Successfully Copied

खुसी रहौं र खुसी राखौं

अधिकांश दम्पती आलोचना र गुनासोबीचको अन्तर बुझ्न सक्दैनन् । कुनै काम वा कुराको साधारण आलोचनामा पनि उनीहरू रिसाउँछन्् र जीवनसाथीसँग बोलचाल बन्द गरेर मौन धारण गर्छन् । श्रीमान्लाई श्रीमतीको तथा श्रीमतीलाई श्रीमान्को कुनै व्यवहारबाट समस्या छ भने एक–अर्काको समस्या बुझ्नुपर्छ र यसबाटै सहज

हाम्रो समाजमा त्यस्ता पुरुषको कमी छैन जो पूर्णरूपमा मुडको गुलाम हुन्छन् । मुड ठीक छ भने यस्ता पुरुष आफ्नी श्रीमतीलाई यति धेरै माया गर्छन् कि ऊ जस्तो श्रीमतीलाई माया गर्ने पुरुष शायदै अरू कोही होला भन्ने लाग्नसक्छ । यद्यपि जुन बेला मुड ठीक हुँदैन तब उनीहरू श्रीमतीविरुद्ध थुप्रै गुनासा गर्न अग्रसर हुन्छन् भने कतिपय त श्रीमतीसँग अभद्र व्यवहारसम्म गर्न थाल्छन् । यस्तो लाग्छ, कुनै अपरिचित महिला घरमा जबर्जस्ती प्रवेश गरेकी छिन् । बारम्बार यस्तो व्यवहार देखाउने पुरुषलाई उसकी श्रीमतीले समेत बुझ्न सक्दिनन् ।

उनलाई लाग्छ कि जब आफूले श्रीमान्को मुड खराब हुने कुनै काम गरेकै छैनन् भने कार्यक्षेत्रको तनाव किन आफूमाथि थोपरिन्छ ? खराब मुडसँगै अघि बढ्दा एक समय श्रीमतीको मनमा प्रश्न उठ्नसक्छ–यस्तो व्यक्तिसित जीवन गुजार्न कसरी सम्भव होला ? यो स्थितिमा श्रीमती पनि इँटाको जवाफ पत्थरले दिनतर्फ लाग्छिन् । श्रीमतीले घरमा श्रीमान्को उपस्थिति हुँदा पनि उनलाई वास्ता गर्न छोड्छिन् वा श्रीमान्ले जस्तै मौन धारण गर्छिन् । यस्तोमा दुवैबीच दूरी बढ्छ र सम्बन्ध विच्छेदसम्म हुनसक्छ । कुनै ठोस कारणविना सम्बन्ध तोड्न अघि बढ्ने सोचमा पुगेका दम्पती सम्बन्ध तोड्दा जति दु:ख हुन्छ, एकपटक तोडिएपछि त्यसलाई पुन: जोड्न गाह्रो हुने कुरा बुझ्न सक्दैनन् । यो पीडाले भविष्यमा कुनै पनि सम्बन्धप्रति विश्वास नरहने स्थितिसम्म पुर्‍याउन सक्छ वा आत्मग्लानिको स्थिति उत्पन्न गर्नसक्छ ।

अधिकांश दम्पती आलोचना र गुनासोबीचको अन्तर बुझ्न सक्दैनन् । कुनै काम वा कुराको साधारण आलोचनामा पनि उनीहरू रिसाउँछन्् र जीवनसाथीसँग बोलचाल बन्द गरेर मौन धारण गर्छन् । श्रीमान्लाई श्रीमतीको तथा श्रीमतीलाई श्रीमान्को कुनै व्यवहारबाट समस्या छ भने एक–अर्काको समस्या बुझ्नुपर्छ र यसबाटै सहज रूपमा उक्त समस्याको समाधान पनि प्राप्त हुन्छ । श्रीमान्–श्रीमती कसैलाई मनमा कुनै कुरामा शंका छ भने आफ्नो भावना स्पष्ट रूपमा व्यक्त गर्नुपर्छ । आफ्नो पीडा नै आफूबाट व्यक्त भएन भने दोस्रो पक्षलाई त्यसका बारेमा थाहा हुँदैन । यसबाट भविष्यमा सोही कुरा र व्यवहार दोहोरिने सम्भावना हुँदैन । अत: स–साना कुरालाई शालीनतापूर्वक सुन्नु–सुनाउनुपर्छ ।

