Successfully Copied

जीवनशैली बदलौं रोगबाट जोगिऔं

हिजोआज जीवनशैली यति व्यस्त छ कि मानिसको जीवन मेसिनजस्तै भएको छ । धेरैजसो समय कम्प्युटर, ल्यापटप आदिमा बिताउनुपर्छ ।

हिजोआज जीवनशैली यति व्यस्त छ कि मानिसको जीवन मेसिनजस्तै भएको छ । धेरैजसो समय कम्प्युटर, ल्यापटप आदिमा बिताउनुपर्छ । यसले गर्दा शारीरिक गतिविधि कम हुन्छ । दिनभरि कुर्सीमा बसेर काम गर्ने मानिसले स्वास्थ्यसम्बन्धी अनेकौं समस्या सामना गर्नुपर्छ । त्यसैले थोरै समय दिएर आफ्नो जीवनशैली परिवर्तन गरे अनेकौं रोगबाट जोगिन सकिन्छ । 

अस्टियोपोरोसिस

उमेर वृद्धिसँगै महिला तथा पुरुषमा अस्टियोपोरोसिस (हड्डीको रोग) हुने सम्भावना बढ्न थाल्छ । यसलाई साइलेन्ट रोग पनि भनिन्छ । यसको सुरुवात उमेर वृद्धिसँगै बिस्तारै–बिस्तारै हुन्छ । जीवनशैली तथा शारीरिक गतिविधि कम भए कम उमेरमै पनि यो समस्या नबढ्ला भन्न सकिँदैन । यस्ता बिरामीमा जोर्नीको पीडाका साथै हड्डी फ्याक्चर हुने सम्भावना पनि उत्तिकै रहन्छ । 

स्वस्थ जीवनशैली 

यो रोगबाट जोगिन योग, मर्निङ वाक, एरोबिक्स, डान्स, साइकिलिङ तथा स्ट्रेचिङजस्ता एक्सरसाइज गर्नुपर्छ । 

  •     उमेर एवं उचाइअनुसार आफ्नो तौल कायम राख्ने । 
  •     बिहान दिनहुँ २०–२५ मिनेट घाममा बस्ने । 
  •     भर्‍याङको साटो लिफ्ट प्रयोग गर्ने । 
  •     धूम्रपान तथा अल्कोहल सेवन नगर्ने । 
  •     सोडा, कफी तथा चकलेटजस्ता कफिनयुक्त चीजको सेवन कम गर्ने । 
  •   क्याल्सियम तथा भिटामिन डी पर्याप्त मात्रामा भएको खाना खाने । हरियो सागपात, डेरी प्रोडक्ट, माछा आदि सेवन गर्ने । 
  •   सप्लिमेन्टका रूपमा चिकित्सकले दिएको औषधि सेवन गर्ने । 

माइग्रेन 

बदलिँदो जीवनशैली, कामको बोझ, तनाव, निद्रा पूरा नहुने, समयमा खाना नखाने आदि कारणले माइग्रेनको समस्या बढ्दो छ । यस्ता बिरामी कुनै पनि उमेरका हुन सक्छन् । माइग्रेन हुँदा टाउकोमा तीव्र पीडा हुन्छ । यस्तो पीडा ४ घन्टादेखि ७२ घन्टासम्म रहन्छ । 

