Successfully Copied

असल व्यवस्थापक

असल महिलाहरूको धैर्य एवं इमान्दारिताले उनीहरू कुनै पनि काम तथा संस्थालाई नियमित रूपमा संचालन गर्न सफल हुन्छन् ।

असल महिलाहरूको धैर्य एवं इमान्दारिताले उनीहरू कुनै पनि काम तथा संस्थालाई नियमित रूपमा संचालन गर्न सफल हुन्छन् । घरको व्यवस्थापन राज्यको व्यवस्थापनभन्दा पनि चुनौतीपूर्ण छ । त्यसमा माया तथा सद्भावजस्ता तत्वले महिलाहरूको व्यवस्थापकीय पक्षलाई अझ गहन बनाएको छ । उनीहरूले गृहमन्त्री तथा निर्मातृको संज्ञा पाएको त्यसै होइन । जीवनमा हरेक पक्षलाई सन्तुलित मात्रामा अघि बढाउँदै मुहारमा मुस्कान ल्याएर संसारलाई उज्यालो बनाउन सक्ने महिलाहरूको व्यवस्थापकीय पक्षलाई नमन गर्नुपर्ने हुन्छ । महिलाहरूको जीवनचर्या निकै व्यस्त हुन्छ । कामकाजी महिलाहरूको जीवन त अझ समयको गतिसँगै घुमेको हुन्छ ।

बिहान घरको खाजा, आफ्नो कार्यालयको काम, छोराछोरीको स्कुलको पिटिएम, सामाजिक व्यवहारको व्यवस्थापन, आफ्ना लागि समय यी सबै कुरालाई समाहित गर्दै एक महिलाले सकेसम्म हरेक कुरा व्यवस्थापन गरेर अघि बढिरहेकी हुन्छिन् । घरको काम गरेर सबैलाई रिझाउनु, हरेक आवश्यकता समयमा पुर्‍याउनु, घरका विभिन्न बिल समयमा भुक्तान गर्नु, चाडपर्वमा आफन्तलाई सम्झनु आदि व्यवस्थापकीय काम सामान्य रूपमा सम्पन्न हुन सक्दैनन् । महिलाहरू बिहान गेरु वस्त्रमा घरको आरती गर्नेदेखि गाडी चलाएर एजुकेटिभ पहिरनमा अफिस गएर आफ्नो काम सकेर घरमा रात्रिखाना डाइनिङमा पस्कन सदैव तयार रहन्छन् । उनीहरूको व्यवस्थापकीय कलाले गर्दा घरको चौघेरा वास्तवमा घर बन्छ । घरकी मूली महिलाको व्यवस्थापकीय पक्ष फितलो भए घर अस्तव्यस्त हुन्छ । यो कुरा घर तथा परिवारको आनीबानीबाट बाहिरी मानिसहरूले पत्ता लगाउन सक्छन् । हाइड एण्ड सिक मन्टेश्वरीकी संचालक कुमुद भट्ट छत्कुली महिलाहरूमा रहेको व्यस्थापकीय पक्ष निकै सशक्त भएको बताउँछिन् ।

आफ्नो घरको काम भ्याएर स्कुल परिसरमा १० बजे पुग्ने कुमुद घर होस् वा कार्यालय समान रूपमा अघि लैजाने सामथ्र्य महिलामा भएको बताउँछिन् । महिलाहरूले कुनै पनि कामलाई दिगो तथा सही तरिकाले गर्न रुचाउँछन् । घरको खाना बनाउने कुरा होस् वा कार्यालयको काम दुवैलाई तयार गर्न उनीहरू शतप्रतिशत आफ्नो इफोर्ट लगाउँछन् । महिलाहरू सबैलाई मोटिभेट गर्न सक्छन् । कुनै पनि जटिल समस्या आइपरे पनि त्यसलाई रिसले भन्दा शान्तिपूर्वक समाधान गर्न सक्छन् । महिलाहरूमा रहेको इमान्दारिता, कामप्रतिको सम्मान तथा जिम्मेवारी बोधले गर्दा उनीहरू सशक्त व्यवस्थापक हुन् । त्यसैगरी स्टोक व्यापारी सरिता अधिकारीको दैनिक कारोबार १२ करोडको हुन्छ । उनको माताहतमा धेरै कर्मचारी कार्यरत छन् । उनी एक सन्तानकी आमा पनि हुन् । तर उनले आफ्नो दुवै क्षेत्रलाई सजिलो तरिकाले अघि बढाइरहेकी छिन् । अहिलेका महिला घरदेखि सदनसम्म व्यवस्थापनमा अव्यस्त छन् । उनीहरूले अहिलेको परिदृश्यमा आफूलाई प्रमाणित पनि गराइसकेका छन् । महिलाले नेतृत्व गरेका कुनै पनि संघसंस्था निकै राम्रोसँग अघि बढेका उदाहरण पाइन्छन् । 

 Image