Successfully Copied

चितवनमा फूलैफूल

अहिले व्यावसायिक फूलखेती गर्नेहरूको संख्या बढ्दो छ । फूलको माग बढेसँगै यसको खेती गर्नेहरूको संख्या पनि बढेको हो । धेरैले तिहारको मौका छोप्दै सयपत्री फूल लगाउँछन् तर चितवनमा भने सधै सबै ठाउँमा प्रयोग हुने फूलको खेती गरिएको छ ।

अहिले व्यावसायिक फूलखेती गर्नेहरूको संख्या बढ्दो छ । फूलको माग बढेसँगै यसको खेती गर्नेहरूको संख्या पनि बढेको हो । धेरैले तिहारको मौका छोप्दै सयपत्री फूल लगाउँछन् तर चितवनमा भने सधै सबै ठाउँमा प्रयोग हुने फूलको खेती गरिएको छ । भरतपुर महानगरपालिका–१८ स्थित गुञ्जनगरमा प्रकाश पन्तले समयअनुसार फुल्ने फूल लगाएका छन् जुन फूलको माग बजारमा सधै हुन्छ । पन्तलाई अहिले फूल बिक्री गर्न भ्याइनभ्याइ हुन्छ ।

पन्तले ७ कठ्ठामा वर्षैभरि फुल्ने जरबेरा फूलको खेती गरेका छन् । यसको प्रयोग स्टेज, कोठा तथा सार्वजनिक कार्यक्रममा सजावटका लागि गरिन्छ । यो फूल रातो, पहेंलो, पिंक तथा सेतो रंगमा फुल्छ । त्यस्तै पन्तले १२ कठ्ठामा रातो, पहेंलो, सुन्तला, पिंक, गाढा तथा फिक्का गुलाब पनि रोपेका छन् । गुलाब असोजदेखि वैशाखसम्म फुल्छ । यसको मुख्य बजार काठमाडौं हो । यसलाई बुकेका रूपमा प्रयोग गरिन्छ । विवाहको मौसम तथा भ्यालेन्टाइन डेमा यसको माग बढी हुन्छ । त्यस्तै गुलाबको माग घरको आन्तरिक सजावट, गाडी, स्टेज सजावट, सम्मान, विवाह, व्रतबन्ध, वर्थ डे पार्टी आदिमा पनि उत्तिकै हुन्छ । फूलको नियमित माग होटल तथा बैंकहरूबाट हुन्छ ।

पन्तले १२ बिघामा ग्लाडिलस फूल लगाएका छन् जुन असोजदेखि जेठसम्म फुल्छ । यसको बजार काठमाडौं र भारत हो । ग्लाडिलसलाई बढी मात्रमा बुकेका रूपमा प्रयोग गरिन्छ । विवाह तथा सार्वजनिक कार्यक्रममा यसको माग बढी हुन्छ । प्रकाशले आफ्नो बगैंचामा गोदावरी फूलसमेत लगाएका छन् । गोदावरी रातो, सेतो तथा पहेंलो रंगमा फुल्छ । असोजदेखि माघसम्म फुल्ने गोदावरीको माग पनि बजारमा उस्तै छ । यसलाई मालाका रूपमा प्रयोग गर्नेहरू बढी छन् ।  

पन्तले ०५६ सालतिर पुष्प व्यवसायमा हात हालेका हुन् । उनको फर्मको नाम एभ्लुम फ्लोरा राखिएको छ । अहिले उनीकहाँ फूलको वार्षिक कारोवार डेढ करोडभन्दा बढीको हुन्छ । पन्तकहाँ ग्लाडिलस वार्षिक १० लाख स्टिक, गुलाब ४ लाख र जरबेरा ४ लाख स्टिक तयार हुन्छ । पन्तले उत्पादन गरेका फूलहरू काठमाडौं हुँदै पोखरा र बुटवलसम्म तथा विदेशमा दुबई र कतारसम्म जान्छन् ।

ग्लाडिलस उत्पादन भएको समयमा त्यसले नेपालको ७० प्रतिशत बजार धान्छ । यसको बीउ पनि बिक्री गरिन्छ । बर्सेनि १ हजारभन्दा बढी आगन्तुक टाढाटाढादेखि पन्तको बगैंचा हेर्न आउँछन् । पहिलो पटक उनको बगैंचा पुग्नेले विदेश पुगेको अनुभूति गर्छन् । एभ्लुम फ्लोराले ५४ जनालाई रोजगारी दिएको छ जसमा ४८ जना त महिला मात्र छन् ।

 Image