Successfully Copied

चाडपर्व अनि छुट सेल

जति चाडपर्व नजिकिन्छन्, त्यति नै छुट, सेल, उपहार तथा थरिथरिका अफर बजारमा देख्न सकिन्छ । खाद्यान्न, पहिरन, होम अप्लाइन्सेजदेखि सवारी साधनमा पनि छुट, सेल तथा अफर राखिएको पाइन्छ । दसैंले मानिसलाई सामान जोड्ने राम्रो अवसर जुटाइदिन्छ ।

महान् चाड दसैंमा सबै नेपाली रमाउँछन् । दसैंमा धेरैजसोले आफूलाई मन परेका सामग्री खरिद गर्छन् । अन्य समयको तुलनामा चाडपर्वका बेला प्रशस्त मात्रामा किनमेल गरिन्छ । चाडपर्वमा किनमेललाई ध्यानमा राखेर विभिन्न सामानमा प्रशस्त छुट प्रदान गरिने भएकाले पनि मानिसहरू किनमेलप्रति आकर्षित हुन्छन् । दसैं–तिहारजस्ता चाडपर्वमा उपभोक्ताहरू पनि यो अवसर उम्काउन चाहँदैनन् । गोदावरीकी चन्दा राई छुट–सेलमा राखिएका सामान बढी खरिद गर्छिन् । उनी यो वर्ष पनि छुट र सेलको उपयोग गर्ने योजनामा छिन् । चन्दाजस्तै धेरैले छुट र सेलको उपयोग गर्दै सामान खरिद गर्दै आएका छन् ।

जति चाडपर्व नजिकिन्छन्, त्यति नै छुट, सेल, उपहार तथा थरिथरिका अफर बजारमा देख्न सकिन्छ । खाद्यान्न, पहिरन, होम अप्लाइन्सेजदेखि सवारी साधनमा पनि छुट, सेल तथा अफर राखिएको पाइन्छ । दसैंले मानिसलाई सामान जोड्ने राम्रो अवसर जुटाइदिन्छ ।

सानो पसलमा मात्र नभएर ठूला–ठूला ब्रान्डेड शोरुमहरूमा समेत सेल लाग्ने गरेको छ । मीठो खाने तथा राम्रो लगाउने चाडका रूपमा सुपरिचित दसैंमा पहिरनका साथमा नयाँ टेलिभिजन, ग्याजेट्स आदि किन्ने रहर पनि पूरा गर्छन् । कतिपय मानिसले घरका लागि रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोओभन आदि पनि खरिद गर्छन् ।

अहिलेको प्रतिस्पर्धात्मक बजारमा बिक्रेतालाई को भन्दा को कम भन्ने शैलीमा प्रस्तुत हुन करै लाग्छ । त्यसैले उनीहरू आफ्ना सामग्री तथा उत्पादन खरिदमा उपभोक्ता लोभ्याउने किसिमका अफर ल्याउँछन् । चाडपर्वका समयमा लबिम मल, वल्र्ड ट्रेड सेन्टर, केएल टावर मल, सिभिल मल, काठमाडौं मल, बिग मार्टका साथै दरबारमार्गमा स्थित ब्रान्डेड शोरुम आदि सेलमय भएको देख्न सकिन्छ । यस्ता शोरुम तथा मलमा ब्रान्डेड पहिरनमा ५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिन्छ । यस्ता छुट सेलमा उपभोक्ताले आकर्षक उपहारसमेत प्राप्त गर्छन् । सपिङ भौचरका साथमा, लन्च कुपन, मुभी टिकट, हेयर कट कुपन आदि राखेर पनि ग्राहक आकर्षित गरिन्छ ।

चाडपर्वको समयमा हरेक सामग्रीको किनमेल समान रूपमा हुन्छ । सबै स्तरका नेपालीले आफ्नो हैसियतअनुसार बजेट छुट्याएर दसैं मनाउँछन् । सबैतिर किनमेलको लहर छाउँछ । व्यापारीले राम्रो व्यापार गर्ने समय पनि यही हो । दसैंको आगमनसँगै नेपालीहरूको मनमा एक किसिमको उत्साह छाउँछ जसलाई छुट तथा सेलले थप रौनक प्रदान गर्छ । यही मौका पारेर बिक्रेताले बढीभन्दा बढी सामान बिक्री गर्न विभिन्न अफर तथा योजना ल्याउँछन् । कम नाफा राखेरै भए पनि बढीभन्दा बढी सामान बिक्री गर्ने चाहना उनीहरूको हुन्छ । व्यापारीहरूले पुराना स्टक तथा बचेका एक–दुई पिस सामान पनि दसैंमै कटाउँछन् । सामान चिन्न सके सेलमा राम्रा सामान पनि खरिद गर्न सकिन्छ । दसैंजस्तो चाडपर्वको समयमा आफ्नो बिक्री पिकमा पुग्ने बिक्रेताहरू बताउँछन् । उनीहरूका अनुसार छुटमा सामान बिक्री गर्दा पनि खासै नोक्सान हुँदैन । क्रेता तथा बिक्रेता दुवैका लागि राम्रो अवसर हो–छुट तथा सेल ।

