Successfully Copied

बदलिँदो वैवाहिक सम्बन्ध...

महाराजगञ्जकी स्वेच्छा र असनका निर्मल कलेजका सहपाठी हुन् ।

महाराजगञ्जकी स्वेच्छा र असनका निर्मल कलेजका सहपाठी हुन् । सँगै टिनएज पार गरेका उनीहरूबीच त्यतिबेला प्रेम बस्यो जब निर्मलले प्लस टु टप गरे । आकर्षक स्वेच्छाको फरासिलो व्यवहार एवं केयरिङ नेचरबाट प्रभावित थिए निर्मल । राम्रो पढाइ र फरक व्यक्तित्वसहित निर्मलको बौद्धिकताले समेत स्वेच्छालाई आकर्षित गर्‍यो । हाल निर्मल अस्ट्ेरलियामा उच्च शिक्षा अध्ययनरत छन् भने स्वेच्छा नेपालमै बस्छिन् । उनीहरूको इंगेजमेन्ट भएको २ वर्ष पूरा भैसकेको छ तर उनीहरूले एक–अर्काको करियरका लागि विवाहलाई स्थगित गर्दै आएका छन् । स्वेच्छाका अनुसार उनको विवाह निर्मलसँगै हुनेछ तर अध्ययन पूरा भएर करियर विकास गरिसकेपछि मात्र ।

बुटवलमा जन्मिएका प्रज्ज्वलको अध्ययन काठमाडौंमा पूरा भयो । अंग्रेजी भाषा पढ्दाताका भेटिएकी झापाकी अनुजासँग उनको प्रेम विवाह भयो । करियर अघि बढाउन सन्तान नजन्माएको यो जोडी एक–अर्काको भावना, रुचि एवं चाहनाको सम्मान गर्छ । प्रज्ज्वलका अनुसार अनुजा सिगरेट तान्न तथा अकेजनल्ली वाइन पिउन रुचाउँछिन् तर उनी स्वयं भने ती कुराबाट टाढा छन् । तैपनि प्रज्ज्वल श्रीमतीका लागि सिगरेट वा वाइन किन्न पसल जान लाज मान्दैनन् ।

विवाहको ८ वर्षपछि सन्तान जन्माएका प्रवेश र कृपाको कथा पनि रोचक छ । विवाहलगत्तै कृपा फेलोसिपका लागि नेदरल्यान्ड पुगिन् । आमसञ्चार विषयमा अन्तर्राष्ट्रिय डिग्री हासिल गरी ३ वर्षपछि स्वदेश फर्किएकी कृपाले नेपाल फर्कनेबित्तिकै एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा राम्रो जागिर पाइन् । त्यतिबेलासम्म प्रवेश आफ्नो व्यवसायमा जमिसकेका थिए । अध्ययन, करियर एवं व्यवसायमा जमिसकेपछि मात्र उनीहरूले छोरी जन्माए । प्रवेश अब अर्को सन्तान नजन्माउने बताउँछन् । 

विवाह बन्धन मात्र रहेन अब, न त यो सम्झौतामै सीमित रह्यो ।

पहिले विवाहपछि पढाइ, करियर तथा अन्य व्यक्तिगत काम एवं चाहनालाई नै तिलाञ्जलि दिनुपथ्र्यो तर अहिले विवाहको परिभाषा मात्र बदलिएको छैन, वैवाहिक सम्बन्धभित्रका धेरै गतिविधिमा परिवर्तन आइसकेको छ । रजस्वला हुनुअगावै कन्यादान गर्न सके पुण्य कमाइन्छ भन्ने सामाजिक मान्यता पनि हटेको छ । पछिल्लो समयमा वैवाहिक सम्बन्ध महिलाका हकमा बढी परिवर्तनकारी एवं सकारात्मक देखिएको छ । महिलाको व्यक्तिगत चाहना एवं रुचि वैवाहिक सम्बन्धभित्र जीवन्त भएर अघि बढ्न थालेको छ ।