मौन बस्ने मामिलामा श्रीमतीको तुलनामा श्रीमान्हरू अगाडि हुन्छन् । यस्तो स्थितिमा पुरुषहरू गृहस्थ जीवनमा आउने कठिनाइहरूलाई सजिलै स्वीकार गर्छन् । यस्ता कुरामा उनीहरूलाई खासै सरोकार हुँदैन । आफ्नो पार्टनरलाई मनाउन आफ्नो मुहारमा मधुर मुस्कानसहित कुरा गर्न खोजे पनि उनीहरू केही नदेखेजस्तो गरी बहाना गर्छन् । राति सुत्दा पनि श्रीमतीतर्फ पिठ्युँ फर्काएर सुत्न थाल्छन् । मानौं, उनका साथमा श्रीमती होइन कुनै परस्त्री सुतिरहेकी छिन् । यो स्थिति अत्यन्त खतरनाक हुन्छ । आफ्नो रूप–यौवनप्रति मोहित हुने श्रीमान् अचानक कसरी परिवर्तन भए ? कतै उनको अन्य महिलासित अफेयर त छैन ? निराधार नै भए पनि यस्तो सोचका कारण सुखी जीवनमा फाटो सिर्जना हुनसक्छ । अत: पुरुषहरूले मौन धारण गर्नु ठीक होइन ।

श्रीमान्–श्रीमतीका कतिपय त्यस्ता बानी हुन्छन्, जुन उनीहरूको जोडीलाई मनपर्दैन । जस्तै मोबाइल यताउति राखेर बिर्सनु र श्रीमतीलाई चाँडै खोजिदिन भन्नु वा तिम्रो तरिकाले काम गरेर कसरी हुन्छ, तिमी साह्रै ढिलो काम गर्छौ आदि भन्नु । यसबाहेक श्रीमती र बालबालिकासँग रहँदा तेज गतिमा सवारी साधन चलाउनु र विस्तारै हाँक्न अनुरोध गरे त्यसलाई नजरअन्दाज गरी गाडीको स्पिड नघटाउनु, सपिङका बेला अनावश्यक कुरा खरिद गर्नुजस्ता कतिपय कुराले श्रीमान्–श्रीमतीबीच मनमुटाव उत्पन्न हुन्छ । महिलाहरू दिउँसो आफ्नो इच्छाअनुसार टिभी हेर्छन् र साँझ वा राति श्रीमान्सँग समाचार हेर्नुको साटो आफने इच्छाको कार्यक्रम हेर्ने चाहना व्यक्त गर्छन् । यस्तो व्यवहारले पनि आपसी विवाद बढ्छ । एक–अर्कालाई चिढाउने काम गर्नुको साटो एक–अर्काको भावनालाई सम्मान गर्दै, आफ्नो बानी–व्यवहारमा परिवर्तन ल्याएर जीवनसाथीलाई खुसी राख्ने प्रयास गर्नुपर्छ ।

व्यक्तिको व्यवहार सबै समयमा एउटै हुँदैन । सम्बन्ध कहिले मीठो त कहिले नमीठो पनि हुनसक्छ । विवाह आपसी सहयोग एवं सम्झौताको सम्बन्ध हो । जसले यो कुरालाई बुझ्छ उसको जीवनमा खुसीको धुन बजिरहन्छ र त्यस्ता व्यक्ति एक–अर्काका साथमा सुखपूर्वक जीवन गुजार्छन् । स्वयं खुसी रहेर जीवनसाथीलाई खुसी राख्नु नै सुखद् दाम्पत्य जीवनको आधार हो ।     

 Image