Successfully Copied

बालबालिकालाई सजाय दिनु कति उचित ?

गल्ती गर्ने समय नै बाल्यकाल हो । आमाबाबुको भाषामा बालबालिका चकचके, छुकछुके तथा बदमास हुन्छन् तर यसो नगरी उनीहरू सक्रिय पनि हुँदैनन् । बालबालिकाको बदमासी र चकचकेपनलाई लिएर विभिन्न धारणा पाइन्छन् । एकथरीले गल्ती गरिहाले गल्ती महसुस गराउन भए पनि सजाय दिनुपर्छ

 
गल्ती गर्ने समय नै बाल्यकाल हो । आमाबाबुको भाषामा बालबालिका चकचके, छुकछुके तथा बदमास हुन्छन्  तर यसो नगरी उनीहरू सक्रिय पनि हुँदैनन् । बालबालिकाको बदमासी र चकचकेपनलाई लिएर विभिन्न धारणा पाइन्छन् । एकथरीले गल्ती गरिहाले गल्ती महसुस गराउन भए पनि सजाय दिनुपर्छ भन्छन् भने अर्काथरी विशेषज्ञहरू सजाय दिनु गलत हुने बताउँछन् । 
 
समस्या कसरी उत्पन्न भयो पत्ता लगाउनुपर्छ 
 
बालबालिकालाई सजाय दिनुअघि अभिभावकले समस्या कसरी उत्पन्न भयो जानकारी लिनुपर्छ । गल्ती पत्ता लगाई उनीहरूलाई गाली गर्नुको साटो सुध्रिने मौका दिनुपर्छ । बालबालिकालाई सजाय दिनु समस्याको स्थायी समाधान होइन भन्ने कुरा अभिभावकले राम्रोसँग बुझ्नुपर्छ । गल्ती भैहाले पनि हप्काउनु, धम्क्याउनु, कुटपिट गर्नुको साटो अभिभावकले शिशुले किन यसो गर्दैछ भन्ने कारण पत्ता लगाउनुपर्छ ।
 
अभिभावकले बालबालिकाको समस्या पत्ता लगाई विचार र भावनालाई बुझ्ने प्रयास गरेको खण्डमा उनीहरू आफै सुध्रिन्छन् । उनीहरूलाई सजायको आवश्यकता पर्दैन । बालबालिकालाई माया र विश्वास गरी उनीहरूसँग साथीको सम्बन्ध स्थापित गर्न सकेको खण्डमा बालबालिका निडर भएर आफैं आमाबाबुसँग कुराकानी गर्न सक्छन् ।
 
सजाय पनि अनुचित होइन
 
बालबालिकाले नचाहिने कुरामा जिद्दी गर्छन् र ठूलै गल्ती गर्छन् भने आवश्यक मात्रामा सजाय पनि दिनुपर्छ जसले उनीहरूलाई दोहोर्‍याएर गल्ती गर्ने अवसर दिँदैन भने अनुशासित समेत बनाउँछ । कहिलेकाहीँ गाली गरिएन भने उनीहरूलाई कहिल्यै अफ्नो गल्ती महसुस हुँदैन र थप गल्ती गर्न उत्साहित हुन्छन् । त्यति मात्र नभएर उनीहरूमा जिद्दी, भनेको नटेर्ने र आफूभन्दा ठूलालाई सम्मान नगर्ने किसिमको स्वभाव विकसित हुँदै जान्छ । राम्रो स्वभाव निर्माण र गलत कामबाट छुटकारा दिन पनि समय–समयमा उनीहरूलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ । उनीहरूलाई सही बाटोमा ल्याउन र भविष्य निर्माणका लागि कतिपय अवस्थामा हप्काउँदा पनि फरक पर्दैन । यद्यपि त्यति धेरै सजाय दिनु पनि उचित होइन । बढी सजाय दिँदा उनीहरू सुध्रिनुको साटो बिग्रदै जान्छन् । 
 
विशेषज्ञहरू के भन्छन् ?
 
बालमनोवैज्ञानिक नन्दिता शर्माका अनुसार बालबालिकालाई सजाय दिने वा नदिने भन्ने कुरा गम्भीर तथा संवेदनशील विषय हो । अभिभावकले सुरुदेखि यस्तो व्यवहार गर्दै जानुपर्छ कि सजाय दिनुपर्ने अवस्था नै नआओस् । बालबालिकाले बढी दु:ख दिन थाले वा अनेक माग गर्न थाले भने शारीरिक सजाय दिनुको साटो उनीहरूको सुविधा कटौती गर्नु उचित हुन्छ ।
 
बालबालिकाहरू खेलेर ढिलो घर आउँछन् वा बढी टेलिभिजनमा मात्र झुन्डिन्छन्् भने बन्देज लगाउनुपर्छ । यस्तो बेला बालबालिकालाई कुन गल्तीका कारण त्यसो गरिएको हो बताउनुपर्छ । जब बालबालिका आफ्नो गल्ती महसुस गर्दै ठीक ठाउँमा आउँछन् अब दोहोर्‍याएर यस्तो गल्ती नगर्ने चेतावनी दिँदै सजाय समाप्त गरिदिनुपर्छ ।

 Image