Successfully Copied

अन्जली लामाको छलाङ नेपाली रनवेबाट लेक्मे फेसन वीकमा

नविन वाईवा देखि ट्रान्सजेन्डर अन्जली लामा र पहिलो ट्रान्सजेन्डर मोडल हुँदै सुपर मोडल अन्जली लामाको परिचय कमाउँदा, अन्जलीले सपना देख्नेहरु अगाडि बढ्छन्, अगाडि बढ्न चाहनेहरु हार मान्दैनन्, हार नमान्नेहरु असफलता देखि डराउँदैनन् र डर नमान्नेहरुले नै जित सुनिश्चित गर्छन् भन्ने कुरालाई यथार्थमा देखाएकी

नविन वाईवा देखि ट्रान्सजेन्डर अन्जली लामा र पहिलो ट्रान्सजेन्डर मोडल हुँदै सुपर मोडल अन्जली लामाको परिचय कमाउँदा, अन्जलीले सपना देख्नेहरु अगाडि बढ्छन्, अगाडि बढ्न चाहनेहरु हार मान्दैनन्, हार नमान्नेहरु असफलता देखि डराउँदैनन् र डर नमान्नेहरुले नै जित सुनिश्चित गर्छन् भन्ने कुरालाई यथार्थमा देखाएकी छिन् । आजको मितिमा अन्जली लामाको नाम नेपाली मोडलिङ क्षेत्रमा अपरिचित नाम होइन । यो परिचय अब झन् विस्तारित हुादैछ, कारण उनको छलाङ नेपाली फेसन शोको रनवे बाट भारतको चर्चित फेसन सप्ताह लेक्मे फेसन वीकमा हुने निश्चित भएको छ ।

अन्जलीको जन्मथलो नुवाकोट हो । नविन वाईवा नामको बालकको रुपमा प्रारम्भिक परिचय बोकेकी अन्जली उच्च शिक्षा हासिल गर्न काठमार्डौं प्रवेश गरेसंगै लिङ्ग परिवर्तन गरी अन्जली लामाको नामबाट व्यवसायिक यात्रा प्रारम्भ गरेकी हुन् । उनको प्रारम्भिक जीवन देखि परिवर्तित परिचयको जीवनसम्म यात्रा र त्यसका लागि उनले गरेको संघर्ष, सामना गरेको चुनौति र त्यसमा उनको दृढ संकल्प, निरन्तर मिहेनत तथा इच्छा शक्तिले प्राप्त गरेको सफलताको सेरोफेरो उनी माथि केन्द्रित ‘अन्जली, लिभिङ इन्साइड, समवन् एल्स स्किन’ नामक वृत्तचित्र पनि बनेको छ । ५० मिनेटको वृत्तचित्रलाई मोहन राईले निर्देशन गरेका हुन् ।

गत डिसेम्बर १४ तारिखमा सम्पन्न अडिसनबाट चयन भएसंगै अन्जली आगामी फेब्रुअरीमा संचालन हुने लेक्मे फेसन सप्ताहको समर रिसोर्ट कलेक्सन २०१७ का लागि मोडलका रुपमा निश्चित भएकी हुन् । उनी संगै सो फेसन सप्ताहका लागि नयाा अनुहारका रुपमा दिव्या जाधव, एश्वर्या शेरान, सान्द्रा सियोनेली र टाटीयाना पोलिच्छुक चयन भएका हुन् । लेक्मे फेसन सप्ताहको समर रिसोर्ट २०१७ श्रृङ्खला आगामी फेब्रुअरी १ तारिख देखि ५ सम्म मुम्बई स्थित बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो गार्डेनमा संचालन हुनेछ । 

सन् २००७ मा मिस पिन्क प्रतियोगिताको प्रतियोगि भएसंगै मोडलिङ दुनियाँको यात्रा तय गरेकी अन्जलीले सन् २००८ को प्रारम्भतिर साइबरसंसार डटकममा फोटोसुट गरेसंगै उनको मोडल परिचय विस्तारै झाङ्गिदै गएको हो । उनले यसवीचमा द र्‍याम्प मोडलिङ एजेन्सीमा कोरियोग्राफर रोजिन शाक्यबाट व्यवसायिक मोडलिङको प्रारम्भिक प्रशिक्षण पनि प्राप्त गरेकी थिइन् । नमूना कलेजको ग्राजुएसन फेसन शो, ट्रेन्डसेटर्स, क्लासिक डायमण्ड ज्वेलरी शो, एन् भोग, डिजाइनर्स रनवे लगायत नेपाली रनवेका प्राय: सबै महत्वपूर्ण र उल्लेखनीय फेसन कार्यक्रमहरुमा क्याटवाक गरिसकेकी अन्जली लामा अग्लो जिउडाल, आकर्षक विरालो चाल, आत्मविश्वास र मोडल एटीट्युडले भरिपूर्ण प्रस्तुतिका लागि चिनिन्छिन् । 

आफ्ना हरेक प्रस्तुतिमा क्रमिक रुपले निखारिंदै र प्रभावकारी हुँदै गएकी अन्जलीको परिचय नेपालकै पहिलो ट्रान्सजेन्डर रनवे मोडलका रुपमा पनि स्थापित छ । बलिउड फेसन डिजाइनरको काठमाडौंस्थित आउटलेट पनासे रनवेको ब्रान्ड फेश समेत रहिसकेकी अन्जलीका तस्वीरहरुले वेभ, वाउ, म्युज, एम एण्ड एस, नभ्यता लगायतका म्यागाजिनहरुको कभर पेजको पनि शोभा बढाइसकेको छ । 

 Image