Successfully Copied

दुवै हात र एउटा खुट्टा गुमाएकी समचारवाचिका

डल्लु विजेश्वरीमा बस्ने कमला श्रेष्ठले १२ वर्षकी हुँदा घरमै खेल्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएकी थिइन् ।

कमला श्रेष्ठ, गायिका तथा समचारवाचिका 

डल्लु विजेश्वरीमा बस्ने कमला श्रेष्ठले १२ वर्षकी हुँदा घरमै खेल्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएकी थिइन् । २ दशकअघिको उक्त घटनाले उनको जीवनलाई नै उथलपुथल गरिदियो । पढ्न–लेख्न माहिर श्रेष्ठले त्यसपछि विद्यालयको अनुहार देख्न पाइनन् । उनी २ महिनासम्म कोमामा रहिन् । पछि उनको उपचार घरमै गर्न थालियो । हातखुट्टा नभएकाले उनी बाहिर निस्कने–खेल्ने कुरै भएन । यद्यपि उनमा पढ्ने तृष्णा भने पर्याप्त थियो । त्यसैले उनी सेल्फ स्टडी गर्न थालिन् ।

घरमा सबैले प्रोत्साहित गर्न थालेपछि आफैले केही गर्न सक्छु भनीे घरमै अंग्रेजी भाषा सिकेर आरजेको प्रशिक्षण लिइन् । शारीरिक रूपमा अशक्त भए पनि उनमा कामप्रति ठूलो लगाव थियो । त्यसै क्रममा उनलाई अस्ट्रेलियाको रोटरी क्लबले सहयोगस्वरूप प्लास्टिकका कृत्रिम हातखुट्टा बनाइदियो । त्यसपछि उनी वर्षाैंसम्म घरको कुनामा थन्किएर घरमै सिकेको कुरा बाहिर ल्याउन सक्ने भइन् ।

कमला आफूलाई करेन्ट लाग्नुअघिसम्म स्कुलका स्टेजहरूमा नियमितजसो गीत गाउँथिन् । उनमा रहेको गायन प्रतिभा पनि घरभित्रै सीमित थियो । त्यसैले कृत्रिम हातखुट्टाको सहयोग मिलेपछि उनले संगीतको कक्षा लिन थालिन् । श्रेष्ठले कमलो सपना शीर्षकमा दुर्गालाल श्रेष्ठको रचना एवं न्ह्यु बज्राचार्यको संगीतमा एउटा एल्बम पनि सार्वजनिक गरिसकेकी छिन् । त्यसै क्रममा उनले क्यापिटल एफएममा अपाङ्गसम्बन्धी कार्यक्रम चलाउन थालिन् ।

रेडियो रियाजमा काम गर्दागर्दै उनले हिमालयन टेलिभिजनमा समाचारवाचिकाका रूपमा काम गर्ने अवसर प्राप्त गरिन् । उनी अहिले पनि उक्त च्यानलमा समाचारवाचिकाका रूपमा व्यस्त छिन् । कमला अहिले इन्डिपेन्डेन लिडिङ सेन्टरमा आबद्ध छिन् । आफूजस्ता अपाङ्गहरूलाई समाज तथा परिवारले साथ एवं हौसला दिएर अघि बढ्न दियो भने केही गरेर देखाउन सकिने उनको अनुभव छ । कमला आफ्ना कृत्रिम हातखुट्टा लगाएर बाहिर जान्छिन् भने घर पुग्नासाथ फुकाल्छिन् । दुर्घटनामा हातखुट्टा गुमाए पनि आफू कहिल्यै विचलित नभएको उनले बताइन् । असक्षम एवं अपाङ्ग छु, अब केही गर्न सक्दिन भन्ने भावना हटाउन सकियो भने सक्षम व्यक्तिहरुसँग काँधमा काँध मिलाएर हिँड्न सकिन्छ , कमला भन्छिन् । 

 Image