Successfully Copied

मल्टिनेसनल महिला जसले संसार हाँक्छन्

संसारका हरेक कुनामा आफ्नो ब्रान्ड–बर्चस्व जमाउन सफल मल्टिनेसनल कम्पनी कसको नेतृत्व क्षमता एवं विचारबाट चल्छ होला ? धेरैमा यस्तो उत्सुकता हुनसक्छ । सिर्जनशील, कर्मठ, परिश्रमी र कार्यदक्षताजस्ता चीज विशेषत: पुरुषमा बढी हुन्छन् भन्ने पुरातन मान्यता विपरीत पछिल्लो समयमा महिला पनि यी कुरा र

सामान्य एड एजेन्सीबाट करियर सुरु गरेकी ६३ वर्षीया इरिना ब्लेकर रोजनफेल्ड हाल संसारको सबैभन्दा विशाल फुड एन्ड वेभरेज कम्पनी मोन्डेलेज इन्टरनेसनलको अध्यक्ष तथा प्रबन्ध–निर्देशक हुन् । सन् २००४ मा पेप्सीअन्तर्गतको फ्रिटो–लेको सिइओ पद सम्हालेकी इरिनाको हालको वार्षिक कारोवार १९ दशमलव ३ अर्ब अमेरिकी डलर छ । २ छोरीकी आमा इरिनाले अमेरिकाको कनेल युनिभर्सिटीबाट मार्केटिङ तथा गणितमा विद्यावारिधि गरेकी छिन् । ३० वर्ष फुड एन्ड वेभरेजमा योगदान पुर्‍याएकी रोजनफेल्डको कम्पनीले चकलेट, ओरियो बिस्कुट, पाउडर वेभरेज, चुइँगम, कन्फेक्सनरीलगायत फुड एन्ड वेभरेज उत्पादन गर्छ भने विश्वभर यसका १ लाख ७ हजार कामदार छन् । संसारभरका १ सय ६५ देशमा शाखा भएको उक्त कम्पनीको वार्षिक कारोबार ३० बिलियन अमेरिकी डलर छ । विज्ञापन एजेन्सीपछि सानो तहको डेरी स्थापना गरी व्यवसायमा भविष्य बनाउने प्रयास गरेकी इरिनाको वार्षिक तलब सन् २००९ सम्म १० दशमलब ५ मिलियन अमेरिकी डलर रहेको बताइन्छ ।

तामिलनाडु राज्यको मद्रास (हालको चेन्नई) मा जन्मिएकी इन्द्रा कृष्णमूर्ति रुई सफ्ट ड्रिंक्सका क्षेत्रमा विश्वभर तहल्का मच्चाएको पेप्सी कम्पनीकी अध्यक्ष तथा प्रबन्ध–निर्देशक हुन् । फोब्र्सले संसारका सय शक्तिशाली महिलाको सूचीमा तेह्रौं नम्बरमा राखेको इन्द्रालाई फच्र्युनले सयमध्ये ३ नम्बरमा पारेको छ । ६१ वर्षीया कृष्णमूर्तिले मद्रास क्रिश्चियन कलेजबाट विज्ञानमा स्नातक तथा यल स्कुल अफ म्यानेजमेन्टबाट पब्लिक प्राइभेट म्यानेजमेन्टमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी थिइन् । सन् १९९४ मा पेप्सी कम्पनी प्रवेश गरेकी इन्द्रा सन् २००६ मा यसको प्रबन्ध निर्देशक भैसकेकी थिइन् । उनको प्रवेशपछि पेप्सी कम्पनी अन्तर्राष्ट्रिय रूपमा थप बिस्तार भएपछि इन्द्राको नाम वाल स्ट्रिट जर्नलले सन् २००७ मा सर्वाधिक खोजी गरिएका ५० शक्तिशाली महिलामा समावेश भयो । सन् १८८० मा पहिलो उत्पादन थालनी गरेको पेप्सी सन् १८९८ सम्म आइपुग्दा पेप्सी–कोलाका रूपमा परिचित थियो भने सन् १९०२ मा आएर पेप्सी–कोला कम्पनीका रूपमा रजिस्ट्ेरड भयो । सन् १९६० को दशकमा डाइट–पेप्सी उत्पादन गर्न थालेपछि यसको अन्तर्राष्ट्रिय ख्याति अझ चुलिएको हो ।

संसारभर २ लाख ७४ हजार कामदार रहेको पेप्सीले सन् २०१३ मा ६६ दशमलव ४१५ बिलियन रिभेन्यु कलेक्सन गरेको थियो । राज के. नुईसँग वैवाहिक जीवनमा बाँधिएकी इन्द्राको वार्षिक तलब २९ दशमलव ८ मिलियन अमेरिकी डलर छ । सन् २०१४ सम्म १ सय ४४ मिलियन अमेरिकी डलर उनको व्यक्तिगत खाता रहेको कुरा सार्वजनिक भएको थियो । सन् २००७ मा भारतीय उच्च सम्मान पद्मभूषणले विभूषित इन्द्रालाई सन् २०१३ मा भारतका राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा पुन: सम्मान गरेका थिए ।

सन् १९५७ मा अमेरिकामा जन्मिएकी गिन्नी रोमटी आइबीएम (इन्टरनेसनल बिजनेस मेसिन कर्पोरेसन) की चियरवुमन, प्रेसिडेन्ट तथा सिइओ हुन् । संसारभरका १ सय ७० वटा मुलुकमा आइबीएमको अपरेसन हुने यो कम्पनीको शीर्षस्थ पदमा रहेकी गिन्नीको वार्षिक तलब १९ दशमलव ३ मिलियन अमेरिकी डलर छ । (सन् २०१४ सम्मको डाटा अनुसार) ।

