Successfully Copied

एक–अर्काको प्रेममा मग्न मल्होत्रा जोडी

अध्ययन पूरा गरी दिकेश नेपाल आएपछि जेनिशा र दिकेश दुवैले इन्टर्नसीपका लागि सामसुङमा सँगै काम गरे । कामलाई महत्व दिने उनीहरू एमबीए पढ्न सँगै बेलायत गए । एक वर्ष सँगै बस्दा एका–अर्कासँग नजिकिन र एक–अर्कालाई बुझ्न अझ सजिलो भयो । उनीहरूको अफेयरको हल्ला

 

मिस नेपाल–२००९ जेनिशा मोक्तान तथा व्यवसायी दिकेश मलहोत्रा जीवनसाथीका रूपमा जीवनभरि नै एक–अर्काको मायामा हराउन चाहन्छन् । व्यापारी घरानामा जन्मिएका दिकेशलाई बुवाको काम अर्थात् व्यवसायबाहेक अरू कुनै काममा रुचि भएन । त्यसैले उनले अमेरिका र बेलायत गएर सोही विषय अध्ययन गरे । मिस नेपाल हुनुअघि नै विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी जेनिशा र दिकेशको भेट दिकेशकी फुपूकी छोरी प्रियंकाको इंगेजमेन्टमा भएको हो । त्यतिबेला दिकेश अमेरिकाबाट दुई महिने छुट्टीमा नेपाल आएका थिए । कम बोल्ने, सोझो र इनोसेन्स दिकेशको शान्त र हँसिलो स्वभाव जेनिशाको मनमा डेरा जमाउन पर्याप्त भयो । दिकेश पनि जेनिशाको व्यक्तित्वबाट प्रभावित थिए ।

दार्जीलिङमा पढेकी जेनिशाले एक्लै शान्त बसिरहने दिकेशलाई त्यहाँका जोक्सहरू सुनाएर हँसाइरहन्थिन् । जोक सुन्दै–सुनाउँदै उनीहरू एक–अर्कासँग नजिकिँदै गए । केटीहरूसँग बोल्दै नबोल्ने आफू जेनिशासँग बस्ने–बोल्ने तथा घुम्ने थालेपछि सबैले जिस्काउन थालेको दिकेश बताउँछन् । दिकेश अमेरिका फर्किएपछि उनीहरूको सम्बन्ध अझ गाढा भयो । समय मिल्नेबित्तिकै उनीहरूबीच कुराकानी हुन थाल्यो । अध्ययन पूरा गरी दिकेश नेपाल आएपछि जेनिशा र दिकेश दुवैले इन्टर्नसीपका लागि सामसुङमा सँगै काम गरे । कामलाई महत्व दिने उनीहरू एमबीए पढ्न सँगै बेलायत गए ।

एक वर्ष सँगै बस्दा एका–अर्कासँग नजिकिन र एक–अर्कालाई बुझ्न अझ सजिलो भयो । उनीहरूको अफेयरको हल्ला दुवैको घरमा पनि पुगिसकेको थियो । दुुवै परिवारले सुरुमा यो सम्बन्धलाई स्वीकार गरेका थिएनन् । हुन त दिकेशको परिवार पूरै अन्तरजातीय भए पनि दिकेश सोझो छ तामाङ केटीले बर्बाद पो गर्छे कि भन्ने थियो । उता जेनिशाको घरमा पनि फरक संस्कृति भएको घरमा छोरीलाई गार्‍हो हुन्छ कि भन्ने थियो । दुवैको गहिरो प्रेमका अगाडि घरपरिवारको केही लागेन र अन्तत: पारिवारिक समझदारीमै उनीहरूको विवाह भयो ।

विवाहअघि पनि सँगै काम गर्ने भएकाले जेनिशा बूढानीलकण्ठबाट दिकेशको घर धुम्बाराही आउँथिन् र उनीहरू सँगै अफिस जान्थे । बेलुका डिनर गरेपछि जेनिशालाई घर पुर्‍याइदिन्थे दिकेशले । त्यतिबेला जेनिशा सामसुङकी एचआर हेड थिइन् । अहिले उनी डिएम फाउन्डेसनको डाइरेक्टर छिन् । जेनिशाको कामबाट दिकेश मात्र होइन सासू–ससुरा पनि उत्तिकै प्रभावित छन् । घरमा लन्च, डिनर सकभर सबै जना सँगै बसेर खाने चलन छ ।

