Successfully Copied

स्मार्ट बन्ने मन्त्र

घटना महाअष्टमीको दिनको हो । घरमा जम्मा भएका आफन्तहरू बैठकमा गफ, हाँसोमजाक तथा तासमा रमाइरहेका थिए । भान्सामा विशेष परिकार बन्दै थिए । दसैंका बेला मासु त अनिवार्य पाक्ने भैहाल्यो ।

घटना महाअष्टमीको दिनको हो । घरमा जम्मा भएका आफन्तहरू बैठकमा गफ, हाँसोमजाक तथा तासमा रमाइरहेका थिए । भान्सामा विशेष परिकार बन्दै थिए । दसैंका बेला मासु त अनिवार्य पाक्ने भैहाल्यो । त्यसमा पनि सबैको रोजाइ थियो खसीको मासु । विमलाले छोरा विशेषको हातमा पैसा थमाइन् र खसीको मासु ल्याउन भनिन् । ‘मासु ल्याइदिएपछि त अरू कुनै काम गर्नु छैन । आफू पनि तासमा जम्न पाइन्छ, चंगा उडाउन पाइन्छ ।’ भन्ने सोचेर अबेर नगरी ऊ आफ्नो पल्सर बाइकमा चढ्यो र साथी उमेशलाई साथ लिई जाने मनसायले उसको घरतिर सोझियो । गेटबाहिर बाइक रोकी उसले उमेशलाई बोलायो र भन्यो–‘मासु किन्न जाऊँ न यार ।’

साथीले बचन काट्ने कुरै थिएन । त्यसमा थप विशेषलाई साथीहरू विशेष रूपमै मन पराउँथे । उमेश बाइकपछाडि बसिहाल्यो । बाइक वेगमा कुँद्यो । उनीहरू नाम चलेको मासु पसलमा पुगे । दसैंको बेला मासु पसलमा भीड थियो । ‘बाफ रे यति धेरै मान्छे ? हाम्रो पालो कहिले आउने ?’ विशेषलाई पालो कुर्ने धैर्य भएन । अर्को पसलमा जाऊँ यार । यहाँ त पालो आउला जस्तो छैन भन्दै उनीहरू त्यहाँबाट हिँडे । अर्को पसलमा मात्र किन भीड कम हुन्थ्यो ? पालो नकुरी धरै भएन । त्यही बेला उनीहरूको साथी प्रवीण बाइकमा देखियो । उसको पछाडि एकजना अर्को केटो पनि थियो । ‘कहाँ हिँडेको यार तिमीहरू, मासु किन्न हो ?’ विशेषले सोध्यो ।

‘होइन, हामी त पोखरा जान लागेको । जाम हिँड तिमीहरू पनि’ प्रवीणले भन्यो ‘आफू त यहाँ दसैंको किनमेलमा फसेको छु यार ।’ ‘किनमेल हुँदै गर्छ । राजाबिना राज्य त अड्कन्न जाबो तँ नभएर घरमा मासु पाक्दैन र ?’ ‘आजै पोखरा जानुपर्ने के छ र ?’ ‘नवीनको वर्थ डे हो नि आज थाहा छैन ? स्वीट सिक्सटिन वर्थ डे भनेर उसको ड्याडीले लेक साइटको होटलमा भव्य पार्टी दिँदैछन् रे । क्या दामी होला ? हाम्रो ग्याङका सबै साथीलाई ल्या है भन्या छन् । मस्त खाने, रमाइलो गर्ने हो यार ।’ ‘मासु पुर्‍याइदिऊँ घरमा, अनि जाउँला नि त ।’

‘यस्तो भीडमा तेरो पालो आउँदा त साँझै पर्छ । फेरि चाडबाडको बेला घर पुगेपछि फुत्कन पाइँदैन । मासु जाबो घरका अरूले किनेर लगिहाल्छन् नि । जाऊँ यार ..। सबै साथीहरू जान पाए पो पार्टी जम्छ । हिँड–हिँड धेरै सोच्ने काम छैन । बेलामा मस्ती गर्ने हो... ।’ उमेशले बाइकबाट ओर्लदै पाइन्टको धूलो झार्‍यो र भन्यो–‘बाउ बूढाले दसंैको बेला हिँड्यो भन्दै सातो लिन्छन् भनी डराएको थिएँ । एकछिन बाघझैँ गर्जन्छन् अनि फेरि बाबु....भन्न थालिहाल्छन् के को चिन्ता ? जाऊँ न त हामी पनि जे पर्ला–पर्ला ।’

‘जाऊँ भने जाऊँ ।’ सारा कुरा बिर्सेर विशेषले साथीहरूका साथ पोखरा जाने निर्णय गर्‍यो ।

