Successfully Copied

बिस्तारित मलहरू

सुविधा सम्पन्न यी सपिङ कप्लेक्सहरू ग्राहकहरूका भौतिक आवश्यकतालाई लक्षित गर्दै निर्माण गरिएका छन्।

विगत एक दशकदेखि बजारको स्वरूपमा फेरबदल आएको छ । अहिले सहरमा सानाभन्दा ठूल्ठूला कम्प्लेक्स तथा सपिङ मलहरू खुल्ने क्रम तीव्र छ । सुविधा सम्पन्न यी सपिङ कप्लेक्सहरू ग्राहकहरूका भौतिक आवश्यकतालाई लक्षित गर्दै निर्माण गरिएका छन् । यी मलहरूमा व्यवस्थापकहरूले अनेकन सुविधा समाहित गरेका छन् । यिनको संरचनामा पनि निकै खर्च भएको छ । यस्ता मलमा पार्किङदेखि एसीसम्मको सुविधा उपलब्ध हुन्छ । यस्ता सपिङ मलले नेपालीहरूको किनमेल गर्ने परम्परामा पनि परिवर्तन ल्याएका छन् । ग्राहकहरू पसल–पसल चहारेरभन्दा सुविधा सम्पन्न एउटै छातामुनि किनमेल गर्न चाहन्छन् ।

बार्गेनिङ गर्नु नपर्ने यी मल सहज भएकाले ग्राहकहरू यसतर्फ आकर्षित भएका हुन् । अहिले काठमाडौं तथा बाहिर पनि विभिन्न मल संचालनमा आएका छन् । मल संस्कृतिले बिस्तारै साना पसलहरूलाई विस्थापित गरिरहेको छ । जीवनशैलीमा आएको परिवर्तनका कारण पनि उपभोक्ताहरू मलमा किनमेल गर्न लालायित छन् । काठमाडौंका चोकचोकमा अहिले यस्ता किनमेल केन्द्र खुलेका छन् जसले आफूलाई पायक पर्ने स्थानमा गएर किनमेल गर्न सजिलो तुल्याएका छन् । यस्ता मलमा किनमेल मात्र होइन सिनेमा, खेल तथा खानपिनको मज्जासमेत लिन सकिन्छ । यस्ता मलमा उपभोक्ताहरूका लागि आवश्यक सबै खालका उत्पादन तथा ब्रान्ड उपलब्ध गराउने प्रयास गरिन्छ । 

सिटिसी मल

राम्रो ब्रान्डले जहिले पनि राम्रो ठाउँ पाउँछ । सुन्धारास्थित सिटिसी मल यातायातको हिसाबले निकै सहज छ । करिब ३ लाख २० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो मल पूर्णरूपमा एसीयुक्त छ । पार्किङका लागि प्रशस्त स्थान भएको यो मल वाइफाइ फ्रि जोन हो । टु वे सुविधायुक्त यो मलमा ४ वटा लिफ्ट तथा २ वटा एस्काभेटर छन् । यसको ग्राउन्ड फ्लोरमा ब्रान्डेड शोरुम तथा कफी सपहरू छन् । यहाँ मेन्ज वेयर, वुमन्स वेयर एण्ड किड्स वेयर, मोबाइल शोरुम, मोबाइल सर्भिस सेन्टर, फुड कोर्ट, हेयर एण्ड ब्युटी स्टुडियो, लग्जरी सिनेमा हल एण्ड वेलनेस सेन्टर आदि पनि छन् । 

