Successfully Copied

मोलमोलाइ एक कला

कुनै पनि सामान खरिद गर्दा मोलमोलाइ गरिन्छ । कतिपय त मोलमोलाइबिना किनमेल नै खल्लो हुने बताउँछन् ।

कुनै पनि सामान खरिद गर्दा मोलमोलाइ गरिन्छ । कतिपय त मोलमोलाइबिना किनमेल नै खल्लो हुने बताउँछन् । उनीहरू पसल–पसल चहारेर मोलमोलाइ गरी सामान खरिद गर्न रुचाउँछन् । शोधहरूका अनुसार मोलमोलाइ गर्दा महिलाहरूलाई एक प्रकारको आनन्द महसुस हुन्छ । उनीहरूलाई मोलमोलाइ नगरी किनमेल गर्दा कुनै रमाइलो अनुभव हँुदैन । पसल–पसल घुमेर एक रूपैयाँ मात्र पनि कम भुक्तान गर्नुपर्‍यो भने उनीहरू राम्रो उपलब्धि हासिल गरेको महसुस गर्छन् ।

सामान किन्न घुम्दा खर्च भएको समय तथा श्रमभन्दा उनीहरूलाई आफूले सकिनसकी गरेको मोलमोलाइले सन्तुष्टि दिन्छ । त्यसो त यही मनोविज्ञान अध्ययन गरेर व्यवसायीहरूले पनि महिलाहरूलाई लक्षित सेल लगाउँछन् । एक रूपैयाँ किन नहोस् छुट भन्नेबित्तिकै त्यहाँ महिला उपभोक्ताहरूको भीड लाग्छ । उनीहरू त्यसको पूर्णरूपमा फाइदा उठाउन चाहन्छन् । छुटमा सामान पाइयो भने त महिलाहरू आवश्यकताभन्दा बढी सामानसमेत उठाउँछन् । मोलमोलाइ गर्ने बानी लागेकाहरूलाई मल संस्कृतिले मोहित तुल्याउन सक्दैन ।

मोलमोलाइ एक प्रकारको सीप अर्थात् कला हो । यो एक प्रकारको सम्झौता पनि हो जसअन्तर्गत खरिदकर्ता तथा बिक्रीकर्ताका बीचमा किनमेलको कुरा निक्र्यौल हुन्छ । खरिद गर्ने पक्कापक्की गराउन मोलमोलाइले महत्वपूर्ण भूमिका खेल्छ । मोलमोलाइ फिक्स्ट दरका लागि विकल्पको रणनीति हो । सामान खरिद गर्न मोलमोलाइको कला हुनु आवश्यक छ । महिलाहरूमा यो कला जन्मजात हुन्छ । महिलाहरूलाई पसलेले भनेको भन्दा केही न केही कटौती गर्नैपर्छ । किनमेल भन्नेबित्तिकै महिला भन्ने बुझिन्छ । त्यसैले उनीहरूलाई किनमेलको मास्टर पनि मानिन्छ । पुरुषहरूको तुलनामा महिलाहरू मोलमोलाइ गर्न बढी पोख्त हुन्छन् ।

मोलमोलाइका चरणहरू 

हेर्ने तथा बुझ्ने

सामान खरिद गर्नुभन्दा पहिले सामानलाई राम्रोसँग जाँच गरेर त्यसका बारेमा सम्पूर्ण जानकारी लिनुपर्छ । सामान हेर्नेबित्तिकै खरिद गर्ने निर्णय गर्नु हँुदैन । 

सामानको मूल्यका बारेमा सुनिश्चित हुने 

मूल्य एकपटक होइन दुईपटक सोध्नुपर्छ । सामान खरिद गर्दा वास्तविक मूल्यभन्दा पनि त्यसको गुणस्तरको विषयमा पटक–पटक प्रश्न गर्नुपर्छ किनभने बिक्रेताले बडी ल्यांग्वेज पढेर नै क्रेताको मनोविज्ञान पत्ता लगाउन सक्छन् । यसो गर्दा उनीहरू सामानको मूल्य बढाएर भन्न सक्छन् त्यसैले सामान खरिद गर्दा निकै सतर्क हुनुपर्छ । 

बढी रुचि देखाउनु हुँदैन 

पसलेका अगाडि आफू कुनै पनि सामानका लागि मरिहत्ते गरेजस्तो व्यवहार प्रदर्शन गर्नु हुँदैन । यसले गर्दा पसलेले मौकाको फाइदा उठाउन सक्छन् । उसलाई सामानको मूल्य मिले खरिद गर्न सकिने हिन्ट्स दिनुुपर्छ । 

