Successfully Copied

ओठको मेकअप

अनुहारको मध्यभागमा हुने अनि बढी चलिरहने अंग भएकाले यसमा मानिसको नजर छिट्टै पर्छ ।

नारी सौन्दर्यलाई आकर्षक तथा सुन्दर देखाउने एउटा महत्वपूर्ण अंग हो–ओठ । अनुहारको मध्यभागमा हुने अनि बढी चलिरहने अंग भएकाले यसमा मानिसको नजर छिट्टै पर्छ । त्यसैले हामीले आफ्नो ओठलाई सुन्दर र आकर्षक राख्नु आवश्यक छ । यसका पनि विभिन्न प्रकार हुन्छन्, जस्तै पातलो ओठ, मोटो ओठ, मिलेको ओठ आदि । ओठको मेकअप गर्दा आफ्नो पहिरनको रंगसँग म्याच गर्ने लिपिस्टिक छनोट गर्नुपर्छ ।

हाम्रो ओठको छाला निकै पातलो एवं संवेदनशील हुन्छ । त्यसैले हामीले प्रयोग गर्ने लिपिस्टिक लिपलाइनर तथा लिपवामहरू गुणस्स्तरीय हुनु आवश्यक छ । लिपिस्टिक लगाउनुअघि ओठमा लिपवामको प्रयोग गर्न सकिन्छ । यसले ओठलाई नरम बनाउँछ जसले गर्दा ओठको मेकअप गर्न सहज हुन्छ । लिपिस्टिक लगाउनुअघि लिपलाइनर पनि प्रयोग गरिन्छ किनभने यसले लिपिस्टिकलाई आकार दिनुका साथै धेरै बेरसम्म अड्याएर राख्न सहयोग गर्छ । 

मेकअप गर्ने विधि 

पातलो ओठ : यस किसिमको ओठ भएका महिलाहरूले मेकअप गर्दा सर्वप्रथम ओठको बाहिरी घेराबाट तल र माथि दुवैतिर लिपलाइनरले आउट लाइन तान्ने । त्यसपछि आफ्नो पहिरनलाई म्याच गर्ने लिपिस्टिकले उक्त आउट लाइनलाई ठिक्क छोप्ने गरी लगाउने । यसो गर्दा पातलो ओठ पनि केही मोटो तथा मिलेजस्तो देखिन्छ । 

मोटो ओठ : यस प्रकारको ओठ भएका महिलाहरूले मेकअप गर्दा ओठको भित्रपट्टिबाट लिपलाइनरले इन लाइन तान्ने । त्यसपछि उक्त लाइनलाई कभर गर्दै लिपिस्टिक लगाउँदा मोटो ओठ केही मात्रामा पातलो तथा सानो देखिन्छ । 

मिलेको ओठ : यस प्रकारको ओठलाई सबैभन्दा राम्रो ओठ मानिन्छ । त्यसैले यसमा मेकअप गर्न त्यति गाह्रो हुँदैन । यस प्रकारको ओठको मेकअप गर्दा लिपलाइनर ओठको ठिक्क घेरामा मात्र लाइन तान्ने अनि त्यसलाई छोप्ने गरी लिपिस्टिक लगाउने । 

ओठको मेकअप गर्दा 

जाडो महिनामा ओठको मेकअप गर्दा ग्लसी टाइपको मोइस्चरयुक्त लिपिस्टिक प्रयोग गर्ने । 

गर्मी महिना छ भने सुख्खा किसिमको लिपिस्टिक प्रयोग गर्नु उपयुक्त हुन्छ । 

विवाह तथा पार्टीहरूका लागि लामो समयसम्म मेकअप टिकाउन वाटरफ्रुफ लिपिस्टिक प्रयोग गर्न सकिन्छ । लिपिस्टिकको कलरभन्दा लिपलाइनरको कलर केही गाढा हुनुपर्छ । 

(व्युटिसियन सिर्जना प्रधान पोख्रेलसँगको कुराकानीमा आधारित लेख )

 Image