Successfully Copied

अनुशासन मन्त्र

योजनाबद्ध ढंगले काम गर्दा, आफ्ना लागि लक्ष्य निर्धारित गर्दा तथा काम सुरु गर्नुअघि यसलाई कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा सोच्दा अनुशासित हुन सहयोग मिल्छ ।

इच्छामा लगाम

जीवनको सबैभन्दा ठूलो विजय भनेको आफैलाई खुसी राख्न सक्नु हो । आत्मनियन्त्रणको पहिलो मन्त्र आफ्ना इच्छालाई सीमित गर्नु हो र आफूमा भएको लोभ घटाउनु हो । कुनै वस्तु पाउने इच्छा छ भने र मनमा द्विविधा छ भने त्यस किसिमको प्रलोभन हटाउनु नै उत्तम हुन्छ । जंकफुड हेर्दा मन रोक्न सकिँदैन भने यस्ता कुरा घरमै नल्याउनु उपयुक्त हुन्छ । लोभ उत्पन्न हुने विशेष चीज आफ्नो वरिपरि नै नराखे मनलाई नियन्त्रणमा राख्न सहज हुन्छ ।

योजनाबद्ध जीवनशैली

योजनाबद्ध ढंगले काम गर्दा, आफ्ना लागि लक्ष्य निर्धारित गर्दा तथा काम सुरु गर्नुअघि यसलाई कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा सोच्दा अनुशासित हुन सहयोग मिल्छ । हरेक बिहान दिनभरिको समयतालिका तथा कुनै न कुनै लक्ष्य बनाई त्यसलाई पूरा गर्ने प्रयास गर्नुपर्छ । यसले खुसी तुल्याउनुका साथै आफूप्रति सकारात्मक सोच उत्पन्न हुन्छ ।

समय व्यवस्थापन

लक्ष्य बनाउनु मात्र महान् कार्य होइन कार्यान्वयनका लागि समय व्यवस्थापन गर्नु पनि सर्वोत्तम कला हो । समय व्यवस्थापनले सारा समस्या हल गर्न सघाउँछ । कतिपय अवस्थामा दुई–तीन लक्ष्य एकसाथ आइलाग्छन् । त्यतिबेला समय व्यवस्थापनको जादु उपयोगी हुनसक्छ । विद्यार्थीहरू वर्षभरि पढ्छन् तर परीक्षाको समयमा बढी घोटिन्छन् । उनीहरूको यतिबेलाको एकाग्रता अन्य समयमा देखिँदैन अर्थात् हामिसँग जति कम समय हुन्छ त्यति नै हामी त्यसको सदुपयोग गर्छौं ।

चिन्ता–तनावबाट टाढा

दबाब वा तनावले आत्मअनुशानलाई गिराउँछ । लक्ष्य बनाएर काम गर्दा जीवनमा आइपर्ने तनाव कम हुन्छ । दबाबबाट जोगिन योग, ध्यान एवं शारीरिक व्यायाम उपयोगी हुनसक्छन् । यसले तनावबाट टाढा राख्ने मात्र नभएर शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । मन र शरीर दुवै स्वस्थ रहे मात्र आत्मअनुशासन सहज हुन्छ ।

खुसी हुने बहाना

खुसी भन्ने कुरा मनभित्र गढेर रहेको त्यस्तो खजाना हो जसलाई हामी बाहिर खोज्दै भौंतारिन्छौं । ठूलो खुसीका लागि स–साना खुसीलाई बेवास्ता गर्दा जीवनमा उदासीनता मात्र छाउँछ । दिनभरमा कुनै न कुनै समय यस्तो आउँछ जुन उल्लासमय हुन्छ । बालबालिकाहरूसँग खेल्दा, मान्यजनबाट आशीर्वाद लिँदा, असहायहरूको सेवा गर्दा, संगीत सुन्दा, नाच्दा, नयाँ रेसिपी प्रयोग गर्दा वा जोक्स सुन्दा हामीलाई आत्मैदेखि आनन्द आउँछ । तसर्थ यस्ता काममा सकेसम्म सहभागी हुनुपर्छ । स–साना कुरामा पनि रमाउन सिक्नु भनेको जीवन सन्तुलित बनाउनु र अभिप्रेरित हुनु हो ।

सही आहार

स्वस्थ शरीरमै स्वस्थ मस्तिष्कको बास हुन्छ । एक शोधअनुसार व्यक्ति भोको छ भने एकाग्रतामा ह्रास आउँछ किनभने मस्तिष्कलाई काम गर्न पर्याप्त ऊर्जा आवश्यक हुन्छ । मान्यजनहरू भन्छन् घरबाट निस्कनुअघि शरीरलाई पर्याप्त इन्धन दिनुपर्छ ताकि त्यसले दिनभरि काम गर्न सकोस् ।

गल्ती माफ

जीवन गल्ती, असफलता, कमी र उतारचढावको संगम हो । गल्तीबाटै धेरै कुरा सिकिन्छ । गल्तीलाई माफ गर्नु जीवनको नयाँ सुरुवात हो । अपराधबोध, रिस, कुण्ठाजस्ता नकारात्मक भावनामै डुबिरहने हो भने कसरी माथि उठ्न सकिन्छ ? दु:खको नदी तैरिँदै पार गर्नु नै भविष्यको सुखद् किनारमा पुग्नु हो ।

 Image