Successfully Copied

तिहारको विशेष महत्व

पाँच दिनसम्म मनाइने चाडको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार पर्छ ।

कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिबीचको पाँच दिन मनाइने चाड हो तिहार। पाँच दिनसम्म मनाइने चाडको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार पर्छ । तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । पाँच दिनसम्मको यो अवधिलाई यमपञ्चक भनिन्छ । 

यी पाँच दिनमा घर–घरमा दीपावली गरिए पनि विशेषगरी औंसीको साँझ गाई तिहारको साँझ लक्ष्मीपूजा गरी दीपावली (बत्ती) गरिने भएकाले गाई तिहारलाई दीपावली साँझ भन्ने चलन छ । गाई तिहारका दिन गरिने लक्ष्मीपूजा र भाइ तिहारमा लगाइने टीकाले यो पर्वको महत्व अझ बढेको पण्डित वासुदेव खनाल बताउँछन् । भातृत्वको पर्व तिहारमा विभिन्न सामग्रीको आवश्यकता पर्छ । 

तिहारका लागि आवश्यक सामग्री 

काग तिहार 

तिहारको पहिलो दिन कागको पूजा हुन्छ । यमराजको दूत कागलाई सन्देशवाहक पनि भनिन्छ । यो दिन कागको पूजा गर्दा फूल–अक्षताको आवश्यकता पर्छ । फूल–अक्षता आकाशमा छर्ने वा छतमा राख्ने गरिन्छ । त्यसपछि कागका लागि मिठार्इं तथा विभिन्न परिकार दुना वा टपरीमा राखिदिने चलन छ । 

कुकुर तिहार 

यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहारको पूजाका लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनको आवश्यकता पर्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन नरकका राजा यमराजका दूत प्राणी कुकुरको पूजा हुन्छ । यस दिन घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा ख्वाउने चलन छ । 

गाइ तिहार, लक्ष्मीपूजा

तिहारको पाँच दिनमध्ये तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको दिन हो । यो दिनलाई गाई तिहार पनि भनिन्छ । यो दिनको राति धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यो दिन लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, शृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो, जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटोको आवश्यकता पर्छ । सेलरोटी पनि लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ ।

घरका महिलाले आँगनलाई सफा–सुग्घर पारी रातो माटोले लिपपोत गरी लक्ष्मीको स्वागतार्थ ढोकामा सयपत्री तथा मखमली फूलका माला एवं झिलिमिली कागजले सजाउँछन् । त्यसपछि ढुकुटी, कुचो, नाङ्लो, तामाका पात्र आदिको पूजा गरिन्छ । यो दिन आफ्ना गहना पूजा गर्ने चलन छ ।   

गोरु तिहार 

तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिनलाई गोरु तिहार भनिन्छ । यस दिन गोरुको पूजा गरी मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदिको आवश्यकता पर्छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ । 

भाइ तिहार 

यमपञ्चकको पाँचांै दिन भाइ तिहार पर्छ । यो दिन दिदीबहिनीले दाजुभाइको पूजा गरेर निधारमा सप्तरंगी टीका तथा माला लगाइदिने चलन छ । भाइटीकाका दिन सप्तरंगी रंग, पूजा सामग्री, तेल, दूबो, ओखर, सयपत्री, गोदावरी एवं मखमलीका माला, शृंगारका सामान (ऐना, गाजल), मिष्ठान्न परिकार, उपहार, दियो, कलश आदि सामग्रीको आवश्यकता पर्छ । दाजुभाइलाई तिहारमा काजु, पेस्ता, काजी बदाम, सुपारी, ल्वाङ, अन्जिर, दाख, फलफूल आदि दिने चलन छ भने सेलरोटी, अनरसा, विभिन्न किसिमका मिठाईं पनि प्रदान गरिन्छ । सोही दिन यमराजकी दिदी यमुनाले आफ्ना भाइ यमराजको पूजा गरेको विश्वास गरिन्छ ।

यो पर्व दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि हो । दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल तथा दूबोले छेकी नओइलाउने मखमली एवं सयपत्री फूलको माला लगाइदिने चलन छ । शत्रुले दु:ख दिन नसकून् भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार ख्वाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गर्छन् ।  

 Image