विवाह गरेर श्रीमान्को घर गैसकेपछि आफ्ना आकांक्षा मारेर सोही घरपरिवारको स्याहार–सम्भार तथा रेखदेखमै जीवन बिताउन बाध्य हुने महिलाको भागमा स्वतन्त्रताले पङ्ख फिँजारेको छ । पुरातन शैली र व्यवहार मक्किएर गएका कारण आजका महिला विवाहपछि पनि आफ्नो शिक्षा, करियर एवं व्यवसायका अतिरिक्त आफूले चाहेको जीवनशैलीलाई निरन्तरता दिन सफल छन् । पुरुषहरू पनि यो मामिलामा उदार बन्दैछन् । प्रेमिका अत्याधुनिक र श्रीमती पुरातन होस् भन्ने धारणामा बिस्तारै परिवर्तन आउँदैछ । आधुनिक पुरुषहरूले अल्ट्रा–मोर्डन, प्रोफेसनल तथा ड्यासिङ पर्सनालिटीयुक्त श्रीमतीप्रति गर्व गर्न थालेका छन् । विदेश पढेर आएका, आमसञ्चारमा पहुँच राख्ने तथा विश्वव्यापीकरणलाई नजिकबाट नियालिरहेका पुरुषहरू विवाहको कुरामा धेरै लचिला देखिएका छन् । 

मानवशास्त्री तथा समाजशास्त्री प्रा.गणेशमान गुरुङका अनुसार नेपालको समाज अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । न त हामीले शतप्रतिशत पश्चिमा जीवनशैली अंगाल्न सकेका छौँ, न त पूर्वीय मान्यताबाट पूर्णरूपमा अलग्गिन सकेका छौँ । अहिलेका अभिभावकलाई पढेलेखेकी बुहारी पनि चाहिएको छ तर घरपरिवार, बालबच्चा उसैले सम्हालिदिओस् भन्ने पनि चाहना छ । दोहोरो सोच र जिम्मेवारीबीचको तालमेल त्यति सहज चाहिँ छैन । गुरुङ भन्छन्–‘यस किसिमको समाज जता पनि जानसक्ने सम्भावना हुन्छ ।

हामीले सही तरिकाले डोर्‍याउन सक्यौं भने यो पूर्णरूपले आधुनिक बन्न धेरै समय लाग्दैन तर जानिएन भने तहसनहस हुन पनि बेर लाग्दैन । तसर्थ हामी आफ्ना मौलिक संस्कार–संस्कृतिलाई निरन्तरता दिँदै त्यसभित्रका अप्ठ्यारा तथा जटिलताहरूलाई कटौती गरेर अघि बढ्नुपर्छ ।’ टेरो–कार्ड–रिडर श्वेता राजगडिया भन्छिन्–‘मकहाँ विवाहेतर सम्बन्धका केस प्रशस्त आउँछन् । यस्तो सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने सुझाव माग्नेहरू प्रशस्तै हुन्छन् । आजका महिलाहरू पनि उच्चशिक्षित, स्वरोजगार, स्वावलम्बी एवं सशक्त भएका कारण पुरातन व्यवहार खपेर बस्न सक्दैनन् । उनीहरू आफूलाई रिजुभेन्ट एवं रिफ्रेस राख्न एक्स्ट्रा–म्यारिटल अफेयर्समा देखिन्छन् ।’ पहिले परामर्श दिने संस्था तथा व्यक्तिको अभावमा यस्ता सम्बन्ध समाजभित्रै लुकेर रहन्थे तर अहिले सूचना तथा एक्सपोजरका कारण बाहिर देखिएको श्वेताको तर्क छ । 

