Successfully Copied

जाडो मौसमका बेहुलीले ध्यान दिनुपर्ने कुरा

यो महिनादेखि नै चिसो पनि बढ्ने भएकाले अनुहारका साथसाथै हातखुट्टाको समेत राम्रोसँग स्याहार गर्नुपर्ने हुन्छ । यो मौसममा चल्ने चिसो हावाले छालाको नरमपन सोसेर त्यसलाई सुख्खा तथा चाउरीयुक्त तुल्याउँछ तसर्थ छालाको बाहिरी हेरचाहका साथै खानपानमा पनि केही परिवर्तन गर्नुपर्छ ।

 

मंसिर महिनामा सबैभन्दा बढी विवाह हुन्छ । यो महिनादेखि नै चिसो पनि बढ्ने भएकाले अनुहारका साथसाथै हातखुट्टाको समेत राम्रोसँग स्याहार गर्नुपर्ने हुन्छ । यो मौसममा चल्ने चिसो हावाले छालाको नरमपन सोसेर त्यसलाई सुख्खा तथा चाउरीयुक्त तुल्याउँछ तसर्थ छालाको बाहिरी हेरचाहका साथै खानपानमा पनि केही परिवर्तन गर्नुपर्छ । झोल तथा पोषणयुक्त (प्रोटिन बढी भएका) खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ भने मसालेदार एवं चिल्लो–पिरो खाने कुरा कम खानुपर्छ ।

यो मौसममा बेहुली हुनेहरूले एक महिनाअघिदेखि नै आफ्नो स्वास्थ्य, अनुहार, हातखुट्टा तथा केशको रेखदेख गर्नुपर्ने हुन्छ ।

केश : यो मौसममा केश बढी सुख्खा भएर झर्ने, टुक्रने तथा चिलाउने समस्या हुन्छ । यसलाई रोक्न हप्तामा तीन पटक मनतातो तेलले केश मसाज गर्नुपर्छ । केशको जरामा प्याजको रस दलेर एक घन्टापछि पखाल्दा जरा बलियो भै केश झर्न तथा टुक्रन कम हुन्छ ।

छाला : यो मौसममा शरीरको छाला सुख्खा हुन्छ । अझ हातखुट्टा तथा अनुहार बढी खुल्ला हुने भएकाले मौसमको मार पनि यी भागमै बढी पर्छ फलस्वरूप छाला फुट्ने तथा चाउरी पर्ने समस्या उत्पन्न हुन्छ । यसबाट जोगिन ग्लिसिरिनमा रोजवाटर मिसाएर सुत्नुअघि अनुहार तथा हातखुट्टामा लगाई हल्कासँग मसाज गर्नुपर्छ अनि बिहान सफा पानीले पखालेर मोइस्चराइजर बढी भएको राम्रो क्रिम लगाउनुपर्छ । यसबाट छाला मुलायम तथा चम्किलो रहन्छ ।

ब्राइडल मेकअप गर्ने विधि

ब्राइडलमेकअप गर्नुअघि फेस क्लिन्जिङ (सफा) गर्ने । त्यसपछि रोजवाटर वा टोनरले फेसमा स्प्रे गर्ने । अनुहार बढी सुख्खा छ भने थोरै मोइस्चराइजर प्रयोग गर्ने । त्यसपछि फेस प्राइमर लगाउने अनि कन्ट्रोलरले फेसको सेप मिलाउने । आफ्नो छालाको रंगसँग मिल्दो फाउन्डेसन लगाउने । त्यसपछि आइमेकअप गर्ने । आँखामा डार्क सर्कल छ भने आँखा वरिपरि वेसकोट लगाउने अनि पहिरन सुहाउने गरी गोल्डेन तथा रेड कलर मिक्स गरेर आइस्याडो लगाउने ।

आँखाको माथिल्लो भागमा गोल्डेन वा ह्वाइट कलरले हाइलाइट गर्ने । त्यसपछि आँखाको सेपअनुसार आइग्लास लगाउने अनि त्यसमाथि आइलाइनर लगाई फेरि मस्कारा लगाउने । त्यसपछि रोज वा ब्लसरले गाला, चिउँडो तथा नाकमा हल्का टच–अप गर्ने । ओठमा पहिरन सुहाउँदो वाटरप्रुफ लिपिस्टिक लगाउने । यसरी अनुहारको मेकअप पूरा भएपछि केशमा जुरो बनाउन सकिन्छ ।

अनुहारको बनावटअनुसार सिउँदो बनाई पफ उठाएर रोज जुरो वा हेभी जुरो बनाउने । बेहुलीले आधुनिक मेकअप गर्न चाहे एयरब्रस इलेक्ट्रिक वाटरप्रुफ मेकअप पनि गर्न सक्छन् । त्यसका लागि भने पार्लर नै जानुपर्ने हुन्छ ।  

                                                     - सिर्जना प्रधान पोखरेल

                                           महेक ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर

                                              कात्यायनी चोक, पुरानो बानेश्वर

 Image