Successfully Copied

जाडोमा बालबालिकालाई हुने समस्या

जाडोमा विशेषत: बालबालिकालाई कस्ता स्वास्थ्य समस्या देखा पर्छन् ? जाडो मौसममा हावाबाट सर्ने रुघाखोकी त सामान्य नै भैहाले ।

डा. प्रभा क्षेत्री (बालरोग विशेषज्ञ, अल्का अस्पताल, पुल्चोक)

जाडोमा विशेषत: बालबालिकालाई कस्ता स्वास्थ्य समस्या देखा पर्छन् ?

जाडो मौसममा हावाबाट सर्ने रुघाखोकी त सामान्य नै भैहाले ।  कसै–कसैमा भने ब्रोङ्क्युओलाइटिस (दम) निमोनिया, बढी नै ज्वरोजस्ता जटिल समस्या देखापर्न सक्छन् । जाडोमा जस्ता स्वास्थ्य समस्या देखापरे पनि प्राय: ती भाइरल हुन्छन् । भाइरल संक्रमण ६ महिनाभन्दा सानालाई सर्ने सम्भावना बढी हुने हुँदा केही बढी जोखिम हुन्छ । छ महिनादेखि दुई वर्षसम्मका शिशुलाई यस्तो संक्रमण सर्ने सम्भावना भने केही कम हुन्छ ।

यसबाट जोगिने उपाय के–के होलान् ?

बालबालिकाहरूलाई रुघाखोकी लागेका व्यक्तिबाट टाढै राख्नुपर्छ । आमाबाबुलाई नै यस्तो समस्या छ भने पनि बालबालिकाबाट टाढै बस्नुपर्छ नजिक जानैपरे मास्क प्रयोग गर्नुपर्छ । हातमा हाछ्युँ गर्दा किटाणु सर्न सक्छन् । तसर्थ हाछ्यँु गरिसकेपछि साबुन पानीले हात धोएर मात्र बालबालिकालाई छुनुपर्छ । बालबालिकालाई रुघाखोकी छ भने स्कुल नपठाई घरमै आराम गराउनुपर्छ ।

यसको घरेलु उपचार के हुनसक्छ ?

रुघाखोकीको समस्या भए नाक सफा राख्नुपर्छ । मनतातो पानीमा नुन हालेर नाक सफा गरिरहनुपर्छ । अदुवापानी पकाएर त्यसमा मह एवं तुलसीको पात हाली मनतातो बनाएर ख्वाउँदा बालबालिकाको शरीर न्यानो हुन्छ । सात वर्षमुनिका बालबालिकालाई रुघाखोकीको झोल औषधि ख्वाउनु हुँदैन । भाइरल ज्वरो वा रुघाखोकीलाई एन्टिबायोटिक औषधि ख्वाइरहनु पर्दैन । भाइरल ७ देखि १० दिनपछि आफै बिसेक हुन्छ । ज्वरो बढी आए सादा सिटामोल दिन सकिन्छ ।

जाडो महिनामा बालबालिकामा अन्य कस्ता समस्या देखापर्न सक्छन् ?

भाइरल झाडापखाला लाग्नसक्छ जसलाई हामी चिसो लागेको भन्छौं । यस्तोमा एन्टिबायोटिक्स दिनु हुँदैन । सादा जीवनजल दिनुपर्छ । बालबालिकाहरूको शरीरमा पानीको मात्रा कम हुन दिनुहँुदैन । यो दुई–तीन दिनमा आफै हराउँछ । चिसोले छाला, ओठ, गाला एवं हातखुट्टा फुट्ने तथा औंला सुन्निने समस्या देखिए सादा मोइस्चराइजर लगाइदिनुपर्छ ।

जाडोमा बालबालिकाका लागि उपयुक्त खाना के हुनसक्छ ?

मह, मेथी, ज्वानो, तुलसीका पात आदिलाई खाना वा पानीमा मिसाएर ख्वाउनु उत्तम हुन्छ । ताजा तथा तातो खाना दिनुपर्छ । बासी एवं चिसो खानाले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । जाडोमा बालबालिकालाई फलफूल दिइँदैन तर यतिबेला पनि उनीहरूलाई पर्याप्त फलफूल दिनुपर्छ । चिसो लाग्ने डर छ भने तातोपानीमा डुबाएर भए पनि फलफूल ख्वाउनुपर्छ ।

यो मौसममा सुन्तला, मौसमजस्ता रेसादार फलफूल ख्वाउनु उपयुक्त हुन्छ । बालबालिकालाई जंक फुडबाट जोगाउनुपर्छ । यस्ता खाद्यपदार्थले पेट त भरिन्छ तर शरीरलाई आवश्यक पौष्टिक आहार पुग्दैन । फलस्वरूप युवावस्थामै मधुमेह, उच्चरक्तचाप, मोटोपनजस्ता समस्याको सिकार हुनुपर्छ ।

 Image