Successfully Copied

मिडियामा लाग्न घरमा संघर्ष नै गर्नुपर्‍यो

टेलिभिजनबाट टाढिएको वा छोडिहालेको चाहिँ होइन तर चलचित्रमा व्यस्त हुनुपर्ने र अर्काे मनोरञ्जक कार्यक्रम चलाउन व्यस्त हुनुपरेका कारण केही समयका लागि ब्रेक लिएकी हुँ ।

सुरक्षा पन्त, नायिका तथा भिजे

अहिले केमा व्यस्त हुनुहुन्छ ?

धनपति चलचित्रको वर्कसपमा व्यस्त छु । 

टेलिभिजनबाट बिदा लिनुभएको हो ?

टेलिभिजनबाट टाढिएको वा छोडिहालेको चाहिँ होइन तर चलचित्रमा व्यस्त हुनुपर्ने र अर्काे मनोरञ्जक कार्यक्रम चलाउन व्यस्त हुनुपरेका कारण केही समयका लागि ब्रेक लिएकी हुँ ।

कस्ता कार्यक्रम लिएर काँचको पर्दामा आउने रहर छ ?

सुरुमा अनुभवका लागि मनोरञ्जक कार्यक्रम संचालन गरियो तर उमेर वृद्धिसँगै विकसित परिपक्वताले बौद्धिक कार्यक्रमतर्फ रुचि बढेको छ ।

त्यसो भए अब सुरक्षाले बौद्धिक कार्यक्रम लिएर टेलिभिजनमा आउँदा अचम्म मान्नुपरेन ?

पक्कै पनि, अब म छुट्टै पृष्ठभूमिको सामाजिक कार्यक्रम लिएर आउँदैछु । 

आफूले पढेको इन्जिनियर क्षेत्रमा काम नगर्ने ?

सुरुमा दुई वर्ष त साइट सुपरभाइज गरें अब चाहिँ स्नातकोत्तर गर्ने योजना छ । अहिले उमेर र जोस हुन्जेल आफूमा भएको प्रतिभा र रुचिको क्षेत्रमा योगदान दिने हो तर पछि त इन्जिनियरिङमै लाग्नेछु ।

आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

हरेक समय नयाँ काम गर्न चाहने तथा कुनै एउटा काममा केन्द्रित भएर बस्न नसक्ने व्यक्ति । 

पढाइभन्दा भिन्न क्षेत्रमा लाग्दा घरबाट कुनै रोकटोक भएन ?

पहिले त धेरै नै गाली खानुपथ्र्यो । मिडियामा लाग्न घरमा संघर्ष नै गर्नुपर्‍यो । अहिले पनि घरमा इन्जिनियरिङमा मात्र लागे हुन्थ्यो भन्नुहुन्छ ।

चलचित्र क्षेत्रमा क–कसबाट प्रभावित हुनुहुन्छ ?

साइनो, सम्झना, अल्लारे आदि चलचित्रले मलाई प्रभाव पारे । म सानैदेखि नृत्य, कला, गीत एवं अभिनयमा सक्रिय थिएँ । अहिलेका दयाहाङ राई, सौगात मल्लदेखि लिएर थुप्रै नयाँ कलाकारबाट प्रभावित छु । अहिले आएका कलाकारमा नेचुरल अर्गानिक तथा वेस्टर्न स्वाद दुवै भएकाले बढी प्रभावित छु । 

चलचित्र क्षेत्रको अनुभव कस्तो रह्यो ?

कलाकारिता खुल्ला क्षेत्र हो । क्षमता छ भने यहाँ राम्रोसँग लाग्न र टिक्न सकिन्छ । 

 Image