जीवनशैलीसम्बन्धी बानी 

माइग्रेनबाट पीडितले ८ देखि १० घन्टा पूरा निद्रा सुत्नुपर्छ । 

  •     खाने तथा पिउने बानीमा सुधार गर्नुपर्छ । लामो समयसम्म भोकै बस्नु हुँदैन । समय–समयमा थोरै–थोरै खानेकुरा खाइरहनुपर्छ । 
  •     तनावमुक्त रहने प्रयास गर्नुपर्छ । 
  •     नियमित रूपमा व्यायाम, योग तथा ध्यान गर्नुपर्छ ।
  •     चिया, कफी तथा चकलेट आदिको सेवन कम गर्नुपर्छ किनभने यसमा भएको कफिनका कारण पनि टाउको दुख्न सक्छ । 
  •     खाना खाने रुटिन बनाउनुपर्छ । यसो गर्दा आफूले के खाइएको छ, खाएपछि पीडा भए उक्त खानेकुरा खाएकै कारण पीडा भए–नभएको कुरा पत्ता लाग्छ । 
  •     डिब्बा बन्द खानेकुरा तथा जंक फुड सेवन नगर्ने । 
  •     माइग्रेनलाई बढावा दिने खालका खानेकुरा पत्ता लगाएर त्यस्ता खानेकुराबाट जोगिने । तीव्र प्रकाश घाम तथा चर्को आवाजबाट टाढै रहने । 
  •     माइग्रेनको पीडा तीव्र भए चिकित्सकले दिएको औषधि नियमित रूपमा सेवन गर्ने । 
  •     मौसम परिवर्तन हुने समयमा ध्यान दिने । धेरै जाडो तथा धेरै गर्मीका कारण पनि माइग्रेन हुनसक्छ । 

उच्च रक्तचाप 

यो एक किसिमको गम्भीर रोग हो । समयमै यसको सही उपचार नभए ब्रेन हेमरेज तथा हर्टएट्याक पनि हुन सक्छ । यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । सुरुको अवस्थामा यो रोगको लक्षण स्पष्ट हुँदैन । 

जीवनशैलीसम्बन्धी बानी 

आफूले खाने खानाका बारेमा डायरी बनाउनुपर्छ । त्यसमा आफूले कुन समयमा के खाने भन्ने कुरा उल्लेख गर्नुपर्छ । 

  •     तौल बढाउने खानेकुरा नखाने । 
  •     कफिनयुक्त पदार्थको सेवन कम गर्ने । 
  •     धूम्रपान, मद्यपानको सेवनबाट टाढै रहने । 
  •     उच्च रक्तचापलाई नियन्त्रण गर्न व्यायाम, योग तथा मेडिटेसन गर्ने । 
  •     तनावरहित रहने । त्यसका लागि आफूलाई काममा व्यस्त राख्ने । फुर्सद भए पढ्न, स्वीमिङ जान एवं संगीत सुन्न पनि सकिन्छ । 
  •     समय–समयमा चिकित्सकबाट नियमित रूपमा चेकअप गराउनुपर्छ । 
  •     चिकित्सकले भनेबमोजिमको डाइट चार्ट प्रयोग गर्नुपर्छ । 

मधुमेह

यो जीवनशैलीसम्बन्धी गम्भीर रोग हो । यो महिला तथा पुरुषलाई मात्र नभएर शिशुमा पनि तीव्र रूपमा फैलदै गएको छ । यसको मुख्य कारण खानपानमा लापरबाही, तनाव तथा मोटोपन हो । यस्तो बानीमा थोरै मात्र सुधार गरे मधुमेहलाई सजिलै नियन्त्रणमा राख्न सकिन्छ । 

जीवनशैलीसम्बन्धी बानी 

आफ्नो दिनचर्या सक्रिय राख्न प्रतिदिन २० देखि ३० मिनेट एक्सरसाइज (साइक्लिङ, स्वीमिङ तथा वाकिङ) गर्ने । 

