Successfully Copied

व्यक्तित्व विकासका लागि

व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो । पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ ।

व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो । पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ । व्यक्तित्वमै सफलताको रहस्य लुकेको हुनाले सफलता प्राप्तिका लागि व्यक्तित्व निर्माण अत्यावश्यक छ । आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा पनि व्यक्तित्वकै आधारमा तय हुन्छ तसर्थ कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ । हिजोआज व्यक्तित्व विकासका लागि तालिम पनि लिन सकिन्छ । तालिम प्रदान गर्ने संस्थामा गएर वा विज्ञहरूको सहायता लिएर व्यक्तित्वलाई चाहेअनुरूप बनाउन सकिन्छ । 

पहिरन : फेसन डिजाइनरहरूका अनुसार व्यक्तित्व विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका पहिरन वा ड्रेस सेन्सको हुन्छ । पहिरनलाई जति तरिका मिलाएर लगाउन सकियो त्यो त्यति नै प्रभावकारी हुन्छ । कस्तो अवसरमा कस्तो पहिरन लगाउनुपर्छ भन्ने कुराको जानकारी राखेर त्यसलाई अवलम्बन गर्दा अरूलाई सहजै आकर्षित गर्न सकिन्छ । पार्टी पहिरन, मिटिङ तथा कार्यालय जाँदाको पहिरन, भ्रमण गर्दाको पहिरन आदि एकै प्रकारको हुँदैन । त्यसैले जुन बेला जस्तो पहिरन लगाउँदा सुहाउँछ त्यसैअनुसार पहिरन छनोट गर्न सके व्यक्तित्वमा अभूतपूर्व आकर्षण उत्पन्न गराउन सकिन्छ । पार्टीकै कुरा गर्दा पनि आफ्नो घरमा पार्टी हुँदा र अरूको पार्टीमा जाँदा लगाइने पहिरन फरक किसिमको हुनु आवश्यक छ ।

शृंगार : महिलाको सौन्दर्य शृंगार गर्दा अझ खुल्छ, शृंगारले व्यक्तित्वमा पनि परिवर्तन ल्याउँछ । शृंगार पनि कस्तो समारोहमा जाने हो त्यसैअनुरूप हुनुपर्छ । पार्टीमा जाने हो भने कलरफुल मेकअप तथा अफिसमा सामान्य हलुका मेकअप गर्नुपर्छ । पहिरन तथा उमेरका आधारमा पनि मेकअप फरक हुनुपर्छ अन्यथा आकर्षक बन्न गरिने मेकअपले भद्दा वा कुरूप बनाउन बेर लाग्दैन । मेकअप आफ्नो पद–प्रतिष्ठा, सामाजिक सम्बन्ध एवं मर्यादा अनुकूल पनि हुनुपर्छ ।

बडी ल्याङ्ग्वेज : शरीरको पनि आफ्नै प्रकारको भाषा हुन्छ जसलाई चालढाल, बानी वा बडी ल्याङ्ग्वेज भनिन्छ । हिँडडुल गर्ने, उठबस गर्ने, उभिने, फोनमा कुरा गर्ने आदि कुरामा पनि सबैको आ–आफ्नै शैली हुन्छ । व्यक्तित्व निर्माणमा यस्ता कुराको पनि अहम् भूमिका हुन्छ । कसैको हात हल्लाउने, नङ टोक्ने, नाकमा हात लाने, औंलाले भुइँ कोतर्नेजस्तो बानी हुन्छ । यस्तो बानीले व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछ । 

  • व्यक्तित्व विकासका लागि आफ्नो विशेषता पहिचान गर्नुपर्छ । खुबी वा बलियो पक्ष पहिचान भैसकेपछि त्यसलाई वृद्धि गर्ने र कमजोरी लुकाउने कुरामा ध्यान दिनुपर्छ ।
  • सबैका लागि आफ्नो नाम सर्वाधिक प्रिय, मधुर एवं महत्वपूर्ण हुन्छ । अरूको प्रशंसा गरियो भने आफूले पनि अरूको प्रशंसा पाइन्छ । त्यसैले अरूको कुरा काट्नु हुँदैन, त्यसो गरे आफ्नो नकारात्मक छवि निर्माण हुन्छ र व्यक्तित्व विकासमा बाधा पुग्छ ।
  • राम्रो श्रोता बन्नुपर्छ । अरूको कुरालाई महत्व दिँदै ध्यानपूर्वक सुन्नु उपयुक्त हुन्छ । अरूको रुचि बुझेर व्यवहार गर्नसके अझ उत्तम हुन्छ, आफ्नो मात्र रुचिको कुरा गरेर अरूका अगाडि गलत छाप पर्न दिनु पनि राम्रो होइन । तर्कको अन्त्य हुँदैन, त्यसैले कुतर्क गरेर समय नष्ट गर्नु हुँदैन । उचित कुरा छ भने जोसुकैको विचारको सम्मान गर्नुपर्छ र आफ्नो गल्ती भए त्यसलाई स्वीकार गर्नुपर्छ । यसो गर्दा आफ्नै व्यक्तित्वमा निखार आउँछ ।
  • व्यवहारमा शिष्टाचार, अनुहारमा मुस्कान एवं आत्मविश्वास छ भने व्यक्तित्वमा गजबको चमक पैदा हुन्छ । तनाव, निराशा, क्रोध, चिडचिडेपनजस्ता भावना चाहेर पनि लुकाउन सकिँदैन, कलुषित भावनाले व्यक्तित्वलाई नै अनाकर्षक बनाउँछ ।
  • सकारात्मक सोच राख्नुपर्छ । आफूबाट गल्ती भए क्षमा माग्न कन्जुस्याइँ गर्नुहुँदैन । कसैले सहयोग गरे वा कसैको सेवा लिइएको भए धन्यवाद भन्न बिर्सनुहुँदैन । गल्ती ढाकछोप गर्ने, अरूमाथि दोष थोपरेर पन्छिने स्वभावले आफनै व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछ ।

 Image