अन्तर्राष्ट्रिय परिवार नियोजनसम्बन्धी एक शोधले अझैसम्म पनि नेपाली महिलाहरू उमेर पुग्नुअगावै वैवाहिक बन्धनमा बाँधिने र यो ट्ेरन्डलाई न्यूनीकरण गर्न शिक्षा मात्र नभै चेतनास्तर र त्यसपछि आइपर्ने अभिभावकत्वका सम्बन्धमा विभिन्न प्रजनन् स्वास्थ्य कार्यक्रम कार्यान्वयन गरिनुपर्ने तथ्य सार्वजनिक गरेको छ । सन् १९८१, १९९१ तथा २००० सम्मको दस–दस वर्षको अन्तरालमा गरिने जनगणनाले वैवाहिक स्तरलाई ४ भागमा विभाजन गरेको थियो–अविवाहित, विवाहित, विधवा र सम्बन्धविच्छेद । सन् २००१ मा गरिएको जनगणनामा उक्त दायरालाई अझ फराकिलो बनाउँदै अविवाहित, विवाहित, विवाहित जो एउटा बच्चासँग बसिरहेका छन्, विवाहित जो एकभन्दा बढी बालबालिकासँग बसिरहेका छन्, पुनर्विवाहित, एकल महिला, सम्बन्धविच्छेद गरेका र सम्बन्धविच्छेद नगरी छुट्टिएर बसेका गरी विभिन्न स्तरमा विभाजित गरियो । जसले विवाहसम्बन्धी बदलिँदो सामाजिक संरचना एवं धारणा समेट्ने प्रयास गर्छ । 

व्यवसायी अल्पजा राजभण्डारी श्रेष्ठ आफ्नो जीवनमा विवाहपछि निक्कै सफलता हात लागेको बताउँछिन् । करियर अघि बढाउन मात्र नभै मानसिक रूपमा स्फुर्त र आफूलाई तरोताजा राख्न पनि वैवाहिक सम्बन्ध अपरिहार्य हुने उनको तर्क छ । जीवनका कैयौं मोडमा आइपर्ने सुख–दु:ख बाँड्न तथा आफ्नो वृत्तिविकास र सफलताका लागि पनि विवाहले महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ । अल्पजा भन्छिन्–‘हाम्रो वैवाहिक सम्बन्ध आपसी समझदारी र सहयोगमा अघि बढिरहेको छ । विवाहपछि पनि मैले आफ्नो करियर, शिक्षा, रुचि तथा रहरहरूमा लगाम लगाउनु परेन ।

समय अब निकै बदलिसकेको छ । अहिलेको सम्बन्ध शतप्रतिशत म्युचअल–अन्डरस्ट्यान्डिङमा अघि बढ्छ ।’ हाम्रा आमा–हजुरआमाका पालामा आफ्ना श्रीमान्सँग बोल्न मात्र पनि महिनौं कुर्नुपथ्र्यो भन्ने कुराहरू आफूले समेत सुन्ने गरेको बताउँदै अल्पजाले भनिन्–त्यो प्रेमसम्बन्ध होइन कि समाज र परिवारलाई देखाउने प्रणय सम्बन्ध मात्र थियो । हिजोआजको विवाहमा प्रणयभन्दा बढी प्रेम सम्बन्ध हावी हुँदैछ । जसले कालान्तरसम्म सँगै जीवन बिताउन सहज र सरल बनाउँछ ।’ 

आजीवन अविवाहित बस्ने निर्णय गरेकी भगवती परियारका अनुसार अहिलेको युगमा आफू सक्षम, शिक्षित र आत्मविश्वासी भए एकल बस्दा पनि फरक पर्दैन । व्यस्तता बढी भएकाले विवाह नै गरे पनि कसलाई कसको वास्ता र मतलब राख्ने फुर्सद हुन्छ ? परियार भन्छिन्–‘विवाहित महिलाहरू पनि हामीजस्तै स्वतन्त्र रूपमा आकाशमा चंगा उडेझैं उड्न रमाउँछन् । विवाह सर्त र तुलनारहित हुने हो भने ठीक छ अन्यथा यो सम्बन्ध आफ्ना लागि आफैंले खाडल खन्नुसरह हो ।’ 

बक्समा 

विवाह के हो भन्ने थाहै थिएन 

गणेशकुमारी थापा (९७ वर्ष)