उता घरमा आमा लसुन, अदुवा कुटी, मसला पिनेर मासु पकाउन तयार भएर बसेकी थिइन् । छोरा अझै आइनपुगेपछि आमा एक्लै बोलिन्–‘दसैंको बेला मासु पसलमा भीड होला । ..निकै बेर लगायो । कतिबेला आइपुग्ने हो ...?’ त्यही बेला तासमा जमेका देवर भान्सामा आएर पाकेका परिकार प्लेटहरूमा राखी बैठकतिर लाँदै मजाकको भाकामा भने–‘मासुको परिकार त विशेषले एक्लै कुना पसी खान थाल्यो जस्तो छ । ल खाँदै गरौँ हामी चाहिँ गेडागुडी र घाँसपात ।’

विशेष घरबाट हिँडेको १ घन्टा बित्यो, २ घन्टा बित्यो तर ऊ आइपुगेन । आमाको मनमा ढ्याङ्ग्रो ठोकिन थाल्यो ।‘किन आएन यति बेलासम्म ? चाडबाडको बेला घरमा पाहुना तथा आफन्त जम्मा भएको थाहै छ त्यसलाई । के भयो होला त ?’ मनमा अनेक शंका–उपशंका उब्जन थाले ।

‘जंगी स्वभावको छ, कतै पसलेसँग झैझगडामा पर्‍यो कि ? बाइक अति वेगले हाँक्छ, कतै एक्सिडेन्टमा पो भयो कि ?’ मनमा त्रासदीको पर्खाल चुलिँदै गयो । मुख सुक्न थाल्यो ।

आमाले विशेषको मोबाइलमा डायल गरिन् । कल उठेन । ऊसँग प्राय:जसो साथ हुने साथीहरूको नम्बरमा पनि पालैपालो डायल गरिन् । कसैले कल रिसिभ गरेनन् । उनी झन्झन् हतास् हुँदै गइन् । उता देवर भन्दै थिए, केही एक्सिडेन्ट भयो भने त ट्राफिक एफएमले तुरुन्त खबर भनिहाल्छ । रेडियो बजाउनुुहोस् न ।’

हरेक कुरालाई हल्का रूपमा लिने देवरको स्वभाव मन पर्दैन विमलालाई । तर के भन्ने यस्तो अवस्थामा ? उनी अधीर बन्दै गइन् । ‘कहाँ गयो छोरो ? के छ उसको अवस्था ?’ डरले मन खिन्न हुँदै गयो । होस हराएझैँ हुन थाल्यो । छोराको खबर लिन पतिलाई भनिन् । हलचल मच्चियो सबैको मनमा । दाइभाइ मोटरबाइकमा चढी यताउता खोजी गर्न थाले तर ऊ कतै देखिएन । फोन सम्पर्कमा पनि आएन । ऊ जानसक्ने सम्भावित आफन्त, साथीसंगीहरूलाई पनि फोन गरे तर विशेषको खबर थाहा लाग्न सकेन ।

जसोतसो भान्सामा परिकार पाक्यो तर विशेष घरमा नभित्रिएका कारण चाडको रमाइलो जम्न सकेन । खाना खल्लो भयो । विमलालाई त खाना खान पनि मन भएन । घरीघरी छोराको त कहिले उसका साथीहरूको मोबाइलमा डायल गरिरहिन् । अपरान्हतिर बल्लबल्ल विशेषले आमाको कल रिसिभ गर्‍यो र भन्यो, ‘म त पोखरामा छु । साथीले वर्थ डे पार्टी मनाउन नआइहुन्न भन्यो... । भोलि बिहानै फर्कन्छु है मम्मी ?’

छोराको स्पष्ट बोलीले आमाको छातीमा बसेको ढुङ्गो सर्लक्क पन्छियो । उनले आँखा चिम्म गरेर दुई हात जोड्दै शिवजीलाई धन्यवाद दिइन्–‘जय शम्भो पशुपतिनाथ...।’ छोराको गैरजिम्मेवार व्यवहारको कुनै मतलब भएन उनलाई । यो घटना पढ्दा मनमा कस्तो सोच आउँछ ? किन गर्‍यो होला विशेषले त्यस्तो काम ? विशेष असल स्वभावको रसिलो केटा हो, तर उसले नजानेको कुरा जिम्मेवारी बहन गर्ने सीप हो । जिम्मेवारी बहन भनेको आफूले पूरा गर्छु भनेको काम अरूको रेखदेखबिना नै पूरा गर्नु हो । एउटा काममा हिँडेको केटो बिनाखबर अर्कोतिर मस्त भै बस्नुले उसमा जिम्मेवारीको बोध हुन नसकेको स्पष्ट हुन्छ । आफूले लिएको जिम्मेवारी बिर्संदा घरमा चाडबाडका बेला सोचेअनुरूप परिकार बन्न नसकेको मात्र होइन छोरा दुर्घटनामा पर्‍यो कि भन्ने त्रासले आमाको मन प्रलय पीडामा छट्पटियो, घरको वातावरण अशान्त रह्यो, चाड खल्लो भयो । जतिसुकै असल भए पनि यस्तो स्वभावको व्यक्ति भरपर्दो मानिँदैन ।