आइबीएमले कम्प्युटर हार्डवेयर, मिडिलवेयर तथा सफ्टवेयर उत्पादन गर्नुका साथै डाटाबेस, एसक्युएल प्रोग्रामिङ ल्यांग्वेज, युपीसी बारकोड, डायनामिक र्‍यान्डम एक्सेस मेमोरी, सिडी डिस्क, पेनड्राइभ आदि समेत निर्माण गर्छ । पर्सनल कम्प्युटरजस्तै थिंकप्याड, थिंक सेन्टर, पिडब्ल्युसी आदि उत्पादन पनि आइबीएमकै हुन् । आइबीएमका पाँच जना कर्मचारी नोबेल पुरस्कारबाट पुरस्कृत हुनुमा गिन्नीको ठूलो भूमिका थियो । तेल कम्पनीका मालिक मार्क एन्थोनी रोमटीसँग विवाह गरेकी गिन्नीको जोडी हालसम्म सन्तानविहीन छ । जेनरल मोटर इन्स्टिच्युटमा साधारण कर्मचारीबाट करियर थालेकी गिन्नी सन् १९८१ मा सिस्टम इन्जिनियरका रूपमा आइबीएम प्रवेश गरेकी थिइन् । आज उनको चर्चा विश्वभरका ३० शक्तिशाली महिलाका रूपमा गरिन्छ ।

उर्सुला एम.बर्न सन् २०१० देखि एरोक्स कम्पनीको अध्यक्षका रूपमा कार्यरत छिन् । सन् २००९ सम्म उक्त कम्पनीको सिइओ उर्सुला अश्वेत अमेरिकी महिला हुन् । त्यसैले उनलाई ५ सय कम्पनीमध्ये व्यापारिक वृत्तमा यति उपल्लो स्तरसम्म पुग्ने प्रथम अश्वेत महिला प्रमुख बताइएको छ । फोब्र्सले उर्सुलालाई संसारका महाशक्तिशाली महिलामध्ये २२ औं स्थान दिएको छ । वार्षिक १८ दशमलव ७ मिलियन अमेरिकी डलर तलब प्राप्त गर्ने बर्नका श्रीमान् लोयड बिन आफ्नी श्रीमतीकै मातहतमा काम गर्छन् भने उनीहरूकी एक छोरी मेलिसा सन् १९९२ मा जन्मिएकी हुन् । विश्वभरका १ सय ६० मुलुकमा शाखा रहेको एरोक्सले आउटसोर्सिङ बिजनेसका लागि डिजिटल डकुमेन्टिङको काम गर्छ । १ लाख ३१ हजार ८ सय कर्मचारी रहेको सेरोक्स कम्पनीले मुख्यत: अफिस प्रिन्टर, मल्टी–फंगसन–प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, डिजिटल प्रेसेसलगायत अन्य अफिसियल इक्विपमेन्ट्स उत्पादन गर्छ । एकल आमाको पालनपोषणमा हुर्किएकी बर्नले मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेकी छिन् । उर्सुलाले आफ्ना सौतेनी छोरालाई समेत कम्पनीको उच्च ओहोदामा पुर्‍याएर आफूसँग ठूलो मन र अथाह ममता भएको प्रमाणित गरेकी छिन् ।

५८ वर्षीया मेरी टेरेसा बारा सन् २०१४ देखि मल्टिनेसनल मोटर कम्पनी जेनरल मोटर्सको अध्यक्ष तथा सिइओ हुन् । कन्सल्ट्यान्ट टोनी बारासँग विवाह गरेकी मेरीका दुई सन्तान छन् । महँगा गाडीका विभिन्न पार्ट–पुर्जालगायत डेकोरेसनका सामग्री निर्माण एवं डिजाइन हुने जेनरल मोटर्सबाट २०१६ सम्ममा १० मिलियन कार बिक्री भैसकेको बताइन्छ । बक, काडिलग, सेभरोलेट, हम्मर, ओकल्यान्ड, एलसीलाफलिङ, ओपेल, जिएमसी आदिका एक्सक्ल्युसिभ १२ ब्रान्डभित्र रहेर ३७ वटा मुलुकमा कार उत्पादन गर्ने यो कम्पनीमा २ लाख १५ हजार कर्मचारी कार्यरत छन् । कम्पनीद्वारा डिजाइन गरिने कतिपय सिर्जनात्मक र नयाँ काममा मेरी आफैं खट्छिन् । १८ वर्षको उमेरदेखि यही कम्पनीमा काम गर्दै आएकी मेरी त्यतिबेला भर्खर हाइस्कुलकी विद्यार्थी थिइन् । सन् २००८ मा आएर उनलाई ग्लोबल म्यानिफ्याक्चरिङ विंग्सको भाइस–प्रेसिडेन्टको पद प्रदान गरियो भने २०११ मा ग्लोबल प्रोडक्ट डेभलपमेन्टको एक्ज्युकेटिभ–भाइस–प्रेसिडेन्टको पदभार सुम्पियो । मेरीको कार्यदक्षता एवं निरन्तरको योगदानको मूल्यांकन गर्दै सन् २०१४ मा उनलाई ग्लोबल मोटर्स कम्पनीको चियरपर्सन तथा सिइओको पद हस्तान्तरण गरियो । टाइम्स म्यागेजिनले उनलाई संसारका सय शक्तिशाली महिलाको सूचीमा राखेको छ ।

एजेन्सीको सहयोगमा

तस्बिरहरू : एजेन्सी

 Image