केएल टावर 

चावहिल तथा बौद्धका उपभोक्ताहरूलाई लक्षित गरेर संचालनमा आएको छ–केएल टावर । साढे दस तल्लाको यो मल्टी कम्प्लेक्स चावहिलको मुटुमा रहेको हुँदा आवत–जावत गर्न निकै सहज छ । यसको माथिल्लो तल्लाको रेस्टुराँमा बसेर हिमालयको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । पारिवारिक वातावरणयुक्त यो मलमा आफूलाई चाहिएका सबै खालका सामान खरिद गर्न सकिन्छ । करिब ६ रोपनी जग्गामा फैलिएको केएल टावरमा करिब ६२ वटा पसल छन् । यो फिक्स प्राइस मल पनि हो । चाडपर्वमा यहाँका सबै पसलले विशेष छुट प्रदान गर्छन् । यहाँ इन्टरटेन्मेन्ट स्टल, सप तथा रेस्टुराँहरू पनि छन् । यहाँ रुफ टप रेस्टुराँ छ । केएल टावरमा एटिएम लाउन्ज, डिपार्टमेन्ट स्टोर, भिडियो पार्लर, कफी बार, फुड कोर्ट, गेमिङ जोन, ६ डी, ८ डी भिडियो पार्लर, मिटिङ तथा कन्फ्रेन्स हल, ब्रान्डेड पहिरन, एसेसरिज, ज्वेलरिज, ग्याजेटजस्ता अनेकन सामानका पसल छन् । केएल टावरका सबै तल्लालाई विशेष रूपमा विभाजन गरिएको छ । यसको पहिलो तल्लामा अन्तर्राष्ट्रिय ब्रान्ड, कस्मेटिक तथा नमस्ते नेपाल डिपार्टमेन्ट स्टोर छ । यो टावरको तेस्रो तल्लामा विभिन्न किसिमका खरिद गर्न सकिन्छ । 

सिटी सेन्टर

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर आधुनिक किनमेल केन्द्र हो । पाँच तल्ले यो किनमेल केन्द्र लत्ताकपडाका लागि लोकप्रिय छ । यहाँ २ सयभन्दा बढी ब्रान्डेड शोरुमबाट सामान खरिद गर्न सकिन्छ । किनमेल मात्र होइन मनोरञ्जनका विभिन्न विकल्प उपलब्ध हुने भएकाले यहाँ किनमेलको मज्जा पनि फरक हुन्छ । यो मल एसीका साथमा हरेक समय सिसिटिभीको निगरानीमा छ । यसको भुइँ तल्लामा बिग मार्ट छ भने चौथो तल्लामा फुड कोर्ट छ । सिटी सेन्टरमा गेमिङ जोन तथा ३ डी मुभी हल पनि छ । पाँचौं तल्लामा बिग मुभिजको भव्य हल छ । 

पिपुल्स प्लाजा

खिचापोखरीस्थित पिपुल्स प्लाजा नेपालको पहिलो फ्लोरवाइज सामान खरिद गर्न सकिने मल हो । यहाँ किनमेल गर्नुको मज्जा फरक हुन्छ । यहाँ कपडा, फेसन एसेसरिज, स्पोर्ट एसेसरिज तथा ग्याजेटहरू रिजनेवल मूल्यमा खरिद गर्न सकिन्छ । त्यसैगरी यहाँ अफिसियल मिटिङ रुम तथा फुट कोर्ट पनि छन् । यो प्लाजाको भुइँ तल्लामा खानेकुरा विभिन्न स्टल छन् । 

ब्लुबर्ड मल

एउटै छातामुनि सबै ब्रान्डका सामान पाइने यो मल थापाथलीमा छ । यहाँ विश्वकै उत्कृष्ट ब्रान्डका घडी खरिद गर्न सकिन्छ । टिटन, राडो, सिटिजन तथा टिसोटका घडीका साथै नाइक, एरो, लिभाइस, जोन प्लेयर आदिका पहिरन, नाइक, एडिडास तथा वुडल्यान्डका जुत्ता ब्लु वर्ड मलका विशेषता हुन् । यहाँ चाडपर्वमा छुटको व्यवस्था मिलाइन्छ । 

काठमाडौं मल

काठमाडौंको मुटुमा अवस्थित यो मल ५ तल्ले छ । यो किनमेलका लागि एउटा उत्कृष्ट गन्तव्य हो । काठमाडौं मल नयाँ सडक र सुन्धाराको बीचमा छ । यहाँ युफएओ, गल्स एण्ड गाइज, चार्म, फेसन ब्याग, कनभर्स पुमा, बोस्टोन, इलेक्ट्रोनिक्स आदिका पसलहरू छन् । त्यसैगरी यहाँ फुड कोर्ट, पार्टी प्यालेस, रेस्टुराँ तथा विभिन्न वित्तीय संस्था पनि छन् । यसको बाहिरी भागमा खानपानका विभिन्न स्टल उपलब्ध हुन्छन् । 

