Successfully Copied

गृहनिर्मात्री होइन गृहनिर्माता

यसरी हेर्दा उनीहरूको जोडी कतिपय चलचित्रमा देखाइएजस्तो काल्पनिक पनि लाग्नसक्छ तर वास्तविकतामै उनीहरू सफल एवं सुखी जीवन बिताइरहेका छन् । यहाँ केवल भूमिका फेरिएको छ । यही एक उदाहरण नै हिजोआज महिलाहरूको बदलिँदो भूमिका दर्शाउन पर्याप्त छ ।

एउटा उदाहरण हेरौं, कल्पना एउटा राम्रो कम्पनीमा उच्च पदमा छिन् उनको कमाइ पनि राम्रो छ भने उनका श्रीमान् नीरज घरै बसेर सबै घरायसी काम हेर्छन् । जसरी अरूका पत्नीहरू घरको काम सम्हाल्छन् त्यसरी नै उनी आफ्नो घर सम्हाल्छन् । बिहान उठेपछि श्रीमतीका लागि नास्ता, खाना तयार पार्ने, पहिरन सफा पार्नेदेखि भाँडा माझ्ने, बालबच्चालाई स्कुलका लागि तयार पार्ने, बसस्टपसम्म पुर्‍याउने, बजार गै सागसब्जी खरिद गर्नेजस्ता सबै काम उनैले भ्याउँछन् । श्रीमानले यसरी घर सम्हालिदिएपछि कल्पनालाई धेरै सजिलो भएको छ उनी ढुक्कले कार्यालयको काममा लाग्न पाएकी छिन् । घरपरिवारको सारा खर्च भने उनैले बेहोर्नुपर्छ । यसरी हेर्दा उनीहरूको जोडी कतिपय चलचित्रमा देखाइएजस्तो काल्पनिक पनि लाग्नसक्छ तर वास्तविकतामै उनीहरू सफल एवं सुखी जीवन बिताइरहेका छन् । यहाँ केवल भूमिका फेरिएको छ । यही एक उदाहरण नै हिजोआज महिलाहरूको बदलिँदो भूमिका दर्शाउन पर्याप्त छ । यो हाम्रो परम्परागत सामाजिक व्यवस्थामा अमिल्दो देखिनुका साथै पुरुषसत्ताका लागि चुनौती पनि हो तर बिस्तारै हाम्रो समाजमा गृहनिर्मात्रीको सट्टा गृहनिर्माताहरू देखा पर्दैछन् । यसरी बदलिएको भूमिकाका कारण समानतामूलक समाज निर्माणको बाटो पनि कोरिँदै छ ।

घरको काम गर्नु कमजोरी होइन

हाम्रो सामाजिक व्यवस्थाअनुसार घरको कामलाई काम मानिँदैन तसर्थ महिलालाई कमजोर मानेर घरको काममा लगाउने तथा पुरुष कमाइ गर्न घरबाहिरको काममा लाग्ने परिपाटी छ । यद्यपि यो परिपाटी सर्वथा गलत छ । घरको काम बाहिरी कामभन्दा कुनै पनि हिसाबले सजिलो छैन र घरको काम गरेर बस्नु कमजोरी पनि होइन । फिटनेस एक्सपर्टहरूका अनुसार पनि अफिसमा आठ घन्टा कुर्सीमा बसेर काम गर्नुभन्दा घरको काममा बढी मेहनत पर्छ र बढी क्यालोरी खर्च हुन्छ । त्यसकारण उनीहरू कुर्सीमा बसेर काम गर्नेहरूलाई हरेक आधा घन्टाको अन्तरालमा केही बेर उठेर यताउति टहल्ने सल्लाह दिन्छन् । घरको भान्सामा काम गर्नु, सरसफाइका लागि बढारकुँडार एवं पुछपाछ गर्नु, कपडा धुनु आदिजस्ता काम एकप्रकारले सम्पूर्ण व्यायाम नै हो । यसकारण घरको काम गर्नु कमजोरी होइन तागतको प्रतीक हो ।