छुट तथा सेलमा सामान किन्दा

-    सेलमा फ्रेसभन्दा पनि पुराना सामान राखिने भएकाले होसियार रहनुपर्छ ।

-    ड्यामेज सामान पर्न सक्छ भनेर सावधानी अपनाउनुपर्छ ।

-    बिक्री भएको सामान साट्न नमिल्ने भएकाले पहिले नै राम्रोसँग हेरेर सामान खरिद गर्नुपर्छ ।

-    सेलमा राखिएका सामान किन्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ ।

छुट–सेलका फाइदा

-    छुट, सेलमा नराम्रा सामान मात्र राखिएका हुँदैनन्, राम्रा सामान पनि हुन्छन् ।

-    छानी–छानी सस्तोमा सामान किन्न पाइन्छ ।

-    स्टक क्लियरेन्स गरिने हुँदा महँगा सामान पनि सस्तोमा पाइन्छ ।

अनलाइन सपिङ

-    अहिले नेपालमा अनलाइन सामान खरिद गर्न सकिने थुप्रै वेबसाइट तथा एप उपलब्ध छन् ।

-    अनलाइन सपिङको क्रेज बढ्दो छ । घर वा अफिसमै बसी–बसी कम्प्युटरबाट विभिन्न सामग्री अर्डर गर्न सकिन्छ ।

-    यस्ता साइटका कारण धेरै सामान एकै ठाउँमा पाइन्छ भने सामान खरिद गर्न पसल–पसल चहारिरहनुपर्दैन ।

-    विभिन्न पसलका सामानको मूल्य तुलना तथा बार्गेनिङ गर्ने झन्झट हुँदैन ।

-    अनलाइन सपिङ गर्दा आफूले चाहेकै स्थानमा सामान डेलिभरी हुन्छ । डेलिभरीकै समयमा बिल पेमेन्ट गर्न सकिन्छ ।

अनलाइन सपिङ गर्दा ध्यान दिनुपर्ने कुरा

-    अनलाइन सपिङका क्रममा केही कुरामा भने ध्यान पुर्‍याउनुपर्छ ।

-    सामान अर्डर गर्नुअघि वेबसाइटको प्राइभेसी पोलिसीमा ध्यान दिनुपर्छ ।

-    किनमेल गर्दा सामानको सम्पूर्ण जानकारी राखिएको वेबसाइट नै छनोट गर्नुपर्छ ।

-    सामान खरिद गर्ने निश्चित नभएसम्म क्रेडिट कार्डको डिटेल दिनुहुँदैन । क्रेडिट कार्डबाट पेमेन्ट गर्दा साइटको युआरएल चेक गर्नुपर्छ ।

-    नयाँ वेबसाइट छनोट गर्नुभन्दा पनि किनमेल गरिसकेको वेबसाइटबाट सामान खरिद गर्नुपर्छ ।

-    अनलाइन सामान अर्डर गर्दा सार्वजनिक भन्दा पनि व्यक्तिगत कम्प्युटर प्रयोग गर्नुपर्छ । सार्वजनिक स्थानको कम्प्युटर प्रयोग गरे काम सकिएपछि लग आउट गर्नुपर्छ ।

-    किनमेलपछि समय, मिति, रसिद नम्बर आदि नोट गर्नुपर्छ । सम्भव भए प्रिन्ट निकाल्ने अन्यथा डेस्कटपमा सेभ गर्ने ।

-    डेबिट कार्डको साटो क्रेडिट कार्डको माध्यमबाट किनमेल गर्नु सुरक्षित हुन्छ । डेबिट कार्डबाट किनमेल गर्दा रकम छिट्टै स्थानान्तर हुने तथा ठगिने सम्भावना बढी हुन्छ ।

-    कुनै पनि सामान खरिद गर्नुभन्दा पहिले सामानको मूल्य तथा अतिरिक्त मूल्यमा ध्यान पुर्‍याउनुपर्छ । उक्त सामान खरिद गर्दा प्याकेजिङ, डेलिभरी चार्ज आदि जोडिएको छ–छैन, निश्चित गर्नुपर्छ ।

-    खरिद गरिएका सामानको वारेन्टी तथा ग्यारेन्टीमा ध्यान दिनुपर्छ । खरिद गरिसकेका सामानमा कुनै खराबी फेला परे फिर्ता हुन्छ–हुँदैन खरिद गर्नुअघि नै निश्चित गर्नुपर्छ ।

 

 Image