Successfully Copied

रोकिएन चेलीबेटी बेचबिखन

चेलीबेटी ओसार–पसार तथा बेचबिखनका विरुद्ध सुरक्षा निकायसँगै धेरैवटा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरे पनि मानव तस्करी तथा बेचबिखन रोकिएको छैन । नेपाली चेली भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुकमा बेचिने क्रम बढेको छ ।

चेलीबेटी ओसार–पसार तथा बेचबिखनका विरुद्ध सुरक्षा निकायसँगै धेरैवटा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरे पनि मानव तस्करी तथा बेचबिखन रोकिएको छैन । नेपाली चेली भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुकमा बेचिने क्रम बढेको छ । पछिल्लो एक वर्षमा रूपन्देहीको बेलहिया नाकाबाट भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुक लान लागिएका २ सय ८७ जनाको उद्धार गरिएको छ । माइती नेपाल आवधिक गृह भैरहवाका अनुसार एक वर्षमा २ सय ५१ जना महिला तथा ३६ जना बालकलाई उक्त नाकाबाट उद्दार गरिएको हो । तीमध्ये केहीलाई भारतका विभिन्न स्थानबाटै उद्धार गरी फर्काइएको आवधिक गृहकी प्रमुख प्रभा खनालले बताइन् । प्रहरी तथा चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने संघसंस्थामा परेका उजुरी तथा उद्धारका घटनालाई केलाउने हो भने दलालले चेलीबेटी फकाउने र सुरक्षा निकायको आँखामा छारो हाल्ने शैली र बेचबिखनको गन्तव्य फेरेका छन् ।

नेपाली महिला पहिले पैसाको प्रलोभनमा भारतका कोठीमा बेचिन्थे । अहिले भारतको बाटो हुँदै तेस्रो मुलुक पुर्‍याइन्छन् । खाडी मुलुकमा अधिकांशलाई यौनधन्दामा लगाउने र कतिपयको घरेलु कामदारकै रूपमा यौन शोषण हुने उद्धार गरिएकाहरूको बयानबाट खुलेको छ । प्रहरीका अनुसार चेलीबेटी बेचबिखनका सबैजसो घटनामा मोबाइल फोनको दुरुपयोग भएको छ । मोबाइलबाटै माया–प्रेमको नाटक गरिएको छ । दलालले सुरुमा अति विपन्न समस्याबाट गुज्रिरहेका तथा सुविधाभोगी जीवनको महत्वाकांक्षा बोकेका महिलाको पहिचान गर्छन् । उनीहरूलाई प्रलोभनमा पार्छन् । माइती नेपालका प्रमुख खनालका अनुसार मोबाइल वा आफन्तमार्फत युवतीसँग नजिकिने, प्रेमको नाटक गर्ने र तेस्रो मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाई बोर्डर कटाइएका घटना धेरै छन् । 

अभाव, गरिबी, बढ्दो सहरीकरण तथा तडकभडक र त्यसको देखासिकीसँगै फेसबुकको दुरुपयोग चेलीबेटी बेचबिखनको मुख्य कारण भएको बताउँछन् रूपन्देही प्रहरीका महिला सेल इन्चार्ज प्रहरी नायव निरीक्षक लक्ष्मण विक । चेलीबेटी बेचबिखन र उद्धारका थुप्रै घटना भए पनि न्यायका लागि प्रहरी र अदालतसम्म पुगेका घटना भने निकै कम छन् । घटना सार्वजनिक हुँदा पीडितलाई समाजमा पुनस्र्थापना हुन समस्या हुने एवं मान–प्रतिष्ठा घट्ने डरले दोषीविरुद्ध उजुरी गरिँदैन ।

 Image