  •     तनावरहित रहने प्रयास गर्ने । त्यसका लागि संगीत सुन्ने । डान्स, पेन्टिङ गर्ने जस्ता काम गर्नुपर्छ । 
  •     कम्तीमा ८ घन्टा सुत्नुपर्छ । एउटा शोधका अनुसार ६ घन्टाभन्दा कम सुत्ने मानिसमा मधुमेह हुने सम्भावना बढी हुन्छ । 
  •     उमेरअनुसार कम क्यालोरी, कम कार्बोहाइड्ेरड, सलाद, कम चिल्लो, उच्च रेसायुक्त खानेुकरा आफ्नो खानामा समावेश गर्नुपर्छ । 
  •     क्यान जुस तथा सफ्ट ड्रिंक्स सेवन नगर्ने । 
  •     ब्लड सुगरको लेवल खानपानबाट नियन्त्रित नभए चिकित्सकले दिएको औषधि सेवन गर्नुपर्छ । 
  •     चिकित्सकको सल्लाहमा नियमित अन्तरालमा एचबी १ एसी टेस्ट गराउनुपर्छ । 
  •     चिकित्सकले दिएको डाइबेटिक चार्ट फलो गर्नुपर्छ । 
  •     धूम्रपानबाट जोगिने । धूम्रपान गर्ने मधुमेहका बिरामीमा हर्टएट्याक हुने सम्भावना ५० प्रतिशतले बढ्छ । 
  • क्रोनिकल फटिग सिन्ड्रोम (लामो समयसम्म थकान महसुस हुने)
  • लगातार थकान तथा शरीरमा ऊर्जाको कमी महसुस भए क्रोनिक फटिग सिन्ड्रोमको समस्या हुनसक्छ । विशेषज्ञहरूका अनुसार ५ जना मानिसमध्ये १ जनामा प्रत्येक समय हल्का थकान तथा १० जनामध्ये १ जना थकानबाट पीडित हुन्छन् । कतिपयमा थकान कहिल्यै समाप्त नहुने समस्या हुनसक्छ । बिरामीले प्रत्येक समय थकान महसुस गरिरहेको हुन्छ । यसलाई नै क्रोनिक फटिग सिन्ड्रोम भनिन्छ । 

जीवनशैलीसम्बन्धी बानी 

नियमित रूपमा एक्सरसाइज गर्ने । प्राणायाम, योग तथा लामो सास फेर्ने किसिमका एक्सरसाइज गर्नुपर्छ ।

  •     सुत्ने तथा उठ्ने समय नियमित बनाउनुपर्छ ।
  •     तनावले शरीरको सबै इनर्जी समाप्त गर्ने भएकाले तनावरहित रहन रिल्याक्सिङ एक्सरसाइज गर्नुपर्छ। 
  •     नियमित अन्तरालमा खानेकुरा खानुपर्छ । यसले शरीरमा इनर्जी कायम राख्छ । शरीरलाई एनर्जेनिक राख्न ३–४ घन्टाको फरकमा खाइरहनुपर्छ । 
  •     ब्रेकफास्ट गर्नुपर्छ । यसले दिनभर शरीरलाई इनर्जेटिक राख्छ । 
  •     केफिन, अल्कोहल तथा धूम्रपानबाट जोगिनुपर्छ । 
  •     कामलाई माया गर्नुपर्छ । समय व्यस्थापन गर्ने उपाय अपनाउनुपर्छ । 
  •     घर आएपछि ल्यापटप, मोबाइल तथा अफिसको फाइलबाट टाढा रहनुपर्छ । 

 

मोटोपन 

मोटोपनका कारण शरीरमा विभिन्न किसिमका रोगले आक्रमण गर्न सक्छ । सुरुमा तौल बढ्छ, धेरै मानिस यसलाई नियन्त्रण गर्दैनन् । तौल धेरै नै बढ्दै गएपछि केही घन्टा जिम गएर पसिना बगाई वजन कम गर्ने प्रयास गरिन्छ । यसका लागि डाइटिङ पनि गरिन्छ । डाइटिङ गर्नुभन्दा जीवनशैलीमा थोरै परिवर्तन ल्याएर धेरै हदसम्म मोटोपन नियन्त्रण गर्न सकिन्छ । 

जीवनशैलीसम्बन्धी बानी 

डाइट चार्टबाट अस्वस्थकर खाना हटाउने । 

  •     रातको खाना र सुत्ने समयबीच दुई घन्टाको फरक राख्ने । 
  •     हप्ताको एकदिन व्रत बस्ने । 
  •     लिफ्टको साटो भर्‍याङ चढ्ने । सानोतिनो काम अरूलाई गराउनुभन्दा आफै गर्नुपर्छ । यस्तो गतिविधिमा पर्याप्त क्यालोरी खर्च हुन्छ साथै तौल पनि कम हुन्छ । 
  •     तनावरहित रहने । केही मानिस तनावमा हुँदा धेरै खान्छन् ।

 Image