लबिम मल 

भर्खरै खुलेको लबिम मलको संरचनाले विदेशको झझल्को दिन्छ । नेपालकै सबैभन्दा ठूलो मानिने लबिम मलले करिब २ लाख वर्गफिट क्षेत्रफल ओगटेको छ । क्युएफएक्स सिनेमालगायत यहाँ लोकप्रिय ७० ब्रान्डका परिकारको स्वाद लिन सकिन्छ । लिफ्ट तथा एलोभेटरको सुविधायुक्त यो मल पूर्णत: वातावरण कुलित छ । यहाँ ब्रान्डेड कपडा, जुत्ता, ब्याग, मोबाइल, क्यामेरा, सुटकेस, इलेक्ट्रोनिक्स आदि विविध सामग्री उपलब्ध हुन्छन् । अहिले यहाँका हरेक पसलबाट सेलको फाइदा उठाउन सकिन्छ । 

बिजी मल गोंगबु 

नयाँ बसपार्क क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न बिजी मलको स्थापना भएको छ । यसले खुलेको छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ । यहाँ उपभोक्ताहरूका लागि आवश्यक सबै खालका सामान उपलब्ध छन् । त्यसैगरी बिजी मलमा मनोरञ्जनका विभिन्न विकल्प पनि छन् । यो मलमा करिब ६० वटा पसल छन् । घरायसी सामग्री बाहेक यहाँ इलेक्ट्रोनिक्स, कपडा, जुत्ता तथा कस्मेटिकका पसलहरूसमेत छन् । उपभोक्तालाई थप सुविधा प्रदान गर्ने हेतुले यहाँ रेस्टुराँ, मुभी थिएटर, बैंक तथा एटिएम लाउन्ज आदि संचालनमा ल्याइएको छ । 

भाटभटेनी सुपर स्टोर 

नेपालीहरूको किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने श्रेय भाटभटेनी सुपर स्टोरलाई जान्छ । सम्भ्रान्त वर्ग मात्र सपिङ सेन्टरमा जाने ट्रेन्डलाई बदलेर सबै स्तरका जनतामा सुपर स्टोरमा किनमेल गर्ने बानी बसाल्ने श्रेय पनि यसैलाई छ । भाटभटेनीबाट सुरु भएको पहिलो शाखाले सफलता हासिल गरेपछि काठमाडांैलगायत नेपालका विभिन्न स्थानमा यसको शाखा खुल्ने क्रम जारी छ । यो सुपर स्टोरले आफ्ना हरेक शाखालाई स्थानको हिसाबले संरचना गरेको छ ।

भाटभटेनीमा तल्लैपिच्छे लत्ताकपडा, ग्रोसरी, इलेक्ट्रोनिक्स, जुत्ता, ब्याग, फर्निचर, मोबाइल, गहना आदि सामान खरिद गर्न सकिन्छ । त्यसबाहेक यसको परिसरमा विभिन्न परिकारको मज्जा लिन सकिन्छ । पार्किङको पर्याप्त सुविधायुक्त यो मलमा लिफ्ट तथा एलोभेटरको सुविधा छ । दसंैलाई लक्षित गरेर भाटभटेनीले पनि सेल तथा छुट उपलब्ध गराउँदै आएको छ । भाटभटेनीले प्रत्येक दिन ४० हजारभन्दा बढी उपभोक्तालाई सेवा प्रदान गर्ने बताइन्छ । यहाँ छिरेपछि आफूलाई चाहिने सबै खालका सामग्री खरिद गर्न सकिन्छ । 

पोखरा ट्रेड मल 

पोखराको चिप्लेढुंगास्थित यो मल पोखराकै लोकप्रिय मलका रूपमा परिचित छ । ४ वटा इन्ट्रान्स रहेको यो मल पारिवारिक वातावरणयुक्त छ । यसको बेसमेन्टमा पार्किङको पर्याप्त स्थान छ । भूकम्पप्रतिरोधात्मक यो मलमा ५ सयभन्दा बढी सटर छन् । लिफ्टयुक्त यो मलमा गेमिङ जोन तथा मल्टिप्लेक्स पनि उपलब्ध छन् ।

 Image