आफ्नो खल्तीका सम्बन्धमा सचेत

आफूसँग कति रकम खर्च गर्ने क्षमता छ ध्यान पुर्‍याउनुपर्छ । सामानको मूल्य निश्चित गरेर लिनेदिने कुरा तय भैसकेपछि पैसा पुगेन भनेर सामान छोडेर हिँड्नु राम्रो मानिँदैन ।

सामानको पूर्ण जानकारी

सामानलाई राम्रोसँग जाँच गरेपछि त्यसको मूल्यका सम्बन्धमा बिनासंकोच प्रश्न सोध्नुपर्छ । उक्त सामानसम्बन्धी कुनै जिज्ञासा भए बिक्रेतासँग त्यसको समाधान खोज्नुपर्छ । 

छोड्न सक्ने मन्त्र 

आफूले भनेको मूल्यमा सामान दिन बिक्रेता सहमत छैनन् भने हुन्न भन्न सक्नुपर्छ । यसो गर्दा कहिलेकाहीँ बिक्रेताहरू हच्केर आफूले भनेको मूल्यमा सामान दिन तयार हुन्छन् । 

साथीभाइको रिफ्रेन्स 

मेरो साथी अथवा चिनेको मानिसले यसलाई यति तिरेको, यो महँगो भएन र ? भनी सामानको मूल्य घटाउन सकिन्छ । म यहाँको नियमित ग्राहक हँु । मैले यो सामानको मूल्य पहिले नै पत्ता लगाइसकेको छु भनेर पनि पसलेलाई विश्वासमा पार्नुपर्छ । मिलाएर नदिने भए कहिल्यै आउँदिन पनि भन्न सकिन्छ । 

धेरै सामान खरिदको लोभ 

धेरै सामान खरिद गर्ने मनसाय बनाइएको छ भने अझ मोलमोलाइ गर्न सकिन्छ । एकैपटक अधिक सामान बिक्री हुने लोभले पसलेले सामानको मूल्य निकै घटाउँछन् । 

समस्याको सामाधान महिला 

पुरुषले सामान खरिद गर्दा महिला मित्रको सहायता लिन सक्छन् किनभने पुरुषहरू मोलमोलाइ गर्न रूचाउँदैनन् । महिलाहरूमा जन्मसिद्ध मोलमोलाइ कला हुन्छ । पसलेहरू पनि महिलाहरूले भन्नेबित्तिकै सामानको मूल्य घटाउन सहमत हुन्छन् । 

समय तथा स्थान 

पसल खुल्नेबित्तिकै तथा बन्द हुने बेलामा पसलेहरूलाई हतार हुन्छ । त्यसैले यतिबेला आफूले भनेको मूल्यमा सामान खरिद गर्न पाइन्छ । पसल बन्द हुने बेला बढी छुट प्राप्त हुन्छ ।

मोलमोलाइ गर्नुअघि 

नेपालको परिप्रेक्ष्यमा अधिकांश पसलेले मोलमोलाइलाई स्वीकार गरिसकेका छन् । कहिलेकाहीँ उपभोक्ताले गर्ने मोलमोलाइबाट पसलेहरू आनन्दितसमेत हुन्छन् । 

पूर्व तयारी 

  • कुनै पनि सामान खरिद गर्नुअघि उक्त सामानका विषयमा पूर्ण ज्ञान हासिल गर्नुपर्छ । सामग्री, मूल्य तथा गुणस्तरका सम्बन्धमा जानकारी लिनुपर्छ । 
  • मोलमोलाइ गर्ने कला विकास गर्नुपर्छ । रमाइलो मानेर सामान रोज्दै त्यसको मोलमोलाइ गर्नुपर्छ ।
  • सामान खरिद गर्नुभन्दा पहिले सामानको मूल्य ५० प्रतिशतसम्म घटाउन सकिन्छ । 
  • सामानका गल्तीहरू पहिल्याउनुपर्छ । जसले गर्दा मूल्य राम्रोसँग घटाउन सकियोस् । 
  • सामानको मूल्य गर्दा हँसिलो मुद्रामा प्रस्तुत हुनुपर्छ । 
  • आफूले भनेको मूल्यमा पाइएन भने सामान छोडेर हिँड्नुपर्छ । 
  • निस्कने बेलामा पसले केही लचिलो देखिए उक्त सामान खरिद गर्न सकिन्छ । 
  • पसले आफूले भनेको मूल्यमा सामान बिक्री गर्न तयार भएपछि भने फेरि मूल्य घटाउने प्रयास गर्नु हुँदैन ।

     

 Image