शनिबार सपरिवार हलमा गएर चलचित्र हेर्छन् । आमा नेवार, बुवा क्षेत्री र श्रीमती तामाङ भएकाले दिकेश आफ्नो परिवारलाई बहुसांस्कृतिक परिवार भन्न रुचाउँछन् । जेनिशा पनि घरमा जाँदा घरको र माइतीमा जाँदा माइतीको संस्कृति मान्छिन् ।

 

दिकेश पनि उस्तै छन् । विवाहअघि जेनिशामा धेरै रिसाउने, चित्त नबुझेको कुरा भनिहाल्ने स्वभाव थियो भने अहिले उनको रिस निकै कन्ट्रोल भएको छ । श्रीमान्–श्रीमती भएपछि कहिलेकाहीँ झगडा हुनुपर्छ भन्ने सोच जेनिशाको छ तर दिकेश कसैसँग पनि झगडा गर्नुहुँदैन भन्ने मान्यता राख्छन् । जेनिशाले केही कुरामा किचकिच गरिहाले उनी बाहिर निस्कन्छन् वा चुपचाप बसिदिन्छन् । दिकेश जसरी भए पनि समय मिलाएर एक्सरसाइज गर्छन् भने जेनिशा यो मामिलामा अल्छी छिन् । यो कुरामा दिकेशको गुनासो छ तर जेनिशाको हातले तयार पारेको मीठो खाना खाएपछि उनी आफ्ना सारा गुनासा बिर्सन्छन् । एक–अर्काप्रति सम्मान भएकै कारण सात वर्षको यो सम्बन्ध दिनप्रतिदिन अझ गाढा हुँदैछ ।

संगीत पारखी

दिकेश हर समय गीत सुन्न रुचाउँछन् । पप, रक, लोक, क्लासिकल, नयाँ, पुराना सबै गीत सुने पनि राहत फतेह अलि खानको सुफी संगीत बढी मन पराउँछन् उनी । जेनिशालाई भने नेपाली पप गीत मन पर्छन् । अहिले आएर उनी हेमन्त रानाकी प्रशंसक भएकी छिन् । दिकेश ड्रम र गितार बजाउन पनि उत्तिकै सिपालु छन् । जेनिशा भने अन्ताक्षरी खेल्न रुचाउँछिन् ।

खेलकुदमा रुचि

जेनिशालाई स्विमिङ तथा ब्याडमिन्टन सारै मनपर्छ । उनी टिभीमा घन्टौं क्रिकेट हेर्न सक्छिन् । दिकेश भने फुटबल खेल्न तथा हेर्न रुचाउँछन् भने अहिले उनी गल्फ पनि खेल्न थालेका छन् । दिकेश घरमा भिडियो गेमसमेत खेल्छन् ।

उपहार दिन माहिर दिकेश

बाहिर गैरहनु परेर पनि होला उपहार किन्ने बानी छ दिकेशको । नेपालमै पनि कतै जाँदा उनी उपहार किन्न छुटाउँदैनन् । दिकेश अनलाइन सपिङमा सारै रमाउँछन् । अहिले त हरेक दिन जेनिशालाई अनलाइन सरप्राइज उपहारहरू आइरहन्छन् । घरमा चाहिने आवश्यक सामानहरू दिकेशले नै अनलाइनमार्फत जेनिशाका लागि च्वाइस गरी पठाइरहन्छन् । दिकेशको यो बानी जेनिशालाई सारै मन पर्छ ।

 

सम्बन्ध बलियो बनाउन

मानिसहरू आफूले गरेको सबै देख्छन् तर अरूले गरेको देख्दैनन् । त्यसैले पनि मैले मात्र गरें भन्ने सोच पनि सम्बन्ध बिग्रनुको कारण हो । एकले अर्काका लागि मैले यति कम्प्रमाइज गरें भन्ने भावना आउँदा र केटाहरूमा विद्यमान मै ठूलो, मैले भनेकै हुनुपर्छ भन्ने इगोका कारण धेरै सम्बन्ध बिग्रिएको पाइन्छ । सम्बन्ध बलियो तुल्याउन एकले अर्काको कामप्रति सम्मान गर्नुपर्छ, आफू जस्तो छु, अरू पनि त्यस्तै हुनुपर्छ भन्ने सोच नराखी मिलेर अघि बढ्नुपर्छ ।

 Image