Successfully Copied

सपिङमा मज्जा

अहिले नयाँ पहिरन किन्न दसैं नै कुर्नुपर्दैन ।

अहिले नयाँ पहिरन किन्न दसैं नै कुर्नुपर्दैन । आवश्यकता र रूचिअनुसार चाहेको कुरा कुनै पनि समयमा किन्न सकिने अहिलेको परिवेशमा पनि दसैंको सपिङ मोह भने त्यति घटेको देखिँदैन । नेपालमा दसैं भन्नासाथ सपिङ गर्ने अवसर पनि मस्तिष्कमा आइहाल्छ । अघिपछि जेजस्ता सामान प्रयोग गरे पनि दसैंमा हरेक व्यक्ति नयाँ सामान किनौं भन्ने सोचमा हुन्छन् । त्यसमा पनि विवाह गरेका पुरुषहरू आफ्ना लागि किन्नेभन्दा श्रीमती तथा बालबालिकाहरूलाई सपिङ गराउने योजनामा हुन्छन् ।

गायक अमृत क्षेत्री श्रीमती संगीतासँग बजार गएर आफूलाई आवश्यक सामग्री, महिनावारी सपिङ तथा विभिन्न पहिरन किनिरहन्छन् । दसैं आउनासाथ उनी केही नयाँ लगाउने तथा फरक स्टाइलमा देखिने चाहना राख्छन् । श्रीमतीले महिनौं दिनअघिदेखि यसपटकको दसंैका लागि यस्तो साडी चाहिन्छ भनिरहेकी हुन्छिन् । दसैंका लागि श्रीमती तथा छोरीसँगै सपिङ गर्न जाने अमृत बताउँछन् । अमृत दरबारमार्ग, सिभिल मल तथा कुमारीपाटीमा सपिङ गर्छन् ।

दसैंको पहिरनमा ४० देखि ४५ हजारसम्म खर्च हुने क्षेत्री बताउँछन् । गाउँमा बस्ने आमा एवं भाञ्जा–भाञ्जीलाई पनि लुगा किनिदिने अमृतलाई गत वर्षको दसैंमा आफ्नै लागि किनेको घडी निकै मन परेको छ । उनी हरेक वर्ष यस्तै सम्झना हुने चीज पनि किन्ने सोचमा हुन्छन् । दसैंमा मात्र होइन प्राय: हरेक समय अमृतकै च्वाइसमा सपिङ हुन्छ तर अमृतको पहिरनमा भने श्रीमतीको च्वाइसले प्राथमिकता पाउँछ । 

सञ्चारकर्मी सुरज सिंह ठकुरी सपिङ गरिरहनुपर्ने व्यक्ति हुन् । पेसाले गर्दा विभिन्न अवसर हेरी ड्रेसअप गर्नुपर्ने भएकाले दिनमा ४–५ वटासम्म लुगा फेर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । ठकुरी जहाँ पायो त्यहाँ सपिङ गर्दैनन् । वर्षमा २–३ पटक विदेश गैरहनुपर्ने भएकाले विदेश गएको मौकामा एकै पटक थुपै्र पहिरन किनेर ल्याउनु उनको पुरानै बानी हो । ठकुरी भन्छन्–‘अलिकति बढी पैसा तिरे सक्कली माल आउँछ भने किन कमसल तथा नराम्रो पहिरन लगाउने ?’ त्यसैले उनका प्राय: पहिरन विदेशकै हुन्छन् । श्रीमतीले पनि विदेशबाट साथीहरूसँग विभिन्न पहिरन मगाइरहने भएकीले उनीहरू ट्रेडिसनल पहिरन मात्र नेपालमा सिलाउँछन् । छोरी भएपछि छोरीका लागि विदेशबाट ल्याएकाहरूले मात्र नपुग्ने हुँदा छोरीलाई दरबारमार्गमा सपिङ गराउँछन् ।

