Successfully Copied

युवा आशा

भनिन्छ, युवापुस्तामा जोस, जाँगर अनि कामप्रतिको लगाव बढी हुन्छ । केही नयाँ सिकौं र गरौं भन्ने सोच पनि युवापुस्तामै हुन्छ । अहिले नेपाली युवा जमातमा एक किसिमको निराशा एवं विदेशी भूमिप्रतिको मोह पनि देखिन्छ । भ

भनिन्छ, युवापुस्तामा जोस, जाँगर अनि कामप्रतिको लगाव बढी हुन्छ । केही नयाँ सिकौं र गरौं भन्ने सोच पनि युवापुस्तामै हुन्छ । अहिले नेपाली युवा जमातमा एक किसिमको निराशा एवं विदेशी भूमिप्रतिको मोह पनि देखिन्छ । भविष्यका कर्णधार युवाहरू ठूलो संख्यामा विदेसिइरहेका छन् । स्वदेशमा योग्यताअनुरूप काम तथा अन्य अवसरको अभावले गर्दा युवापुस्ता उच्च शिक्षाका लागि विदेश जाने र उतै बस्ने काममा अग्रसर छ । यद्यपि अहिले पनि कतिपय युवा देशमै केही गर्नुपर्छ भनेर लागिरहेका छन् । प्रतिभा र क्षमता भए विश्वको जुनसुकै कुनामा बसेर पनि आफूलाई चिनाउन सकिन्छ भने किन विदेसिनुपर्‍यो भन्ने मान्यता बोक्ने युवाहरू पनि उत्तिकै छन् ।

इन्टरनेट तथा सामाजिक सञ्जालका कारण साँघुरिएको विश्वमा नेपालमै रहेर पनि नयाँ काम गरी आफूलाई चिनाउन र सेटल हुन सकिने उदाहरण बन्न चाहन्छन् यस्ता युवाहरू । फलस्वरूप राजनीतिक, सामाजिक आदि क्षेत्रका साथै कला, गायन, चलचित्र, नृत्य, आइटी, फेसन डिजाइनिङ, मेकअप आर्टजस्ता सिर्जनात्मक क्षेत्रमा युवा सहभागिता बढ्न थालेको छ ।

सपना पौडेल महर्जन, चित्रकार

सानैदेखि पेन्टिङमा रुचि राख्ने सपना पौडेल महर्जन परम्परागत चित्रकलाकी सर्जकका रूपमा लोकप्रिय हुँदैछिन् । काठमाडौंकी सपनाले विवाहपछि आफ्नो रुचिलाई मूर्तरूप दिने अवसर प्राप्त गरिन् । काष्ठमण्डप आर्ट स्टुडियोबाट एड्भान्स कोर्स गरेकी सपना अहिले पौराणिक पौभा आर्टिस्ट दीपककुमार जोशीसँग कला सिक्दैछिन् । उनले युट्युबबाट पनि धेरै कुराको ज्ञान लिएकी छिन् । सपनाले गत वर्ष आर्ट काउन्सिलमा आफ्नो एकल प्रदर्शनी गरेकी थिइन् । त्यतिबेला धेरै चित्र बिक्री गरेकी सपना अहिले फेसबुक फ्यान पेजमार्फत तथा अनलाइन अर्डर लिई विदेशमा समेत आफ्ना चित्र बिक्री गरिरहेकी छिन् । उनका प्राय: चित्र भगवान् र संगीतसँग सम्बन्धित हुन्छन् ।

चित्रकारितामा लाग्ने युवतीहरूको संख्या उल्लेख्य रहे पनि परम्परागत शैलीको चित्रकलामा भने कलाकारहरूको कमी भएको सपना बताउँछिन् । केही कठिन मानिने यो विधामा लागेपछि आफूलाई अन्य चित्रप्रति त्यति रुचि नभएको सपनाको तर्क छ । सपना आफूले बनाएका हरेक चित्र केही दिनमै बिक्री हुने हुँदा प्रदर्शनी गर्न पनि गार्‍हो भैरहेको अनुभव सुनाउँछिन् । यसबाट नामका साथै धन पनि कमाउन सकिने उनको धारणा छ ।

सपना भन्छिन्–‘परम्परागत शैलीमा केही आफ्नो टेस्ट दिई नयाँपन दिने हो भने नाम र दाम कमाउन सजिलो छ तर यसका लागि पर्याप्त धैर्य, मेहनत तथा वर्तमान ट्रेन्डको जानकारी आवश्यक हुन्छ । नेपाली कला क्षेत्र अन्तर्राष्ट्रिय रूपमै पनि रुचिको विषय बनिरहेको सन्दर्भमा युवाहरूका लागि यो क्षेत्र निकै आशालाग्दो छ ।’

 Image