Successfully Copied

एक्सटेरियर र इन्टेरियरमा ए वान घर

इन्टेरियर डिजाइनको प्रक्रियामा धेरै विषय थपिँदै गएका छन् । पहिले इन्टेरियर भन्नासाथ घरभित्रको सजावट बुझिन्थ्यो भने अहिले बाहिरी सजावट अर्थात् एक्सटेरियरलाई पनि उत्तिकै महत्व दिन थालिएको छ । भैंसेपाटीस्थित भूपेन्द्र सिंहको यो घरलाई एक्सटेरियरदेखि इन्टेरियर लुकसम्मलाई भिन्न रूप दिइएको छ ।

इन्टेरियर डिजाइनको प्रक्रियामा धेरै विषय थपिँदै गएका छन् । पहिले इन्टेरियर भन्नासाथ घरभित्रको सजावट बुझिन्थ्यो भने अहिले बाहिरी सजावट अर्थात् एक्सटेरियरलाई पनि उत्तिकै महत्व दिन थालिएको छ । भैंसेपाटीस्थित भूपेन्द्र सिंहको यो घरलाई एक्सटेरियरदेखि इन्टेरियर लुकसम्मलाई भिन्न रूप दिइएको छ । २ हजार ७ सय ६४ स्क्वायर क्षेत्रफलमा निर्मित यो घरको एक्सटेरियरलाई फरक गरेर नयाँ लुक दिइएको छ ।

यो घरमा ४ वटा बेड रुम, भान्सा, डाइनिङ, लिभिङ रुम, फेमिली लाउन्ज, जिम, पूजाकोठा तथा स्टोरहरू छन् । घर वरिपरि बगैंचा, पार्किङ तथा टेरेस गार्डेन सेट गरिएको छ । सबै कोठामा मज्जाले उज्यालो आउने गरी भेन्टिलेसनको प्रयोग गरिएको छ । जमिनको सतहबाट डेढ फिट माथि उठेको मुख्य ढोकाले केन्द्रविन्दुको काम गरेको छ । मुख्य ढोकाबाट लिभिङ रुम र डाइनिङको सम्बन्ध देखिन्छ, जसले खुल्लापन महसुस गराउँछ ।

फ्लोरिङ, लिभिङरुम, पार्किङ तथा वाक एरियामा टायलले आइलेबल ब्रेक गर्छ । लिभिङ रुमका वालमा भिन्नाभिन्नै किसिमको डिजाइनले उक्त ठाउँको विशेषता बढाएको छ । लिभिङसँगै जोडिएको भर्‍याङले शोभा बढाउनुका साथै त्यसमाथिको सिलिङ झुमरले खानदानी झलक दिएको छ । लिभिङ रुमको दायाँतर्फ भान्सा र डाइनिङ क्षेत्र छुट्याइएको छ । लिभिङ र डाइनिङलाई ल्याटिक अर्थात् जालीले छुट्याइएको छ जसले गर्दा उज्यालो छेकिँदैन र यसले सुन्दरतासमेत बढाएको छ ।

यो घरको पहिलो तल्लाको मुख्य आकर्षण फेमिली लाउन्ज हो । फेमिली लाउन्जमा फल्सवाल क्रिएट गरी टिभी वाल बनाइएको छ जसले सेन्टर अफ एट्राक्सनको काम गरेको छ भने मास्टर बेड रुम जाने प्यासेजमा कन्सोलले घरको स्टाइल वृद्धि गरेको छ । कन्सोल वालमा ऐनाको प्रयोगले आकर्षण थपेको छ । चिल्ड्रेन रुममा स्पाइडर म्यानको वाल मुुरल सजाइएको छ । यो कोठालाई नीलो तथा वुड कलरको कम्बिनेसन मिलाएर हाइलाइट गरिएको छ । मास्टर बेडरुममा बेडलाई फोकस प्वाइन्टका रूपमा डिजाइन गरी टिभी वाल डिजाइन गरिएको छ । कोठाको दाहिनेतिर स्टोरेज हुने गरी डिजाइनर लुक निकालिएको छ भने माथिल्लो तल्लामा जिम हल तथा टेरेस छ ।

यो घरको फल्स सिलिङलाई बेग्लाबेग्लै सोचअनुरूप डिजाइन गरिएको छ । लिभिङ रुममा सिसा तथा जालीमा नयाँपन ल्याउनुका साथै टिभी क्याबिनेट सँगै सिंक्रोनाइज गरिएको छ । फेमिली लाउन्जको फल्स सिलिङले सेन्टरलाई हाइलाइट गरेको छ । फेमिली लाउन्जबाट ग्राउन फ्लोरको मुख्य प्रवेशद्वार हेर्दा आकर्षक देखिने गरी डिजाइन गरिएको छ । यसको गार्डेन विन्डो टेरेसको हरियालीले सबैलाई फ्रेस तुल्याउँछ भने बाहिरबाट माथि हेर्दा पनि टेरेसको हरियालीले सबैको मन लोभ्याउँछ ।

                                            सपना भुसाल, इन्टेरियर डिजाइनर

                                        बेलाकासा कम्पनी, बुद्ध नगर, काठमाडौं

 Image