सपिङ गर्दा समय लगाउनु राम्रो हो तर समयको अभावले उनी आँखा जहाँ पर्‍यो त्यहीँ सामान उठाइहाल्छन् । त्यसले गर्दा पहिले आफूसँग भएका पहिरन पनि फेरि दोहोर्‍याएर खरिद हुने ठकुरी बताउँछन् । त्यसैले ठकुरीकी श्रीमती रेश्मा एक्लै सपिङ गर्न रुचाउँछिन् । उनी समय लगाएर छानीछानी मज्जाले सपिङ गर्छिन् । दसैंमा सुरज दौरा–सुरूवाल सिलाएर लगाउँछन् भने श्रीमती ओढनी बुटिकमा गएर लेहेंगा, कुर्ता, साडी आदि तयार गराउँछिन् । छोरीलाई पनि त्यसैअनुसार ट्रेडिसनल पहिरन बनाइदिन्छन् । सुरजलाई नयाँ दौरा–सुरुवालमा सक्कली ढाकाको पुरानो टोपी मनपर्छ । उनीसँग ५० वटाजति ढाकाका टोपी छन् भने सय वर्ष पुरानो ढाकाको टोपी पनि छ ।

नायक दयाहाङ राईलाई सपिङप्रति त्यति रुचि छैन तर सुरजको जस्तै सपिङ उनको पनि बाध्यता हो । आफ्नी श्रीमती तथा छोराका लागि त सपिङ गर्नैपर्‍यो त्यसमा पनि घरायसी किनमेल गरिरहनुपर्ने बाध्यता छ । दयाहाङ कहिल्यै सपिङको योजना बनाउँदैनन् । फुर्सद हुनासाथ श्रीमती वृनका राईसँग सपिङका लागि निस्किहाल्छन् । दसैंमा राई दम्पतीले दुई दिन सपिङका लागि समय छुट्टाएका हुन्छन् । दयाहाङ ८० प्रतिशत श्रीमतीको र २० प्रतिशत मात्र आफ्नो रोजाइका सामग्री किन्छन् । घरेलु सरसामान काठमाडौंकै मलहरूमा र कपडा दरबारमार्गमा किन्छन् । दयाहाङ विदेश जाँदा उतैबाट पनि सामान किनेर ल्याउँछन् । घरका सामान खरिद गर्न दुईजना सँगै गए पनि व्यक्तिगत सपिङका लागि भने उनीहरू एक्लाएक्लै बजार पुग्छन् । दसैंमा भने राई दम्पती छोरासहित बजार जान्छन् । दयाहाङले सबैभन्दा बढी किन्ने सामान जुत्ता र छाता हुन् । पहिले भन्दा सन्तान जन्मिएपछि सपिङको रहर र बाध्यता बढ्ने उनको अनुभव छ ।

लामो समय लन्डन बसेर विगत दुई वर्षदेखि नेपालमै सक्रिय कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठलाई पनि दसैंमा नयाँ–नयाँ सामान किनौं भन्ने लाग्छ । दसैंमा परिवारका सबैलाई नयाँ कपडा किनिदिने विवेक आफ्ना दुई छोरीका लागि सपिङ गर्न रुचाउँछन् । लन्डनमा नेपालको जस्तो दसैंको वातावरण नभए पनि एकजोर भए पनि सबैका लागि नयाँ पहिरन किन्ने चलन थियो । विवेक यस्तो मौकामा इलेक्ट्रोनिक्स ग्याजेट जोड्छन् । नयाँ ग्याजेटहरू बजारमा आउनासाथ लोभिने विवेकले केही वर्षअघि दसैंमा किनेको म्युजिक सिस्टम अहिलेसम्म किनेका सामानमध्ये सबैभन्दा मनपरेको वस्तु हो । प्राय: विदेशका कार्यक्रममा गएका बेला उतै सपिङ गर्ने विवेक यसपटकको दसैंमा छोरीहरूका लागि नेपाली ट्रेडिसनल ड्रेस बनाइदिने सोचमा छन् ।

 Image