Successfully Copied

गर्भावस्थामा सौन्दर्य

गर्भावस्थामा अधिकांश महिलाको अनुहारको छाला उज्यालो र चम्किलो देखिन्छ । कसै…कसैको छाला भने गर्भधारणपछि अचानक सुख्खा र चमकहीन हुने, चायाँ–पोतो आदि आउने समस्या हुन्छ । कसैकसैको छाला एकदमै सुख्खा वा चिल्लो पनि हुनसक्छ ।

गर्भावस्थामा अधिकांश महिलाको अनुहारको छाला उज्यालो र चम्किलो देखिन्छ ।  कसै…कसैको छाला भने गर्भधारणपछि अचानक सुख्खा र चमकहीन हुने, चायाँ–पोतो आदि आउने समस्या हुन्छ ।  कसैकसैको छाला एकदमै सुख्खा वा चिल्लो पनि हुनसक्छ  । त्यसैले गर्भावस्थामा छालालाई पूर्ववत् राख्न, नरम एवं ताजगीपूर्ण बनाउन विभिन्न उपाय अपनाउनुपर्छ । गर्भवतीहरूले विशेषगरी राति सुत्नुअघि र बिहान उठिसकेपछि आफ्नो छालाको हेरविचार गर्नुपर्छ । 

सधैं सुत्नुअघि मेकअप रिमुभ गर्ने । मेकअप रिमुभ नगर्दा रौंछिद्रहरू बन्द भै दाग–धब्बा देखा पर्नसक्छन् । हरेक दिन राति सुत्नुअघि राम्रो क्लिन्जरले अनुहार क्लिन्जिङ गर्ने । बिहान मेकअप गर्नुअघि अनुहार सफा गर्ने । क्लिन्जर प्रयोग गरेपछि हल्का टोनर वा फ्रेसनर प्रयोग गर्ने । छालाको रुखोपन रोक्न वा छालामा नरम एवं चिल्लोपन कायम राख्न राम्रो मोइस्चराइजर प्रयोग गर्ने । यसले अनुहारको चाउरी नियन्त्रण गर्नुका साथै अनुहार चम्किलो एवं उज्यालो बनाउँछ । 

मोइस्चराइजरले अनुहारको छालाको प्राकृतिक चमक पनि कायम राख्छ । गर्भावस्थामा कतिपय अवस्थामा आफूले नियमित रूपमा प्रयोग गर्ने डे–क्रिमहरू वा अरु मेकअपका प्रसाधन परिवर्तन गर्नुपर्ने हुनसक्छ किनभने यो अवस्थामा छालामा परिवर्तन आइरहेको हुन्छ । गर्भावस्थामा पूरै नौ महिना छाला एकैनासको नहुनसक्छ तसर्थ छाला परिवर्तन भएसँगै  सौन्दर्य प्रसाधनमा पनि परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो अवस्थामा प्राय:जसो चायाँ–पोतो आउने हुनाले खानपिनमा पनि पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । गर्भावस्थामा छाला बढी संवेदनशील हुने हुँदा बढी धूलो, धूवाँ तथा छायाँमा हिँड्नु हुँदैन । 

गर्भावस्थामा पर्ने स्ट्रेच माक्र्सबाट जोगिन तीन महिना पूरा भैसकेपछि राति सुत्ने बेला भिटामिन ‘ई’ युक्त तेलद्वारा पेटमा हल्का हातले नियमित मसाज गर्ने । एक चम्चा मह, एक चम्चा मुल्तानी माटो तथा एक चिम्टी कपूर मिसाएर पानीमा प्याकका रूपमा लगाउँदा पनि गर्भावस्थामा देखापर्ने चायाँ–पोतो कम हुन्छ । खानाको सीधा असर अनुहारको छालामा देखिन्छ जसले आन्तरिक स्वास्थ्यलाई समेत दर्साउँछ तसर्थ गर्भावस्थामा पौष्टिक एवं स्वस्थ खानामा ध्यान पुर्‍याउनुपर्छ । खानामा पर्याप्त मात्रामा फलफूल, हरियो तरकारी, वनस्पति तेल, घिउ, गेडागुडी, अण्डा, दूध, माछा, हलुका अन्न आदि प्रयोग गर्नुपर्छ । 

रेसावाला फलफूल तथा तरकारीले शरीरमा भएका विषालु पदार्थ बाहिर निकाल्न मद्दत गर्नुका साथै रगत पनि सफा राख्ने हुनाले बढी मात्रामा फलफूल एवं तरकारी सेवन गर्नु उपयुक्त हुन्छ । दिनमा कम्तीमा ६–७ गिलास पानी पिउनुपर्छ जसले अनुहारको छालाको रंग सफा राख्छ । 

 (पुरानो बानेश्वरस्थित  शृंगार घरकी  सुषमा रावल श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित लेख )

 Image