Successfully Copied

महिनावारी बार्नु कति उचित ?

महिनावारी प्राकृतिक नियम हो । यससम्बन्धी उचित ज्ञानको अभावमा धेरैका लागि महिनावारी समस्या बनिरहेको छ । यसले गर्दा महिलाहरू शारीरिक तथा मानसिक पीडा खेप्न बाध्य छन् । महिलाको निश्चित उमेर (९ देखि १६ वर्ष ) पुगेपछि यो प्रक्रिया प्रारम्भ हुन्छ ।

महिनावारी प्राकृतिक नियम हो । यससम्बन्धी उचित ज्ञानको अभावमा धेरैका लागि महिनावारी समस्या बनिरहेको छ । यसले गर्दा महिलाहरू शारीरिक तथा मानसिक पीडा खेप्न बाध्य छन् । महिलाको निश्चित उमेर (९ देखि १६ वर्ष ) पुगेपछि यो प्रक्रिया प्रारम्भ हुन्छ । पहिलोपटक महिनावारी हुँदा घरका पुरुषको अनुहार तथा घाम हेर्नु हुँदैन भनेर ७ दिन लुकाउने तथा आफ्नो घरमा बस्नु हुँदैन भनेर आफन्तको घरमा लगेर लुकाउने चलन अहिले पनि छ । एकाथरिले अहिलेको समयमा त्यसो गर्नु उचित होइन भनेर यसलाई मान्न छोडिसकेका छन् भने अर्काथरि यसलाई पहिलेदेखि चलिआएको चलन भनेर निरन्तरता दिइरहेका छन् । कतिले यसका बारेमा उचित ज्ञानको अभावमा भ्रम पालिरहेका छन् भने कतिपयले यो केही होइन महिलाको हार्मोनल परिवर्तनका कारण यस्तो भएको हो भन्दै आएका छन् । 

ज्ञानु क्षेत्री,समाजशास्त्री, पाटन संयुक्त क्याम्पस

समाजमा अनेकौं मूल्य–मान्यता एवं विभिन्न किसिमका विविधता हुन्छन् । एकाथरिले महिनावारी हुँदा बार्नुपर्छ, खाना पकाउनु हुँदैन भन्छन् भने अर्काथरी यो महिलाको शरीरमा हुने हार्मोनल परिवर्तनका कारण सिर्जित प्राकृतिक प्रक्रिया हो भन्छन् । पहिलेदेखि चलिआएका मूल्य–मान्यता रातारात परिवर्तन हुँदैनन् । त्यसका लागि केही समय लाग्छ । कुनै पनि कुरा परिवारबाट सिक्दै जाने हो । पहिलेदेखि चलेका राम्रा कुरा अनुसरण गर्दै तथा नराम्रा कुरा छोड्दै जानुपर्छ ।

महिनावारीमा अलग्गै सुताउनु वा जाडोमा चिसो भुईंमा सुताउनु उपयुक्त होइन त्यसले स्वास्थ्यमा असर गर्छ । त्यसैले यस्ता कुरा त्याग्नुपर्छ । यो प्राकृतिक कुरा भए पनि मन्दिर जान भगवान् छुन भने अलि हिच्किचाइन्छ । कुनै पनि कुरा झट्ट परिवर्तन हुन सक्दैन, त्यसका लागि समय लाग्छ । जे भए पनि महिनावारीलाई साधारण रूपमा लिनुपर्छ । यसलाई ठूलो इस्यु बनाउनु उपयुक्त होइन ।

शर्मिला अर्याल, व्यवसायी

पहिलोपटक महिनावारी हुँदा लुकाउनुपर्छ, यो समयमा बार्नुपर्छ भन्ने कुरा सबै ठीक हुन् । कुनै पनि कुरा ठीक हुँदैनथ्यो भने पहिलेदेखि चलिआउँदैनथ्यो । कुनै पनि कुराको पछाडि त्यसको अर्थ हुन्छ । समाजमा चलिआएको चलनलाई निरन्तरता दिनुपर्छ । अहिले मानिसैपिच्छेका कुरा र चलन चलेका छन् जुन ठीक होइन । अहिले कतिपयले महिनावारी हुँदा पनि खाना बनाउँछन् । यसो गर्नु ठीक होइन । म महिनावारीको समयमा गर्नुहुँदैन भनिएका कुनै पनि काम गर्दिन ।

पहिलेदेखि चलिआएको यस्तो चलन पूरै बेठीक हो भनेर त्याग्न यससम्बन्धी के–कस्ता विज्ञानसम्मत अध्ययन–अनुसन्धान भए त ? यो शतप्रतिशत झूटो हो भनेर विज्ञानसम्मत पुष्टि नभएसम्मका लागि म महिनावारी नियमित बार्छु र आफ्नी छोरीलाई पनि त्यही सिकाउँछु । म संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्छ भन्ने पक्षमा छु । महिनावारीमा कतै छोइए पनि पाप नलागोस् भनेर ऋषिपञ्चमीमा पूजा गरिन्छ, महिनावारी नबार्ने हो भने ऋषिपञ्चमीमा पनि पूजा नगरे भैहाल्यो नि । महिनावारीमा महिलालाई केही गार्‍हो हुने भएकाले आराम दिन घरधन्दाबाट टाढा राखिएको हो भनेर बुझ्न के आपत्ति ? त्यसैले आफ्नो संस्कृतिलाई निरन्तरता दिनुपर्छ । कुनै वैज्ञानिक आधारबिना परम्परागत मूल्य–मान्यता सबै बेठीक हुन् भन्नु गलत हो । म त्यसो गर्न सक्दिन ।

