Successfully Copied

हरेक १० जना मध्ये १ जनामा पित्तथैलीको पत्थरी हुन्छ

हामीले खाएको खाना पच्ने प्रक्रियामा पित्तको महत्वपूर्ण भूमिका हुन्छ । कलेजोमा बनेर पित्तनली हुँदै आन्द्रामा मिसिने पित्तमा भएका विभिन्न प्रकारका नुनहरू हुन्छन् जुन जम्नसक्छन् र पत्थरी बन्छन् । यी पत्थरहरू पित्तथैलीमा हुनसक्छन् जसलाई पित्तथैलीको पत्थरी भनिन्छ । हामीमध्ये करिब १० प्रतिशत मानिसमा पित्तथैलीको

पित्तथैलीको पत्थरी के हो ?

हामीले खाएको खाना पच्ने प्रक्रियामा पित्तको महत्वपूर्ण भूमिका हुन्छ । कलेजोमा बनेर पित्तनली हुँदै आन्द्रामा मिसिने पित्तमा भएका विभिन्न प्रकारका नुनहरू हुन्छन् जुन जम्नसक्छन् र पत्थरी बन्छन् । यी पत्थरहरू पित्तथैलीमा हुनसक्छन् जसलाई पित्तथैलीको पत्थरी भनिन्छ । हामीमध्ये करिब १० प्रतिशत मानिसमा पित्तथैलीको पत्थरी देखिन्छ । दस जनामध्ये १ जनामा हुने यो रोगको उपचारका लागि गरिने अप्रेसन संसारभरमा सबैभन्दा धेरै गरिने पेटको अप्रेसनमध्ये एक हो ।

यो रोग कुन उमेरमा बढी देखिन्छ ?

३० देखि ४५ वर्षमा यो रोग बढी देखिन्छ ।

महिला वा पुरुषमध्ये कसमा यो रोग बढी पाइन्छ ?

यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिएको छ । अहिले यसका रोगीसमेत बढिरहेका छन् । एस्ट्रोजन हार्मोनका कारण यो समस्या महिलामा बढी देखा परेको हो ।

पित्तथैलीको पत्थरी के कारणले हुन्छ ?

वंशानुगत कारणले पनि यो रोग देखिएको अध्ययनहरूबाट पत्ता लागेको छ । मोटोपन, मधुमेह, तौल धेरै घट्नु, नियमित रूपमा व्रत बस्नु, गर्भनिरोधक चक्कीको अत्यधिक सेवन आदिले पनि पित्तथैलीको पत्थरी हुने सम्भावना वृद्धि हुन्छ ।

पित्तथैलीको पत्थरी हुँदा के–कस्ता लक्षण देखा पर्छन् ?

सामान्यतया यसमा बिरामीको कुनै लक्षण देखा नपर्न सक्छ । कतिपयमा भने विभिन्न लक्षण देखा पर्न सक्छन् । पेट, दाहिने कोखा तथा माथिल्लो पेट दुख्ने हुनसक्छ । पीडा कहिलेकाहीँ दाहिने पाखुरा वा ढाडतिर सर्न सक्छ । चिल्ला खानेकुरा खाएपछि पीडा वृद्धि हुन्छ । २४ घन्टाजति दुखेपछि ठीक हुन्छ तर रोग जटिल हुँदै गएपछि भने दिनहुँ दुख्न थाल्छ । यसैगरी पेट ढुस्स भएर फुल्ने, अपच हुने तथा डकार आउने आदि पनि हुनसक्छ ।

पित्तथैलीको पत्थरीका जटिलताहरू के–के हुन् ?

धेरै बिरामीमा जटिलता देखा नपरे पनि कतिपय बिरामीमा भने पत्थरीकै कारण खतरा उत्पन्न हुनसक्छ । त्यसमा पित्तथैलीमा संक्रमण, प्यांक्रियाजको संक्रमण, जन्डिस तथा पित्तथैलीको क्यान्सर आदि प्रमुख छन् ।

यसको उपचार के छ ?

यसको एकमात्र उपचार अप्रेसन गरेर पित्तथैली निकाल्नु नै हो । अहिले यो अप्रेसन दूरबिन प्रविधिबाट गरिन्छ । प्रविधिको विकासका कारण उपचार निकै सहज भएको छ । अप्रेसन गरेको २४ घन्टामै बिरामी घर जान सक्छन् ।

                                                                             - डा. राकेशकुमार शाह

                                                             ग्यास्ट्रोसर्जन, ग्रान्डी इन्टरनेसनल हस्पिटल

पित्तथैलीको पत्थरी

- संसारमा सबैभन्दा धेरै गरिने पेटको अप्रेसनमध्ये पित्तथैलीको पत्थरी झिक्न गरिने अप्रेसन पहिलो नम्बरमा आउँछ ।

- दूरबिन प्रविधिबाट अप्रेसन गर्दा बिरामीलाई कम पीडा हुन्छ भने घाउ संक्रमण हुने तथा पाक्ने समस्या पनि न्यून हुन्छ ।

- पीडा कम हुनाले अप्रेसन गरेको ४ देखि ६ घन्टामा बिरामी हिँडडुल गर्न थाल्छन् । सामान्य मानिससरह खानेकुरा खान सकिन्छ । अप्रेसन गरेको ४८ देखि ७२ घन्टामा बिरामी सामान्य कामकाज गर्न सक्ने हुन्छन् ।

- पत्थरीको उपचार गर्न औषधि होइन शल्यक्रिया नै आवश्यक हुन्छ ।

- सानो पत्थरी हुँदैमा कम असर पर्छ भन्ने हुँदैन । पित्तथैलीको पत्थरी निकालेपछि कुनै समस्या उत्पन्न हुँदैन ।

 Image