Successfully Copied

भान्साका सामग्रीको सफाइ

माइक्रोवेभको प्रयोगपछि यसको भित्री भाग राम्रोसँग सफा गर्ने ।

माइक्रोवेभ

खानालाई तताउने, कम समयमा स्वादिलो तथा स्वस्थ खाना बनाउने माइक्रोवेभको सफाइमा उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । माइक्रोवेभको प्रयोगपछि यसको भित्री भाग राम्रोसँग सफा गर्ने । सफाइका लागि माइक्रोवेभ ओवन क्लिनर प्रयोग गर्ने । यसको ढोकाको ख्याल राम्रोसँग राख्नुपर्छ । यसले माइक्रोवेभको भित्री इनर्जीलाई सुरक्षित राख्छ । यसलाई सफा गर्न रातभरि थोरै अमोनिया भरेर राख्ने अनि बिहान सफा कपडाले पुछ्ने । एक कप पानीमा कागतीको टुक्रा हालेर माइक्रोवेभलाई केही समय अन गर्दा सफा गर्न सजिलो हुन्छ भने त्यसभित्रको गन्ध पनि हट्छ । 

सुरक्षाका लागि  

माइक्रोवेभमा माइक्रोवेभ सेफ उल्लिखित भाँडा मात्र प्रयोग गर्ने । माइक्रोवेभबाट भाँडा बाहिर झिक्दा कपडा वा पञ्जाले समातेर मात्र निकाल्ने । यसमा पपकर्न तयार पार्दा माइक्रोवेभको छेउतिरै बस्ने । कहिलेकाहीँ ओभनको तापक्रम बढी भएर भित्र आगो लाग्न सक्ने खतरा हुनसक्छ । 

फ्रिज 

किचेनका लागि नभै नहुने फ्रिज हप्ताको एकपटक सफा गर्नु आवश्यक छ । फ्रिज सफाइका लागि बेकिङ सोडा र पानीको मिश्रण प्रयोग गर्न सकिन्छ । माथिदेखि तलसम्मको भाग साबुन पानीले सफा गर्ने । सफा गरेपछि आधा घन्टाका लािग फ्रिज खुल्ला छोड्ने । कपासमा भेनिलाएसेन्स लगाई फ्रिजमा राखेर आधा घन्टा बन्द गर्ने । यसले फ्रिजबाट आउने गन्धबाट मुक्ति दिलाउँछ । हरेक ६–६ महिनामा फ्रिजको पछाडिको भागको सफाइ गर्ने । 

सुरक्षा 

तातो खाना राख्दा फ्रिज खराब हुन्छ । फ्रिजमा राखिएको खानालाई हप्ता दिनभित्र खानुपर्छ । फ्रिजलाई ग्यास चुल्हो वा हिटरको अगाडि नराख्ने । फ्रिजलाई हावा आउने ठाउँतिर राख्नुपर्छ । फ्रिज र भित्ताबीचको दूरी ५ इन्च हुनुपर्छ । फ्रिजलाई भित्तामा जोड्नुहुँदैन । 

 

मिक्स्चर ग्राइन्डर

मिक्स्चर ग्राइन्डर आधुनिक तथा स्मार्ट किचेनका लागि अति आवश्यक किचेन अप्लाइन्सेस हो । यसले किचेनको काम निकै सजिलो बनाउँछ र समय पनि बचत गर्छ । यसको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । मिक्स्चर ग्राइन्डर प्रयोग गरेपछि त्यसलाई राम्रोसँग सफा गर्नुपर्छ ।

सुरक्षा 

मिक्स्चरमा धेरै तातो चीज पिस्नु हुँदैन । मिक्सरलाई लगातार १५–२० मिनेटसम्म चलाउनु हुँदैन । मिक्स्चरलाई बिर्काेमा हातले हल्का थिचेर चलाउने । मिक्स्चरको आधा भाग मात्र भरेर चलाउनुपर्छ अन्यथा मोटरमा लोड पर्छ र मिक्स्चर छिट्टै बिग्रन्छ । अचार पिसेपछि थोरै पानी हालेर चलाउने । यसो गर्दा ब्लेडको आसपास टाँसिएको सबै चीज निस्कन्छ । मिक्स्चर प्रयोग गरेपछि सधै प्लग निकालेर राख्नुपर्छ । लगातार इलेक्ट्रिक सप्लाइ हुँदा मिक्स्चरको क्षमतामा असर पर्नसक्छ । 

ह्यान्ड ब्लेन्डर

किचेनमा फिट्ने कामलाई सजिलो बनाउन ह्यान्ड ब्लेन्डर प्रयोग गरिन्छ । प्रयोगपछि यसको हरेक भागलाई अलग–अलग गरेर उम्लिएको पानीमा थोरै डिटर्जेन्ट हाली सफा गर्ने । ब्लेन्डरको मोटर भिजेको कपडाले पुछ्ने । यसलाई पानीभित्र डुबाउनु हुँदैन ।

सुरक्षा 

ब्लेड फेर्दा वा सफाइ गर्दा अनप्लग गर्नुपर्छ । लगातारको प्रयोगले यसको धार कम हुँदै जान्छ ।

जुसर 

ताजा एवं स्वस्थ जुस बनाउने सर्ट जुसर अत्यावश्यक किचेन सामग्री बन्दैछ । बालबालिकाहरूलाई फ्रेस जुस बनाएर ख्वाउँदा उनीहरू स्वस्थ रहने तथा रसायनयुक्त तयारी जुसबाट छुटकारा पाइने हुँदा जुसर हरेकको आवश्यकता बन्दै गएको छ । प्रयोगपछि यसलाई धोइहाल्नुपर्छ । यसको सफाइका लागि उमालिएको पानी तथा डिटर्जेन्ट प्रयोग गर्नुपर्छ ।

सुरक्षा 

दिनमा एकपटक भन्दा बढी जुसर प्रयोग गरिन्छ भने हरेकपटक पार्टपुर्जाहरू छुट्याएर धुनु आवश्यक हुँदैन । फललाई स–साना टुक्रा बनाएर मात्र जुसरमा राख्नुपर्छ । 

 Image