Successfully Copied

बाइक राइडर जोडी दीपेश र मेरिना

दीपेशसँग मोटर स्पोट्र्सको अनुभव एवं ज्ञान छ भने मेरिनासँग सिर्जनशीलता, उत्साह एवं जाँगर छ । यसरी दुवैका गुणहरू मिले भने आफ्नो क्षेत्रलाई अझ धेरै कुरा दिन सकिन्छ भन्ने सोचका कारण आफूहरूले एक–अर्कालाई चुनेको उनीहरू बताउँछन् । एउटै क्षेत्रको हुँदा एकले अर्काेलाई बुझ्न, एक–अर्काको

 

 

नेपालमा मोटर स्पोर्ट्सलाई अन्तर्राष्ट्रिय रूपमा लाने सोच थियो दीपेश श्रेष्ठको । त्यसलाई कसरी अघि बढाउने सपना नै थियो, दीपेशको सपनालाई सार्थक बनाउन उनकै जस्तो रहर बोकेकी मेरिना श्रेष्ठ उनको जीवनमा आइपुगिन् । मेरिनाको पनि दीपेशको जस्तै मोटर स्पोर्ट्समा रुचि थियो । मेरिनाले बाल्यकालमा अरू युवतीहरूले जस्तो पुतली, भाँडाकुँडाजस्ता खेल कहिल्यै खेलिनन् । सानैदेखि गाडीहरू कलेक्सन गर्नु र खेल्नु उनको रुचि थियो । यसरी रुचि मिल्ने यो जोडीको भेट चार वर्षअघि मेरिनाले आयोजना गरेको बाइक राइडिङ प्रोग्राममा भएको थियो । पहिलो भेटमै दीपेश मेरिनाको कामप्रतिको झुकाव, मेहनत एवं सिर्जनशीलता देखेर आकर्षित भए ।

पछि उनीहरू सँगसँगै काम गर्न थाले र राइडर युनिफाइडमा मेरिना पनि संयोजकका रूपमा आबद्ध भइन् । दुवैको एउटै रहर, एउटै सपना भएकाले उनीहरू अझ नजिकिन थाले । फलत: भेट भएको ३ वर्षमै उनीहरूले जीवनसाथीका रूपमा सम्बन्धलाई अघि बढाए । बाइक राइडर युनिफाइडबाट यो जोडीले बाइक स्टन्ट, रेसिङ शोजस्ता प्रतियोगिताहरू आयोजित गर्नुका साथै तालिमसमेत प्रदान गर्छन् ।

दीपेशसँग मोटर स्पोट्र्सको अनुभव एवं ज्ञान छ भने मेरिनासँग सिर्जनशीलता, उत्साह एवं जाँगर छ । यसरी दुवैका गुणहरू मिले भने आफ्नो क्षेत्रलाई अझ धेरै कुरा दिन सकिन्छ भन्ने सोचका कारण आफूहरूले एक–अर्कालाई चुनेको उनीहरू बताउँछन् । एउटै क्षेत्रको हुँदा एकले अर्काेलाई बुझ्न, एक–अर्काको कामलाई सहयोग गर्न धेरै सहयोग पुग्ने मेरिनाको अनुभव छ । अरू क्षेत्रकै व्यक्तिसँग विवाह गरेको भए मेरिना र दीपेश दुवैलाई यो क्षेत्रमा यसरी लाग्न सकिँदैनथ्यो भन्ने लाग्छ । दीपेशलाई कुनै समस्या हुँदा, केही आइडिया चाहिँदा मेरिनाले समाधान गरिदिन्छिन् भने मेरिनालाई आपत् पर्दा दीपेशले साथ दिन्छन् । उनीहरू दुवैको साझा सपना भन्नु नै नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउन सक्षम बनाउनु हो ।

मेरिना अहिले लेडी राइडरहरूका लागि विभिन्न प्लेटफर्म तयार पारिदिने थुप्रै काम गरिरहेकी छिन् । घरको व्यवस्थापन गरेर बाहिरको काममा समय मिलाउन माहिर मेरिनालाई विवाहपछि काम गर्न अझ सजिलो भएको अनुभव छ । स–साना कुरा पनि एक–अर्कालाई सोधेर, सल्लाह गरेर गर्ने यो राइडर जोडी मोटर स्पोट्र्समा रमाउँदै जीवन बिताइरहेको छ ।

एउटै क्षेत्रमा हुँदा : दुवैजना एउटै क्षेत्रमा भएकाले प्रतिस्पर्धाको भावना आउनु तथा काम एकै पटक हुने हुँदा घरलाई समय दिन नसक्नु ।

दीपेशका बारेमा मेरिना

मोटर स्पोट्र्सका लागि मरिहत्ते गर्ने । काममा दत्तचित्त भएर लाग्ने, नि:स्वार्थ एवं सहयोगी भावना भएको व्यक्ति ।

मेरिनाका बारेमा दीपेश

नयाँ–नयाँ सोचहरू ल्याइरहने, मेरा हरेक काममा सहयोग र साथ दिने ।

 Image