Successfully Copied

दसैंमा मासुका परिकार यसरी तयार गरौं

कराहीमा तेल तताई जिरा, सस्र्युं, सुकेको खुर्सानी, तेजपत्ता फुराउने ।

नीतिमा कार्की, डाइरेक्टर, बाजेको सेकुवा तथा संस्थापक, बाजेको मसला

१.टाउको फ्राइ

 

सामग्री 

खसीको टाउको २ सय ग्राम, जिरा आधा चम्चा, अदुवाको पेस्ट आधा चम्चा, लसुनको पेस्ट आधा चम्चा, बेसार आधा चम्चा, जिराको धूलो आधा चम्चा, धूलो खुर्सानी आधा चम्चा, भेंडेखुर्सानी एक टुक्रा काटेको, प्याज काटेको, गोलभेंडा काटेको, हरियो धनियाँ काटेको एक चम्चा, तोरीको तेल ४ चम्चा, नुन स्वादअनुसार, बाजेको मिट मसला आधा चम्चा ।

विधि

पहिले टाउकोलाई सफा गरेर उसिन्ने र साना–साना टुक्रा बनाउने । एउटा भाँडामा तोरीको तेल तताएर जिरा, खुर्सानी फुराई अदुवा, लसुन फ्राइ गर्ने अनि सम्पूर्ण सामग्री हालेर भुट्ने । स्वादअनुसार नुन र खुर्सानी हालेर माथिबाट धनियाँ छर्किने ।

२.प्यान ग्रिल अस्ट्रिच

सामग्री 

बोनलेस अस्ट्रिचको मासु सय ग्राम, नुन स्वादअनुसार, कागतीको रस आधा चम्चा, रोजमेरी पेस्ट आधा चम्चा, चिकेन स्टक ३० मिलिलिटर, बटर १ चम्चा, मैदा १ चम्चा, सोया सस २० मिलिलिटर, लसुन १० ग्राम तथा गोलभेंडा र चुकन्दर एक–एकवटा ।

 

विधि 

अस्ट्रिचलाई एक इन्चको स्लाइस गरी काट्ने । फ्राइ प्यान तताएर तेल हाल्ने । अस्ट्रिचलाई साल्ट पेपर, रोजमेरी पेस्ट तथा कागतीको रसका साथ दुवैतिर राम्रोसँग पल्टाइ–पल्टाइ पकाउने ।

ससका लागि : एउटा प्यानमा तेल वा बटर तताई स्लाइस लसुन हालेर हल्का भुट्ने । त्यसमा चिकेन स्टक, नुन, पेपर, कागतीको रस, सोया सस तथा नुन हाल्ने । मैदा हाली हल्का चलाइरहने । सस केही बाक्लो भएपछि ग्रिल अस्ट्रिच माथिबाट राखिदिने । यसलाई इच्छानुसार गोलभेंडा, चुकन्दर, धनियाँ आदिले सजाएर सर्भ गर्ने ।

३. भुटन साँधेको

सामग्री 

भुटन २ सय ग्राम, भुटेको जिराको धूलो आधा चम्चा, अदुवा र लसुनको पेस्ट आधा चम्चा, कागतीको रस १० मिलिलिटर, हरियो धनियाँ काटेको एक चम्चा, चाट मसला ५ ग्राम, तोरीको तेल १० मिलिलिटर, खुर्सानीको धूलो, नुन स्वादअनुसार, बेसार ५ ग्राम ।

विधि 

मासुलाई सफा गरेर उसिन्ने । चिस्याएर सम्पूर्ण मरमसला हाली मोल्ने । तोरीको तेलमा मेथी र बेसार फुराई भुटनलाई झान्ने ।

४.मस्टर्ड क्यास्विनट ग्रेभी फिस

 

सामग्री 

माछा (काँडा नभएको बुहारी माछा) १ केजी, सस्र्युंको पेस्ट ५० ग्राम, प्याजको पेस्ट २५ ग्राम, लसुनको पेस्ट २५ ग्राम, जिराको पेस्ट १० ग्राम, गोलभेंडाको पेस्ट १ सय ग्राम, काजुको पेस्ट २५ ग्राम, बेसार आधा चम्चा, खुर्सानी र नुन स्वादअनुसार, जिराका दाना, सस्र्युं, सुकेको खुर्सानी र तेजपत्ता जम्मा ५ ग्राम ।

विधि 

माछालाई सफा गरेर थोरै नुन–बेसारका साथ मोलेर केही बेर फ्रिजमा राख्ने । कराही वा तावामा तेल तताई माछालाई राम्रोसँग पाक्ने गरी ग्रिल गर्ने ।