हुन त किशोरावस्थामा धेरैजसो केटाकेटी आफ्नो कामको प्राथमिकता निर्धारण गर्न सक्दैनन् । साथीसंगीहरू नै उनीहरूका लागि सर्वोपरि हुन्छन् । आमाबाबुका कुरा उनीहरू सजिलै काट्छन् तर साथीसंगीको कुरा काट्न सक्दैनन् । यद्यपि आदत जस्तो बनाउने प्रयास गर्‍यो उस्तै बन्छ । लागूपदार्थको सेवन केही दिन गरे नशाको आदत बसी त्यो अनिवार्य भएजस्तै जिम्मेवार बन्ने सोच मनमा राखी काम गरे यही बानी बस्छ र यसैमा आनन्द आउँछ । यसको विपरीत जिम्मेवारी नलिने स्वभाव भए आफूले गरेका राम्रा–नराम्रा कामको ख्यालै रहँदैन । कामको परिणाम लाजमर्दो आउँदा समेत आफूलाई पत्तो हुँदैन ।

जिम्मेवारी जन्मनेबित्तिकै आउने कुरा होइन, उमेरअनुसार सिक्दै जाने कुरा हो । जिम्मेवारी पारिवारिक वातावरण, साथीसंगी तथा संचार माध्यमहरूबाट सिकिन्छ । त्यहाँ राम्रा–नराम्रा दुवैथरी व्यवहार हुन्छन् । जीवनोपयोगी सीपका सम्बन्धमा जानकारी पाएका केटाकेटीले जिम्मेवारी बहन गर्ने सीप सजिलैसँग सिक्छन् ।

किशोरावस्था बाल्यावस्थाभन्दा फरक अवस्था हो । बाल्यावस्थामा केटाकेटीहरू कसैले केही कुरा ललाई–फकाई भने त्यो कुरा मान्छन् । यो उमेरमा उनीहरूको सोच्ने क्षमता हुँदैन । किशोरावस्थामा पुगेपछि साथीले जे भन्यो त्यसैको पछिपछि दौडनुभन्दा सही–गलत के हो सोच्नु र सही निर्णय गर्नसक्नु एउटा कला हो । होसियार व्यक्तिले यो कला आफै सिक्छन् । आफ्नो जिम्मेवारीमा अरूबाट हस्तक्षेप हुन दिँदैनन् । आफूले गरिरहेको काम आफ्नो नियन्त्रणमा राख्छन् ।

आफ्ना सन्तानलाई अभिभावकहरू बेलाबेलामा सल्लाह–सुझाव दिन्छन् तर किशोरावस्थाका केटाकेटीलाई यस्तो व्यवहार मन पर्दैन । साथीसंगीले आफूले जे गर्दा पनि राम्रो भनिदिने तर आमाबाबाले भने कुरा काट्ने हुँदा साथीहरूले मात्र मलाई माया गर्छन् भन्ने सोच मनमा आउँछ । असल छोराछोरीले जहिले पनि आमाबाबासँग राम्रो सम्बन्ध राख्छन् । सही बाटो हिँडेका केटाकेटीले आमाबाबु, परिवारका साथै समाजलाई खुसी दिन सक्छन् । किशोरावस्थाका केटाकेटीको जिम्मेवारी सामान्य हुन्छ ।

आफ्ना छोराछोरीबाट आमाबाबुले चाहने कुरा उनीहरू आफूप्रति इमानदार बनून् भन्ने नै हो । किशोरावस्थाका छोराछोरीले आफ्नो दैनिकी आमाबाबुलाई बताउनु राम्रो हो र आमाबाबुले पनि त्यसलाई महत्व दिई सुन्नु तथा उचित परामर्श दिनुपर्छ । आफू कहाँ कोसँग गैरहेको छु भन्ने कुरा अभिभावकलाई बताए अभिभावकहरूले आफ्ना सन्तानको सुरक्षामा ध्यान राख्न सक्छन् ।

हरेक किशोर–किशोरीमा स्मार्ट बन्ने रहर हुन्छ । त्यस्तो रहर पूरा गर्न जिम्मेवारी लिने र त्यसलाई पूरा गर्ने सीप आवश्यक हुन्छ । जिम्मेवारीको महत्व बुझ्नेले त्यसको प्रयोग सही तरिकाले गर्न सक्छन् । आफूलाई गाह्रो भएको जिम्मेवारी पूरा गर्न अरूको सहयोग लिन जान्दछन् । यथार्थमा किशोरावस्थामा पुगेका छोराछोरीलाई आमाबाबुले सल्लाह दिन सक्छन्, तर आफ्नो चरित्र राम्रो बनाउने मूलमन्त्र उनीहरूको आफ्नै हातमा हुन्छ ।

[email protected]

 Image