Successfully Copied

छुट तथा सेल

छुट भन्नेबित्तिकै कुनै पनि सामानको मूल्यमा सहुलियत भन्ने बुझिन्छ ।

छुट तथा सेल ग्राहकहरूलाई आकर्षित गर्ने महत्वपूर्ण अस्त्र हो । छुट भन्नेबित्तिकै कुनै पनि सामानको मूल्यमा सहुलियत भन्ने बुझिन्छ । जब–जब चाडपर्व नजिकिँदै जान्छन् तब–तब छुटको ट्याग लगाएर बिक्रीका लागि राखिएका सामानले बजारको रौनक बढाउँछन् । नेपाली बजारमा छुटका पनि विविध शैली देखिन्छ । एकको खरिदमा अर्को सित्तैमा, दुई खरिद गर्दा एक सित्तैमा जस्ता नारादेखि सामानको मूल्यमै भन्दा २० देखि ५० प्रतिशतसम्मको छुट विशेष चल्तीका छुट हुन् ।

विशेषगरी नेपाली बजार दसंैका बेला बढी तात्ने हुँदा छुट र सेलको बहार पनि यतिबेलै देखापर्छ । यतिबेला ग्राहकहरू पनि बढीभन्दा बढी सामान खरिद गर्ने मनसायमा हुन्छन् । उनीहरू सेल तथा छुट पर्खेर बसेका हुन्छन् । यो व्यापारीहरूले आफ्ना ग्राहकलाई दिने एक प्रकारको सुविधा पनि हो । व्यवसायीहरू पनि यो समयमा बढी सामान बिक्री गर्न उत्साहित हुन्छन् । उनीहरूले कमाउने बेला पनि यही हो । छुट तथा सेलको रणनीतिका पछाडि विभिन्न कारण हुनसक्ने भए पनि यसमा व्यापारी तथा ग्राहक दुवैको हित लुकेको हुन्छ । त्यसैले पनि सडकदेखि मलसम्म छुट तथा सेलको लहर चल्छ । 

कुन सामानमा कति छुट वा सहुलियत दिने भन्ने कुरा व्यवसायीले आफ्नो सामानको स्तर तथा सामानको स्टक हेरेर तय गर्छन् ।

सामानको स्टक बढी छ भने व्यवसायीहरूले बढी छुटको अफर दिन्छन् । छुटको रौनक अत्यधिक रूपमा लत्ता–कपडा एवं जुत्ता–व्यागमा देखिन्छ । कुनै पनि सामानको बिक्री त्यसको मूल्यले तय गर्ने भएकाले व्यापारीहरूले सकेसम्म बिक्री, नाफा तथा ख्याति वृद्धि गर्ने रणनीति लिएका हुन्छन् । यद्यपि छुटको रणनीति तय गर्दा दीर्घकालीन सोच राख्नु आवश्यक हुन्छ अन्यथा यसले बजारमा नकारात्मक असरसमेत पुर्‍याउन सक्छ । विशेषगरी सामान धेरैभन्दा धेरै बिक्री गर्न छुटको रणनीति तय गरिन्छ । सामानहरूको मूल्य, प्रतिस्पर्धीहरूको अवस्था तथा नाफाको उद्देश्यले बजारको वातावरणमा प्रत्यक्ष असर पुर्‍याउने भएकाले यो कुरामा व्यापारीहरूले पर्याप्त विचार पुर्‍याएका हुन्छन् ।

छुट शब्दले ग्राहकहरूमा पनि एक प्रकारको उत्साह सिर्जना गर्छ । उनीहरू छुटको सहुलियत लिन लालायित हुन्छन् । ग्राहकहरूमा छुटप्रति अचम्मको मोह हुन्छ । नेपाली बजारमा वर्षभरि नै छुटको लहर चल्ने भए पनि चाडबाडको समयमा यसको थप महत्व देखिन्छ । आफूलाई मनपरेको सामान सहुलियत मूल्यमा पाइने भएकाले पनि ग्राहकका लागि छुट र सेल फाइदाजनक नै मानिन्छ । 

छुट तथा सेलका फाइदा 

छुटमा ग्राहकहरूले पुरानो मूल्यभन्दा केही कममा सामान खरिद गर्न सक्छन् । कुनै सामानको मूल्य १ सय रुपैयाँ छ भने ५० प्रतिशत छुटपछि उक्त सामान ५० रुपैयाँमै खरिद गर्न सकिन्छ । आफ्नो अपेक्षाभन्दा कम मूल्यमा सामान खरिद गर्ने अवसरले ग्राहकको बचतसमेत गराउँछ । छुटले ग्राहकहरूको मनोबल पनि बढाउँछ । सामान खरिद गर्न एकप्रकारको मनसाय बनाएर गएकोमा आफूले अनुमान गरेभन्दा कम मूल्यमा उक्त सामान खरिद गर्न पाइयो भने ग्राहकहरू हौसिन्छन् । यसले उनीहरूलाई थप खुसी तथा सन्तुष्टि प्रदान गर्छ । क्रेताका लागि मात्र नभै बिक्रेताका लागि पनि छुटको महत्वपूर्ण भूमिका हुन्छ । छुटले एक त थोकमा सामान बिक्री गर्न सकिन्छ भने स्टकमा रहेको सामान पनि छोटो समयमै क्लियर हुन्छ । छुट सञ्चित सामान बिक्री गरेर नगद हात पार्ने सशक्त अस्त्र पनि हो । 

बेफाइदा 

कहिलेकाहीँ छुटको लोभमा पर्दा ग्राहकहरू निकै ठगिन्छन् । छुट भनेर उत्साहित भै खरिद गरिएको सामान कमसल पर्नसक्छ । ग्राहकहरूलाई मानसिक रूपमा तयार गरेर बिक्रेताहरूले आउटडेटेट सामान बिक्री गर्ने भएकाले ग्राहकहरूले ठगिएको महसुस गर्छन् ।बिक्रेताहरूले आफ्नो सामानको मूल्य बढाएर छुटको अफर दिने भएकाले परल मूल्य जसरी पनि असुल गर्छन् । ७ सय परेको जुत्ताको मूल्य १ हजार ४ सय राखेर ५० प्रतिशत छुट दिँदा पनि उनीहरू फाइदामै रहन्छन् तर ग्राहकलाई यसबाट खासै फाइदा हुँदैन । 

छुटको अफरले ग्राहकलाई अनावश्यक सामान खरिद गर्न प्रेरित गर्छ । कुनै पसलमा एलईडी टिभी खरिद गर्न गइएको छ र प्लाज्मा टिभीको मूल्यमा छुट दिइएको छ भने ग्राहकहरूले प्लाज्मा टिभी नै खरिद गर्छन् । यसरी छुटले ग्राहकहरूलाई बढी महत्वाकांक्षी समेत बनाउँछ । 

 Image