Successfully Copied

संकल्प भए सफलता प्राप्त गर्न कठिन छैन : दृष्टिविहीन सृष्टि केसी

आठ कक्षा अध्ययनरत छँदा आँखाको ज्योति गुमाएकी सृष्टिले प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक हासिल गरिन् ।

सृष्टि केसी, दृष्टिविहिन 

आठ कक्षा अध्ययनरत छँदा आँखाको ज्योति गुमाएकी सृष्टिले प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक हासिल गरिन् । आँखाको ज्योति धमिलो बन्दै गएर अक्षर ठम्याउनै मुस्किल भएपछि नियमित अध्ययनमा समस्या आयो । यसबाट उनी कत्ति पनि विचलित भइनन् । बरु शिक्षकले पढाएको कुरा सुनेकै भरमा गरेको अध्ययनबाट प्रमाणपत्र तहमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत सर्वोत्कृष्ट नतिजा हासिल गरिन् । सृष्टि नाच्न, गाउन तथा कविता लेख्न रुचाउँछिन् । आफ्ना आँखाले रंगीन संसार नदेखे पनि उनी अरूको आँखालाई भने नृत्यबाट मनोरञ्जन प्रदान गर्छिन् ।

आँखाको ज्योति गुमाएपछिको जीवन भोगाइमा थुप्रै नमीठा अनुभव संगालेकी छिन् सृष्टिले । शारीरिक रूपमा अशक्त भएकै भरमा अपहेलित हुनुपरेको तिक्ततालाई उनले ऊर्जामा परिवर्तन गरेकी हुन् । ‘आफू अशक्त भएपछि अपहेलित हुनुपर्दोरहेछ’ उनले भनिन्–‘तर त्यसबाट मलाई आत्मग्लानि होइन केही गर्ने प्रेरणा मिल्यो ।’ सृष्टि भन्छिन्–‘इच्छाशक्ति भयो भने कुनै पनि कुरा प्रगतिका लागि तगारो बन्दैन ।’ आँखामा उत्पन्न सामान्य समस्याको उपचार गर्ने क्रममा चिकित्सकले लापरबाही गरेको उनले बताइन् ।

आँखाले काम गर्न छाडेपछि उनले सुनेकै भरमा पढ्नुपर्ने भयो । जन्मजात दृष्टिविहीन नभएकीले ब्रेल लिपि पनि पढ्न जानिन् उनले । त्यसैले आफ्नै तरिकाले काठमा प्वाल खोपेर त्यसैका आधारमा लेख्दै पढ्न थालिन् । यसरी नै पढेर उनले एसएलसी परीक्षा दिइन् जसमा उनलाई ७० दशमलव २५ प्रतिशत अंक प्राप्त भयो । साथीहरूकै सहयोगमा शिक्षकले पढाएको कुरा रेकर्ड गरेर सुन्दै अध्ययन गर्न थालिन् । सृष्टिकै नाममा क्याम्पसकी उप–प्राध्यापक उपमा आचार्यले ‘सृष्टि केसी प्रतिभा पुरस्कार’ स्थापना गरिदिएकी छिन् । त्यसो त उनी अध्ययनमा मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि सवलाङ्गभन्दा कम छैनन् ।

गायन, नृत्य, वक्तृत्वकला एवं चित्रकलामा पोख्त सृष्टि केही वर्षअघि नृत्य प्रतियोगितामा १५ मुलुकका सहभागीलाई उछिन्दै प्रथम भएकी थिइन् । उनी अहिले आफूसँग भएको नृत्य प्रतिभा दृष्टिविहीन साथीहरूलाई सिकाइरहेकी छिन् । मानिसमा भित्री चाहना र केही गर्ने संकल्प छ भने सफलता प्राप्त गर्न कठिन छैन भन्ने उदाहरण पनि हुन्, दृष्टिविहीन सृष्टि केसी । 

 Image