म ६ वर्षकी हुँदा १४ वर्षका पुरुषसँग विवाह भयो । सासू बज्यैले आफ्नो काखमा राखेर मेरो केश कोरीबाटी गरिदिनुहुन्थ्यो । त्यसपछि गाई–भैंसी, भेंडाबाख्रा गोठालो पठाइदिन्थे । बालखै छ भोक लागिरहन्छ भनेर बज्यैले मकै–भटमास भुटेर खाजाको पोको बनाइदिनुहुन्थ्यो । बज्यैले खोपीमा आफैसँग सुताउनुहुन्थ्यो । उतिबेला बूढालाई नाम काटेर बोलाए पाप लाग्छ भन्थे । विवाह भएको ७ वर्षसम्म हामीबीच बोलचाल भएन । म कसकहाँ आएकी हुँली, किन आएकी हुँली जस्तो लाग्थ्यो । पहिलो पटक बाहिरबाटो (महिनाबारी) लाग्दा घरभन्दा पर छिमेकीकहाँ लुकाउन लगे । कसैलाई देख्न–हेर्न हुँदैन, सूर्य भगवान् झुल्किएको हेर्न हुँदैन भन्थे । घरभित्रै लुकेर बस्नुपथ्र्यो ।

पहिलो पटक गर्भवती भएका बेला एकदिन साह्रै गाह्रो हुँदा बूढासँग पहिलो पटक बोलेकी थिएँ म । त्यो पनि असाध्यै डराई–डराई । मनमा कति कुरा खेल्थे, कति पीडा हुन्थ्यो, कसलाई भन्ने ? हाम्रा कुरा कसले सुनिदिने ? मनभित्र कुरा दबाउँदा–दबाउँदै म रिसाहा, ईष्र्यालु एवं अधीर भैसकेकी थिएँ । उतिबेला लोग्नेलाई भगवान् मान्ने भन्ने थियो । श्रीमान्को मात्र होइन सासूको पनि खुट्टामा रातदिन तेल लगाइदिनुपथ्र्यो । आफू जति थाके पनि, बिरामी भए पनि स्याहार्ने कसले ? राम्रो टालो लाउन र मीठो–मसिनो खान दसैं नै कुर्नुपथ्र्यो त्यो पनि बुहारी भनेपछि विभेद भैहाल्थ्यो । यसरी नै बित्यो मेरो जीवन । 

सम्बन्ध सुमधुर बनाउन शिक्षा महत्वपूर्ण

प्रा.डा. भोलाप्रसाद दहाल (शिक्षाविद्)

शिक्षित हुँदै गैसकेपछि श्रीमान्–श्रीमतीले एक–अर्कालाई बुझ्दै जान्छन् । आपसमा कसले कहाँ कसरी सहयोग गर्न सकिन्छ, दुवैको करियर कसरी उत्तम बनाउन सकिन्छ भन्ने ज्ञान आउँछ जसले सम्बन्धमा थप मिठास ल्याउँछ । दुईमध्ये एक मात्र शिक्षित भए एकले अर्कोलाई हेप्ने प्रवृत्ति विकसित हुनसक्छ । सम्बन्धविच्छेदमा शिक्षा र स्वरोजगार एक–अर्काका कारक हुन्छन् । हाम्रो समाज र संस्कार यस्तो छ कि, हामीभित्रको पुरुषत्वले महिलाले मैले भनेको मान्नैपर्छ भन्ने भावना पैदा गर्छ । महिलामा पनि म पढेलेखेकी छु, स्वरोजगार छु किन दबिएर बस्ने ? भन्ने सोच आउन थाल्छ । असमझदारी बढ्दै जाँदा सम्बन्धविच्छेदसम्म हुनसक्छ । कतिपय अवस्थामा महिला बढी नै सशक्त हुँदा अथवा पुरुषसँगको सहकार्यमा काम नगर्दा पनि सम्बन्ध राम्रो हुन नसक्ने स्थिति उत्पन्न हुन्छ । 

वैवाहिक जीवनलाई सधै रोमान्टिक राखौं  

श्वेता राजगडिया (परामर्शदाता तथा टेरो–कार्ड–रिडर )

  • आफ्नो पार्टनरलाई विशेष बनाउने ।
  • समय मिलाएर मुभी, आउटिङ, होलिडे आदि जाने ।
  • आपसी समझदारी कायम गर्ने ।
  • एकले अर्काको भावनाको कदर एवं सम्मान गर्ने । 
  • सही समयमा रोमान्समा रमाउने ।
  • सँगसँगै जिम, एरोबिक, साल्सा वा म्युजिक क्लास जाने ।
  • ताजा स्मृतिका लागि सँगै खिचेका तस्बिर एवं भिडियोहरूको कलेक्सन बनाउने ।
  • यौनजीवनलाई सक्रिय राख्ने ।
  • छुट्टीका बेला सँगै मिलेर खाना पकाउने वा क्यान्डल लाइट डिनरमा सहभागी हुने ।
  • परिवारसँग गुणस्तरीय समय व्यतीत गर्ने ।
  • एक–अर्काबीच लभिङ, केयरिङ एवं सेयरिङ नेचर बढाउँदै जाने । 
  • हाम्रो समाज संक्रमणकालीन अवस्थामा छ । 

