Successfully Copied

अफिसमा कस्तो हुनुपर्छ व्यवहार

अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । व्यवहारकै कारण प्रिय वा अप्रिय हुने भएकाले राम्रो व्यवहार गरेर सबैको प्रिय बन्न सकिन्छ ।

अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । व्यवहारकै कारण प्रिय वा अप्रिय हुने भएकाले राम्रो व्यवहार गरेर सबैको प्रिय बन्न सकिन्छ । बानी–व्यवहारमा कमी–कमजोरी भए तिनलाई हटाएर वा सुधारेर कार्यक्षेत्रका साथीभाइसँग मिलेर बस्ने बानीको विकास गर्नुपर्छ । 

अफिस समयको ख्याल 

अफिसमा समयमै पुग्नुपर्छ । विशेषगरी कार्यक्षेत्रमा हुने जरुरी मिटिङका लागि सजग रहनुपर्छ । अफिसमा हुने जुनसुकै मिटिङमा समयमै पुग्नु आवश्यक छ । 

सानो स्वरमा कुराकानी

अफिसमा सानो स्वरमा कुराकानी गर्नुपर्छ । साथीभाइको फोन आयो भने सानो स्वरमा कुराकानी गर्नुपर्छ । ठूलो स्वरमा कुरा गर्दा वरिपरिका मानिसहरूलाई बाधा हुन्छ । 

मोबाइल 

अफिस पुगेपछि मोबाइल साइलेन्ट मोडमा राख्नुपर्छ । मोबाइल रिङटोनमा छ भने आवाज कम गर्नुपर्छ । आफ्नो सिटबाट उठ्दा मोबाइल लिन बिर्सनु हुँदैन । कुनै जरुरी तथा व्यक्तिगत फोन उठाउनु छ भने अरूले नसुन्ने ठाउँमा गएर उठाउनुपर्छ । मिटिङ, वर्कसप तथा सेमिनारहरूमा मोबाइलको स्वीचअफ गर्नुपर्छ । अनावश्यक रुपमा अफिसको फोन प्रयोग गर्नुहुँदैन । 

डेस्कको सफाइ 

घरजस्तै आफ्नो कार्यक्षेत्रको सरसरफाइमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । आफ्नो अफिस सधैं सफा राख्नुपर्छ । आफ्नो डेस्कमा पेपर तथा अन्य वस्तु मिलाएर राख्नुपर्छ । आफू बस्ने कोठा सफा राख्दा काममा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । 

लन्च 

अफिसमा क्यान्टिन छ भने केही फरक पर्दैन तर घरबाटै टिफिन लगेर अफिसमा खाने गरिएको छ भने खाना खाएपछि डेस्क सफा गर्नुपर्छ । बाहिरबाट लन्च बक्स मगाउने भए गन्ध नआउने खालको लन्च मगाउनुपर्छ । खाना खाँदा मुखबाट आवाज निकाल्नु हुँदैन । 

आत्मप्रशंसाबाट टाढा

आफ्नो प्रशंसा आफैले गर्नु हुँदैन । त्यसको साटो आफ्ना सहकर्मीको कामको बयान गर्नुपर्छ । आफ्ना कनिष्ठहरूको कामको जिम्मेवारी आफूले लिनु हुँदैन । 

ड्रेसिङ सेन्समा ध्यान 

अफिस आउँदा भड्किलो पहिरन लगाउनु हुँदैन । प्रोफेसनलाई ध्यान दिएर आफ्नो पहिरन छनोट गर्नुपर्छ । कार्यक्षेत्रमा आउँदा बढी वासना आउने परफ्युमको प्रयोगबाट जोगिनुपर्छ । 

आवश्यक कुराकानी 

आफ्नो कामका बारेमा चिन्तित रहनुपर्छ र आवश्यक कुराकानी मात्र गर्नुपर्छ । बेकारका कुराकानी गरेर समय खेर फाल्नु हुँदैन । समय बर्बाद गर्नु हुँदैन । आफ्ना साथीभाइहरूसँग गुनासो वा अप्ठ्यारो पर्ने खालका विषयमा विवाद गर्नु हुँदैन । 

हाइजिनमा ध्यान 

शौचालय प्रयोग गरेपछि फ्लस गर्न बिर्सनु हुँदैन । शौचालयको भुइँ पनि सफा राख्नुपर्छ । 

भद्र व्यवहार 

अफिसमा कसैको साथ विशेषगरी पुरुष सहकर्मीहरूसँग भद्दा मजाक गर्नुहुँदैन । कसैप्रति दोहोरो अर्थ लाग्ने किसिमका शब्द पनि प्रयोगमा गर्नु हुँदैन । अफिसमा आयोजना हुने कार्यक्रममा मदिरा प्रयोग गर्नु हुँदैन । 

अरूको सामान माग्ने बानीको त्याग 

आफ्ना साथीभाइको सरसामान माग्नु हुँदैन । सामान साटासाट गरेर प्रयोग गर्नु हुँदैन । उनीहरूको सामान प्रयोग गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

सामान्य शिष्टाचार

कसैको चेम्बरमा जानु छ भने ढोका ढकढकाउनु सामान्य शिष्टाचारभित्र पर्छ । यसलाई पालना गरी सभ्य हुन सकिन्छ । 

 Image