सस बनाउने विधि 

कराहीमा तेल तताई जिरा, सस्र्युं, सुकेको खुर्सानी, तेजपत्ता फुराउने । लसुनको पेस्ट, प्याजको पेस्ट तथा जिराको पेस्ट हालेर भुट्ने । त्यसलाई सस्र्यंुको पेस्टका साथ केही बेर पकाउने । गोलभेंडाको पेस्ट हालेर फेरि पकाएपछि काजुको पेस्ट पनि हाल्ने । ग्रेभीबाट तेल निस्कन थालेपछि इच्छाअनुसार पानी हालेर लेदो बनाउने र ग्रिल माछा हाली केही बेर पकाउने । यसरी तयार मस्टर्ड क्यास्विनट ग्रेभी फिसमा केही थोपा कागतीको रस मिसाउने । 

५.ह्याकुल्ला डामेको

सामग्री 

खसीको ह्याकुल्ला २ सय ग्राम, नुन स्वादअनुसार, तोरीको तेल २० मिलिलिटर, टिम्मुरको धूलो २ ग्राम, खुर्सानीको धूलो स्वादअनुसार ।

विधि 

खसीको ह्याकुल्लालाई सफा गरी उसिन्ने र स्लाइस गरी काट्ने । प्यानमा तोरीको तेल तताएर काटेको ह्याकुल्लालाई डाम्ने । नुन, टिम्मुर तथा खुर्सानीको धूलो हालेर केही बेर पकाएपछि तात्तातो सर्भ गर्ने । 

६.मटन बोटी कबाब

सामग्री 

मटनको करङको भाग २ सय ग्राम, बेसार १ चम्चा, धनियाँको धूलो १ चम्चा, खुर्सानीको धूलो १ चम्चा, नुन स्वादअनुसार, गरम मसला १ चम्चा, दही २ चम्चा, जिरा धूलो आधा चम्चा, तेल २ चम्चा, अदुवा र लसुनको पेस्ट १ चम्चा ।

विधि 

माथिका सबै सामग्री मासुमा हालेर मोल्ने । यसलाई २ घन्टाजति फ्रिजमा राखी झिरमा उनेर १० मिनेटसम्म पल्टाइ–पल्टाइ पोलेपछि मटन बोटी कबाब तयार हुन्छ ।

७. टाउको साँधेको

सामग्री 

खसीको टाउको २ सय ग्राम, गाजर १० ग्राम, केराउ १० ग्राम, प्याज १० ग्राम, हरियो लसुन १० ग्राम, भुटेको जिराको धूलो १० ग्राम, टिम्मुरको धूलो २ पिन्च, खुर्सानीको धूलो ५ ग्राम, अदुवा र लसुनको पेस्ट १० ग्राम, चाट मसला ५ ग्राम, हरियो खुर्सानी ५ ग्राम, गोलभेंडा काटेको १० ग्राम, नुन तथा कागतीको रस स्वादअनुसार ।

विधि

खसीको टाउकोलाई राम्रोसँग सफा गरेर उसिन्ने । पाकेपछि चिस्याएर सम्पूर्ण सामग्री हाली मोल्ने अनि तोरीको तेल तताई मेथी र बेसारले झान्ने । 

८.चिकेन डामेको

सामग्री 

बोनलेस चिकेन २ सय ग्राम, मैदा ५ ग्राम, अण्डाको सेतो भाग एउटा, अदुवा र लसुनको पेस्ट ५ ग्राम, तेल ५ मिलिलिटर, बटर १ चम्चा, नुन स्वादअनुसार, ब्वाइल भेज (गाजर, सिमी, काउली र अन्य सिजनल भेज) १ सय ग्राम ।

विधि 

मैदा र अण्डाको सेतो भाग, अदुवा–लसुनको पेस्ट र नुनको लेप बनाउने र त्यसलाई बोनलेस चिकेनसँग मोल्ने, एउटा सानो फ्राइ प्यानमा १ चम्चा बटर हाली तताउने र त्यसमा चिकेन राख्ने । २ मिनेटजति पकाई एकपटक उल्टाएर पकाउने । गोल्डेन ब्राउन कलर भएपछि निकालेर सिजनल भेज तथा आफूलाई मनपर्ने अचारसँग खाने ।

९.मटन सेकुवा

सामग्री 

मटन १ केजी, जिराको धूलो १० ग्राम, धनियाँ पाउडर १० ग्राम, खुर्सानीको धूलो १० ग्राम, बेसार १ चम्चा, गरम मसला १० ग्राम, अदुवा र लसुनको पेस्ट ४० ग्राम, कागतीको रस १० मिलिलिटर, तोरीको तेल २० मिलिलिटर, दही १० ग्राम, नुन स्वादअनुसार ।

विधि 

एउटा भाँडामा सबै सामग्रीका साथ मटनको पिस हालेर मोल्ने । ४ घन्टाजति फ्रिजमा राखेपछि आफूसँग उपलब्ध झिरमा उनेर, ग्रिल गरेर, कोइलाको आगोमा पोलेर, फ्राइ गरेर वा ओवनमा पकाएर सेकुवा तयार गर्न सकिन्छ । 

 

 Image