प्रा. गणेशमान गुरुङ (मानवशास्त्री तथा समाजशास्त्री)

समाज शास्त्रीय दृष्टिले हेर्दा हाम्रो समाज अहिले संक्रमणकालीन अवस्थामा छ । जति नै पढेलेखे पनि आफ्नो चालचलन, संस्कार एवं रीतिरिवाजप्रतिको अन्धविश्वास कायम छ । परिमार्जन गर्न आवश्यक केही प्रचलनलाई सुधारेर अघि बढ्न सकियो भने त्योभन्दा उत्तम र सुन्दर केही हँुदैन । दुलहा–दुलहीको पहिरन लगाउने शैली परिमार्जन गर्ने, खर्च कटौती गर्ने, महँगा सुटको साटो दौरा–सुरुवाल र साडीमा सजिनेजस्ता अनेकौं उपाय अपनाउन सकिन्छ ।

हामी गुरुङहरूमा पहिले ब्रिटिस लाहुरेलाई मामाकै छोरी खोजेर दिने चलन छ । उनीहरूलाई क्षमता, पेसा, योग्यता, रुचि एवं चाहनाका सम्बन्धमा छलफल गर्ने अवसर जुटाउन पहिले नै भेट गर्न दिने, एक–अर्कालाई बुझ्न, आपसमा समय व्यतीत गर्न दिने काम राम्रो हो । विद्यमान सुन्दर संस्कार तथा मौलिकतालाई पनि नछोडी समयानुकूल परिमार्जन गर्नु उत्तम हुन्छ । सासूले दिएको तनाव महिनौंसम्म श्रीमान्लाई नभनी आफैंभित्र लुकाएर राख्ने परम्परा भने अन्त्य हुनुपर्छ । सँगै समय बिताउने तथा आपसी वार्तालापको कमीका कारण महिलाहरू मानसिक विचलनमा छन्  

रोजिना मानन्धर (मनोपरामर्शदाता, नर्भिक इन्टरनेसनल अस्पताल)  

वैवाहिक जीवनलाई सदाबहार राख्न आपसी समझदारी अत्यावश्यक हुन्छ । हाम्रो परम्परागत सामाजिक संस्कार तथा मूल्य–मान्यताका कारण पुरुषभन्दा महिलामा बढी मानसिक दबाब छ । महिला आफ्नो जन्मस्थान एवं आफन्तहरू छाडेर अर्काको घर आएकी हुन्छिन् । नयाँ वातावरण, नयाँ संस्कार एवं रीतिरिवाजमा भिज्नुपर्ने तथा नौलो चालचलन पछ्याउनुपर्दा कतिपय महिलामा मानसिक विचलन सिर्जना हुनसक्छ । यस्तो अवस्थामा पार्टनरले परामर्शदाता एवं सहयोगी बनेर त्यसको समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

कतिपय अवस्थामा महिलाले आफ्ना मनभित्र गुम्सिएका कुराहरू व्यक्त गर्न नसकी भित्रभित्रै पीडा बोकेर बस्नुपर्ने स्थिति आइपर्छ त्यस्तो बेला श्रीमान्भन्दा भरपर्दो सहयोगी अरू हुन सक्दैनन् । सँगै समय बिताउन नपाएको तथा आपसी वार्तालापको कमीका कारण कतिपय महिला मानसिक रूपमा तरोताजा छैनन् । आधुनिक जोडीमा उनीहरूबीचका कतिपय क्रियाकलाप तथा वार्तालापले नै थेरापीको काम गरिरहेको हुन्छ तसर्थ उनीहरू सदा फ्रेस रही करियरमा अघि बढ्न सकिरहेका छन् । 

 Image