डा. वीणा पौड्याल,संस्कृतिविद्

महिनावारीमा बार्नुपर्छ भन्ने कुरा पहिलेका धर्मशास्त्रमा कतै उल्लेख थिएन । पछिका धार्मिक ग्रन्थहरूमा भने यी कुरा समेटिएका छन् । सामान्यत: महिनावारीको कुरा गर्दा महिलाले चार दिनसम्म आराम गर्न पाउनुपर्छ । त्यो समयमा कतिपय महिलालाई गाह्रो हुन्छ भनेर आराम दिन त्यो नियम बनाइएको हो । बाहुन–क्षेत्रीकहाँ पहिलोपटक महिनावारी हुँदा पहिले २२ दिन लुकाउने चलन थियो भने अहिले ७ दिन लुकाउने चलन छ । नेवारी परम्परामा पहिलोपटक महिनावारी हुनुभन्दा केही वर्ष पहिले बेलविवाह गर्ने चलन छ । त्यही समयमा उनीहरूलाई महिनावारीसम्बन्धी जानकारी दिइन्छ ।

महिला तथा पुरुषको विभेदका बारेमा पनि ज्ञान दिइन्छ । सबै किशोरीलाई महिनावारीसम्बन्धी ज्ञान विद्यालयमै दिनु पनि आवश्यक भैसकेको छ । अहिले धेरैजसोले महिनावारी बार्न छोडिसकेका छन् । कतिपय ठाउँमा महिनावारी भएको समयमा प्रवचन तथा भजनमा नुहाइ–धुवाइ गरेर जान थालिएको छ । यो समयमा अझ बढी  सन्तुलित खाना खानुपर्छ भने आरामको पनि जरुरत पर्छ ।

कृति ढुंगाना विद्यार्थी, डिल्लीबजार कन्या क्याम्पस

पहिलोपटक महिनावारी हुँदा ७ दिन लुकाउने चलन थियो । जुन चलनको प्रयोग मैले पनि गरें । त्यसपछिका १ वर्षसम्म महिनावारी भएका बेला १५ दिन जति बार्नुपरेको थियो । पहिले–पहिले घरमा ममीहरूले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर सिकाउनुभयो । त्यही कुरा मान्दै गएँ । पछि बुझ्दै जाँदा महिनावारी महिलामा हुने नियमित प्रक्रिया हो भन्ने थाहा पाएँ । रगत बग्दा फोहोरी हुने, महिनावारीको समयमा पेट दुख्ने भएकाले आरामका लागि केही कुरा बार्नु ठीक हो । पहिले शिक्षा तथा जनचेतनाको कमीका कारण अलग्गै चिसो भुइँमा, गोठमा सुताइन्थ्यो ।

समाजमा बसेपछि त्यसको मूल्य–मान्यता पनि मान्नुपर्छ । यो महिलालाई अप्ठ्यारो हुने प्राकृतिक कुरा हो भनेर स्वीकार गर्न हाम्रो समाजले अझै सकेको छैन । मेरो हिसाबमा भन्नुपर्दा एक्लै हुँदा मैले महिनावारीमा समेत खाना पकाएकी छु । खानेकुरा झिकेर पनि खाएकी छु । मन्दिर भने गएकी छैन तर घरमा अरु सदस्य भएका बेला चार दिनसम्म बार्ने गरेकी छु । जे भए पनि महिनावारीलाई स्वाभाविक रूपमा लिनु आजको आवश्यकता भैसकेको छ ।

कल्पना भण्डारी, सञ्चारकर्मी

मैले महिनावारी नबारेको १२–१३ वर्ष भैसकेको छ । पहिलोपटक महिनावारी हुँदा भने घरतिर भएकाले परिवारको इच्छाबमोजिम नै लुकेर बसेकी थिएँ । अहिले आएर बुझ्दा यो त प्राकृतिक कुरा हो बेकारमा यी सब गरेछु जस्तो लाग्छ । महिनावारी हुँदा खाना पकाउनु हुँदैन भन्ने थियो । पढाइ तथा कामको सिलसिलामा एक्लै बस्दा महिनावारी बार्ने कुरा सम्भव भएन । त्यसैले आफैं खाना पकाउन थालें । घरमा जाँदा पनि पकाउँथें । ममीले यसो गर्नु हुँदैन भने पनि पछि आफैं कन्भिन्स हुनुभयो भने आफैं महिनावारी हुँदासमेत खाना पकाउन थाल्नुभयो ।

हार्मोनल कारणले हुने महिनावारीलाई ठूलो इस्यु बनाइनु हुँदैन । हाम्रो समाज अझै पनि महिनावारीका विषयमा लचिलो हुन सकेको छैन । यो समयमा फलफूल छुनु हुँदैन, अचार छोए कुहिन्छ भन्ने मान्यता पनि वाहियात हो । महिनावारी महिलाको शारीरिक बनावटअनुसार हुने कुरा हो भन्ने तथ्य थाहा पाउँदा–पाउँदै पनि मैले अहिलेसम्म भगवान्को मूर्ति–फोटो आदि भने छुन सकेकी छैन । पछि गएर यो सब पनि गर्न सकिन्छ होला ।

 Image