Successfully Copied

तौल घटाउनु छ भने

तौल कम गर्ने चाहनामा मानिसहरू यस्ता औषधि सेवन गर्छन् तर औषधि खाएर मात्र तौल कम गर्न सकिँदैन ।

हिजोआज पत्रपत्रिका, टिभी च्यानल, इन्टरनेट, म्यागजिन आदिमा तौल कम गर्ने अनेकौं औषधिको विज्ञापन देख्न सकिन्छ । त्यसका साथमा औषधि प्रयोग गर्नेहरूको अनुभव पनि देखाइन्छ । औषधि लिनुभन्दा पहिले र लिइसकेपछिको अवस्था पनि प्रस्तुत गरिन्छ । ती विज्ञापन हेरेर कतिपय मानिस परिश्रमै नगरी तौल घटाउने लालसामा ती औषधि सेवन गर्न थाल्छन् तर ती औषधिले शरीरमा फाइदा वा बेफाइदा के हुन्छ भन्ने कुरामा भने ध्यान पुर्‍याउँदैनन् ।

स्थायी समाधान होइन

क्लिनिकल डाइटिसियनहरूका अनुसार तौल कम गर्ने केही औषधिले शरीरको बेसिक मेटाबोलिक रातो बढाएर तौल कम गर्छ । यद्यपि यो स्थायी समाधान भने होइन । कारण औषधि सेवन बन्द गर्नेबित्तिकै तौल पुन: बढ्छ । खानाबाट शरीरलाई एनर्जी प्राप्त हुन्छ । यस्तोमा औषधिले हाम्रो शरीरलाई एनर्जी प्राप्त गर्नबाट रोक्छ भने त्यो नोक्सानदायक साबित हुन्छ । तौल कम गर्ने औषधिमध्ये धेरैले त्यही काम गर्छन् । कतिपय अवस्थामा तिनको प्रभाव उल्टो पनि पर्न सक्छ ।

सुरक्षित छैन

तौल कम गर्ने चाहनामा मानिसहरू यस्ता औषधि सेवन गर्छन् तर औषधि खाएर मात्र तौल कम गर्न सकिँदैन । औषधिले एउटा निश्चित सीमासम्म मात्र काम गर्छ । औषधिको साइड इफेक्टका कारण विकनेस, रिस उठ्ने, लो ब्लडप्रेसर, केश झर्ने, धेरै भोक लाग्ने, डिप्रेसन आदि समस्या उत्पन्न हुन थाल्छन् । अहिले  तौल कम गर्ने एलोप्याथिक, आयुर्वेदिक एवं होमियोप्याथिक सबै प्रकारका औषधि बजारमा उपलब्ध छन् तर पनि अधिकांश औषधि सुरक्षित छैनन् ।

कसरी पाउने सुगठित शरीर

सही डाइट र जीवनशैलीमा सुधारका साथै केही अन्य उपाय अपनाएर आफ्नो फिगरलाई सुगठित बनाउन सकिन्छ । स्लिम ट्रिम हुन जति मेहनत गर्नुपर्छ त्यति नै मूल्य पनि चुकाउनुपर्ने हुन्छ । बजारमा थुपै्र यस्ता उत्पादन उपलब्ध छन् जसको प्रयोग सरल छ र प्रभावकारी पनि । त्यसमध्ये एउटा हो–स्लिमिङ ओयल । प्राकृतिक तत्त्वबाट बनेको यस्तो तेलको नियमित प्रयोगले सेल्युलाइट घट्छ र छाला कसिलो हुन्छ । फलस्वरूप शरीर स्वस्थ र सुगठित देखिन्छ । प्रयोग गर्नुपूर्व यसको प्रयोगबाट छालामा कुनै प्रकारको साइड इफेक्ट पर्छ कि पर्दैन ध्यान दिनुपर्छ ।

लाइफ स्टाइल सुधार्नुपर्छ

जसरी कार चलाउन पेट्रोल र डिजेलबाहेक अरू कुनै लिक्विड प्रयोग गर्न सकिँदैन त्यसैगरी खाना खानुको साटो स्न्याक्स वा ड्रिंक्स लिने हो भने त्यसबाट शरीर चलाउनका लागि पर्याप्त ऊर्जा प्राप्त हुँदैन । सही समय र सही मात्राको स्वच्छ भोजनले नै शरीर क्रियाशील रहन्छ । त्यसैले खानालाई बेवास्ता गर्नुहुँदैन । तौल घटाउनु छ भने सन्तुलित र सही डाइटका साथै नियमित व्यायाम आवश्यक छ ।

 Image