घरको काम सिक्नु आवश्यक

पुरुषहरूलाई पतिको पदवी मिलिसकेपछि जीवन सहज होस् भन्ने अभिप्रायले घरको काम पनि सिकाउनु जरुरी छ । घरायसी काममा पोख्त पुरुषहरूले नै आगामी दिनमा असल श्रीमान्को भूमिका निर्वाह गर्न सक्छन् अन्यथा उनीहरूको दाम्पत्य जीवन समेत धरापमा पर्न बेर लाग्दैन । केटाहरूलाई समयमै घरको काम सिकाइएको खण्डमा भावी दिनमा उनीहरू श्रीमतीको करियर तथा व्यक्तित्व निर्माणमा सच्चा सहयोगी साबित हुनसक्छन् ।

परिवर्तन आवश्यक

संस्कारजन्य सोचमा परिवर्तन आवश्यक छ । यो काम पुरुषको, यो काम महिलाको भनेर अघोषित रूपले तोकिएका संस्कारजन्य वा परम्परागत सोचलाई निरन्तरता दिनु आधुनिक युगसापेक्ष हुन सक्दैन । सानैदेखि सिकाउने र प्रेरणा दिने हो भने कुनै पनि त्यस्तो कुनै काम छैन जुन पुरुषले सक्ने महिलाले नसक्ने होस् । वर्तमान समयमा कार्यक्षेत्रमा विद्यमान सीमारेखा क्रमश: उल्लंघन भैरहेका छन् । कमाइ हुने क्षेत्रमा पुरुष तथा घरको कामकाजमा महिला खटिने परम्परागत सोचमा बिस्तारै धमिरा लागिरहेको छ ।

आधुनिक व्यस्त जीवनशैलीमा अभ्यस्त महिलाहरू घर–अफिस दुवैतर्फको जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरिरहेका छन् भने जागरुक पुरुषहरू पनि अर्धांगिनीको सहयोगका लागि गृहनिर्माताको भूमिकामा देखिन थालेका छन् । महिलाहरू यो कुरालाई किन पनि खुसीसाथ स्वीकार गर्छन् भने सदियौंदेखि आफूले गरिआएको चुल्होचौकाको कामबाट छुटकारा मिलेको छ । अब उनीहरूले पनि श्रीमान्को हातको खाना चाख्न पाएका छन् जुन लैंगिक समानतातर्फ अघि बढेको महत्वपूर्ण कदम हो ।

जोइटिङ्ग्रे होइन समान हिस्सेदारी

केही वर्षअघिसम्म पनि कुनै पुरुषले घरको काममा श्रीमतीलाई सहयोग गरेको देखिए समाजमा उसले जोइटिङ्ग्रेको उपाधि पाउँथ्यो, उसको गिल्ला उडाइन्थ्यो । उसको पौरुषत्वमाथि शंका गरिन्थ्यो तर अब परिस्थिति बदलिएको छ । हिजोआज घरायसी काममा पत्नीलाई सहयोग गर्ने पुरुष सच्चा जीवनसाथीका रूपमा चिनिन्छ । घर चलाउनु दुवैको जिम्मेवारीभित्र पर्ने कुरा भएकाले यो उचित पनि छ किनभने यसमा घरप्रति दुवैको जिम्मेवारी एवं हिस्सेदारी बराबर हुन्छ ।

वास्तवमा पहिले महिलालाई दबाइराख्न र आफूअनुकूल प्रयोग गर्न सहज होस् भन्ने अभिप्रायले पुरुषप्रधान समाजले महिलालाई घरको सीमाबाहिर निस्कने अनुमति दिँदैनथ्यो । त्यो एक प्रकारको चालबाजी (षड्यन्त्र) नै थियो जुन अहिले उखान हुने क्रममा छ ।

 Image