Successfully Copied

शिक्षामा आमाको भूमिका

‘आमाको काख नै शिशुको पहिलो पाठशाला हो ।’ यो भनाइ जति प्रचलित छ उति नै सान्दर्भिक पनि । आमाको काखबाट तोतेबोली सिकेका शिशुले त्यहीँबाट जीवन उपयोगी पाठ सिक्छन् ।

‘आमाको काख नै शिशुको पहिलो पाठशाला हो ।’ यो भनाइ जति प्रचलित छ उति नै सान्दर्भिक पनि । आमाको काखबाट तोतेबोली सिकेका शिशुले त्यहीँबाट जीवन उपयोगी पाठ सिक्छन् । शिशुलाई बोल्न, हिँड्न, खेल्न सिकाउने मात्र होइन, समाजका लागि उत्तरदायी बनाउन सिकाउने पनि आमा नै हुन् । आमाको भूमिका यतिमै मात्र सीमित छैन । हुर्कदै गएका आफ्ना सन्तानको पालन–पोषणका साथै शिक्षा दिने काममा पनि आमाको महत्वपूर्ण भूमिका हुन्छ । यतिबेला धेरैका छोराछोरीले एसएलसी परीक्षा सिध्याएका छन् । एसएलसीपछि कस्तो कलेज तथा विषय उपयुक्त होला भन्ने अन्योलमा अल्झिरहेका छोराछोरीलाई आमाले सही दिशा निर्देशन गर्न सक्छिन् । 

छोराछोरीको रुचि 

छोराछोरीलाई कुनै दबाब नदिई, उनीहरूको रुचि एवं क्ष्ँमता मूल्यांकन गरेर उपयुक्त कलेज र विषय छनोटमा सहयोग गर्न सकिन्छ साथै कुन विषय अध्ययनका लागि कुन कलेज राम्रो हो भनेर बुझिदिनुपर्छ। 

घर पायक कलेज 

भरसक घर वा आफू बस्ने ठाउँबाट नजिकैको कलेज खोज्नु राम्रो हुन्छ । नजिकै कलेज छ भने छोराछोरीमाथि निगरानी त राख्न सकिन्छ नै त्यसबाट अरू फाइदा पनि हुन्छ । हिँडेरै कलेज पुग्न सकिन्छ, जसले गर्दा गाडी नचले पनि समस्या हुँदैन । बन्द, हड्ताल हुँदा टाढाका कलेज धाउनेहरूले निकै सास्ती भोग्ने गरेका छन् । कलेज पुग्ने तथा कलेजबाट आउने समयका साथै गाडीमा हुने खर्चसमेत बचत हुन्छ । 

विषय तथा कलेजका बारेमा परामर्श

छोराछोरीले रोजेको विषय कस्तो हो, त्यसको स्कोप कस्तो छ, उक्त विषय अध्ययन गर्न कस्तो क्षमता आवश्यक हुन्छ आदि कुरा सम्बन्धित विषय शिक्षक एवं प्रिन्सिपलसँग बुझ्न सकिन्छ । आफ्ना छोराछोरीलाई पढाउन लागिएको कलेज एवं प्लस टुका सम्बन्धमा सम्पूर्ण जानकारी लिनुपर्छ । कलेजको पृष्ठभूमि, पढाउने शिक्षक–शिक्षिका, पाठ्यक्रम, पढाउने विधि आदिका सम्बन्धमा बुझ्नुपर्छ । यसका साथै कलेजको वातावरण, कार्यक्रमसमेत बुझ्न सकिन्छ ।

सेवा सुविधा

कलेजले भर्ना प्रक्रियाका क्रममा पुस्तकालय, खेलकुद, स्वास्थ्य आदि विभिन्न शीर्षकमा शुल्क लिन्छन् । उल्लेख गरेअनुसारको सेवा सुविधा कलेजमा उपलब्ध छ कि छैन बुझ्नुपर्छ । ती सुविधा विद्यार्थीले उपभोग गर्न पाउँछन् कि पाउँदैनन् भन्ने जानकारी पनि लिनुपर्छ ।

सम्बन्ध विस्तार

आफ्ना छोराछोरीलाई पढाउने शिक्षक एवं प्रशासकसँग सम्बन्ध विस्तार गर्नुपर्छ । उनीहरूसँगको नियमित सम्पर्क र आत्मीय व्यवहारले सम्बन्ध विस्तारमा सहयोग मिल्छ । उनीहरूसँगको राम्रो सम्बन्धले आफ्ना छोराछोरीको पढाइमा टेवा पुग्छ ।

अवलोकन–मूल्यांकन

कलेजमा आफ्ना छोराछोरीले कसरी पढिरहेका छन्, शिक्षक–शिक्षिकाले कसरी पढाइरहेका छन् भनेर नियमित अवलोकन–मूल्यांकन गर्नुपर्छ । पढाइएका कुरालाई आफ्ना छोराछोरीले कसरी ग्रहण गरिरहेका छन्, उनीहरूको व्यवहारमा कस्तो परिवर्तन आइरहेको छ भन्ने कुरा पनि बुझ्नुपर्छ ।

अतिरिक्त कक्षाको व्यवस्था

सम्पूर्ण रूपमा तयारी राम्रो हुदाँहुँदै पनि कुनै विषयमा आफ्ना छोराछोरी कमजोर हुन सक्छन् । त्यसो भए अतिरिक्त कक्षाको व्यवस्था गरी उनीहरूको कमजोरी हटाउने प्रयास गर्नुपर्छ । 

 Image