफास्ट खान्छन् उनीहरूको प्रदर्शन र नतिजा अब्बल देखिएको छ । जुन बालबालिकाले प्रतियोगिताका दिन सही तरिकाले ब्रेकफास्ट खाएका हुँदैनन् उनीहरूको प्रदर्शन औसत वा औसतभन्दा पनि कम देखिन्छ । हतारका कारण ब्रेकफास्ट खान भ्याइएको छैन भने पनि दूध, जुस, बिस्कुट वा ड्राइफ्रुट्स खान सकिन्छ  जसबाट शरीरमा ऊर्जा पैदा हुन्छ र प्रदर्शनमा बलियो मद्दत मिल्छ । त्यसैले लन्च र ब्रेकफास्ट छुटाउनु हुँदैन ।

 

स्मृति फल

स्याउ आइरनले भरिपूर्ण फल हो । यसमा अन्य खनिजपदार्थ पनि हुन्छ । स्याउमा दिमागलाई क्रियाशील राख्ने आवश्यक तत्व पाइन्छ । प्रतिदिन स्याउ खाँदा स्मृति बढ्दै जान्छ । स्याउ, अंगुर, अंजीर, चेरी, गाजर, आलु तथा अलैंचीमा खनिज तत्व पाइन्छ । प्रतिदिन एउटा स्याउ सेवन गरौं, डाक्टरकहाँ जानबाट जोगिऔं भन्ने भनाइ नै छ । 

 

केफिन–स्मरणशक्ति उत्तेजक

प्रत्येक दिन कम केफिनयुक्त कफी पिउँदा अल्पकालीन स्मरणशक्ति चुस्त–दुरुस्त हुन्छ । जब थकान महसुस हुन्छ त्यतिबेला कफी पिउँदा केही आराम मिल्छ तर बिहानीको सुरुवात कफीबाट गर्नु त्यति लाभदायक नहुनसक्छ । जब पहिल्यै तरोताजा महसुस गरिएको छ भने कफी पिएर स्मृति बढाउने दबाब हानिकारक हुनसक्छ । यसले स्मरणशक्तिमा विपरीत प्रभाव पार्नसक्छ । 

सेरेटोनाइन रसायनले मस्तिष्कमा संवादवाहकको काम गर्छ । यो अल्पकालीन स्मरणशक्तिको विकासमा सहायकसिद्ध हुन्छ । केफिन यही रसायनमा प्रभाव पुर्‍याउने तत्व हो । केफिनको स्रोत कफी मात्र नभएर धेरै मात्रामा पिइने चिया, कार्बोनेटिड सोडा, कफीयुक्त आइसक्रिम एवं दही आदि पनि हुन् । यसकारण यी पदार्थको उपभोग गर्नुअघि यिनको प्रभावमा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ । 

 

खानपानबीच पानी

थकान महसुस भएको छ भने प्रशस्त पानी पिउनुपर्छ । यसले कार्यक्षमता एवं स्मरणशक्ति बढाउँछ । लन्चको आधा घन्टापछि हामीलाई आफ्नो उत्साहमा कमी आएको महसुस हुन्छ । त्यस्तो अवस्थामा केरा, स्याउ, सुन्तलाजस्ता ताजा फल वा सलाद, दही, जुस, कर्नफ्लेक्स, बिस्कुट आदि खान सकिन्छ । यसले मानिसलाई स्वस्थ राख्नुका अतिरिक्त मस्तिष्कलाई ताजगी तथा फुर्ती प्रदान गर्छ । कामको बीच–बीचमा पानी पिउँदा शरीर र मस्तिष्कमा फुर्ती महसुस गर्न सकिन्छ ।

 

जानकारी विभाजन गर्नु 

हाम्रो मस्तिष्कमा कुनै खास जानकारी तथा सूचना खोज्ने एउटा विशेष प्रणाली हुन्छ । कुनै पनि सूचना जब हाम्रा ज्ञानेन्द्रियद्वारा मस्तिष्कसम्म पुग्छ तब त्यो हाम्रो स्मृतिमा लामो समयसम्म कायम रहन्छ । यसो हुनुको कारण हाम्रा हरेक इन्द्रियले आ–आफ्ना हिस्साको सूचना मस्तिष्कको विशेष स्थानमा स्टोर गरेर राख्नु हो । आफ्ना ज्ञानेन्द्रियलाई परस्परमा प्रभाव जमाइरहन दिनुपर्छ । जब सम्भव हुन्छ तब आफ्ना इन्द्रियको भरपूर प्रयोग गर्नुपर्छ । हेर्ने, सुन्ने, सुँघ्ने, स्पर्श एवं शारीरिक हलचल आदि गतिविधिमाथि ध्यान दिनुपर्छ । आफ्नो भावनाको सम्बन्ध पनि यसैसँग जोड्न सकिन्छ । यसरी आफ्नो अनुभवको मानसिक सम्बन्ध बनाउँदै जतिसुकै पुराना घटना वा कुराकानी सम्झना गर्न सकिन्छ । यसैगरी कसैको नाम वा फोन नम्बर सधैं सम्झना गर्न सकिन्छ । विभिन्न जानकारीलाई स–साना टुक्रामा स्मरण गर्दा पनि विशेष फाइदा मिल्छ । 

 

आफैंसँग कुरा गर्नु 

मस्तिष्कलाई यत्रतत्र भट्काउन तथा विचारलाई यताउता दौडाउनबाट जोगिन आफैंसँग वार्तालाप गर्ने प्रयास गर्नु राम्रो हुन्छ जसले एकाग्र हुन मद्दत पुर्‍याउँछ । उदाहरणका लागि सपिङ मलको पार्किङमा कार पार्किङ गरिएको छ भने कारबाट बाहिर निस्किएर आफैंसँग सोध्नुपर्छ–अब म यहाँबाट दायाँ वा बायाँ लाग्नुपर्छ । मैले कारको चाबी यहाँ राखेको छु । पछिल्लो पटक मैले के खरिद गरेको थिएँ आदि । काम सम्पन्न गरिसकेपछि यी सारा कुरा विपरीत क्रमद्वारा सोच्दै उल्टो दिशामा फर्किए कार पार्किङसम्म पुग्न सहज हुन्छ ।

 

आफूले राखेका कुरा याद गर्न वा हराएका कुरा खोज्ने उपाय सरल छ । आफ्नो मस्तिष्कलाई नियन्त्रण गरी आँखा चिम्लिएर स्मरण गरे त्यस्ता वस्तु फेला पार्न सहयोग पुग्छ । के समयमा औषधि सेवन गरियो ? आफ्नो कपी, किताब, डायरी, कलम आदि आफ्नो ब्यागभित्र राखियो ? सम्झनका लागि  आफ्नो क्रिया र विचारमा केन्द्रित रही आफैंसँग  कुराकानी गर्न सकिन्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>