Successfully Copied

सेलिब्रेटीहरूको जाडो छल्ने उपाय

गर्मीमा भन्दा जाडोमा रुघा, खोकी, दम, टन्सिल, बाथ आदि रोगले बढी सताउँछन् भने छाला तथा केश सुख्खा हुने र चायाँ पर्ने समस्यासमेत देखा पर्छ । जाडोमा सेलिब्रेटीहरूले छाला, केश, पहिरन एवं खानपानमा के–कस्ता सावधानी अपनाउँछन् त ?

गर्मीमा भन्दा जाडोमा रुघा, खोकी, दम, टन्सिल, बाथ आदि रोगले बढी सताउँछन् भने छाला तथा केश सुख्खा हुने र चायाँ पर्ने समस्यासमेत देखा पर्छ । जाडोमा सेलिब्रेटीहरूले छाला, केश, पहिरन एवं खानपानमा के–कस्ता सावधानी अपनाउँछन् त ? रंगकर्मी सिर्जना सुब्बा, नायिका आँचल शर्मा, पूर्वमिस नेपाल तथा संचारकर्मी माल्भिका सुब्बा तथा मोडल शिक्षा संग्रौलाको सुझावसहित :

 

सिर्जना सुब्बा,

रंगकर्मी तथा कलाकार

मलाई सानैदेखि जाडो मौसम पटक्कै मन पर्दैनथ्यो । अहिले एक–दुई वर्षयता भने जाडो पनि ठीकै लाग्न थालेको छ । अहिले विन्टरका पहिरन पनि निकै राम्रा एवं स्टाइलिस्ट छन् । पहिले–पहिले जाडोमा शरीर न्यानो बनाउन बाक्ला लुगा लगाउँदा मोटो देखिने समस्या हुन्थ्यो तर अहिले विन्टर ड्रेस पनि शरीरअनुसार उपलब्ध हुन थालेका छन् । डिजाइनर पहिरन तथा कलरले जाडोमा पनि स्मार्ट, इलिगेन्ट तथा स्टाइलिस्ट देखिन सकिन्छ । यो समयमा म लङ कोटमा बुट लगाउन रुचाउँछु । मसँग थुप्रै लङ कोट तथा लङ बुट छन् । थप केही बाहिरबाट पनि मगाउने सोचमा छु । जाडोमा शरीर ढाकेर फेसन गर्न मन लाग्छ । अहिले त म गर्मीमा भन्दा जाडोमा बढी ग्ल्यामर देख्छु । स्कुटीमा हिँड्ने भएकाले बाहिरबाट मोटा ज्याकेट लगाउँछु । म मास्क, टोपी, स्कार्फ, पञ्जा, ज्याकेट तथा बुट लगाएर जाडो छल्ने प्रयास गर्छु । जाडोमा मेरो छाला र केशमा बढी समस्या देखा पर्छ । त्यसमा पनि केशको समस्याले त निकै सताउँछ । केश सुख्खा हुने भएकाले सुत्नुअघि तेल लगाउँछु । एकदिन तेल नलगाउँदा भोलिपल्टै केश बेरुप हुन्छ । त्यसैले चिसो लागे पनि तेल लगाउन छोड्दिन । जाडो लागेर रुघाखोकी लागिरहेकै हुन्छ । चिसोबाट जोगिन तातोपानी बढी पिउँछु । सुप मन नपरे पनि स्वास्थ्यका लागि सुप, झोल म:म तथा थुक्पा बढी खान्छु । जाडोमा अरू बेलाभन्दा बढी नै केयर गर्नुपर्छ । खाना बढी रुच्ने भएकाले जाडोमा अलि बढी मोटाइन्छ पनि ।

शिक्षा संग्रौला, मोडल

मलाई जाडो महिना असाध्यै रमाइलो लाग्छ । विगत ५–६ वर्षदेखि म विराटनगर छोडेर काठमाडौंमै छु । उताको तुलनामा यताको जाडो रमाइलो छ । काठमाडौंमा जति नै जाडो भए पनि घाम लाग्दा न्यानै हुन्छ तर उता दिनभरि हुस्सु लागेर निकै चिसो हुन्छ । म निकै दुब्ली भएर पनि होला गर्मीका पहिरनमा असाध्यै लुरी देखिन्छु तर जाडोको बुट, कोट, ओभरकोट, मफलर, टोपी तथा लेगिन्समा वुलन लङ वान पिसले मेरो लुक्स आकर्षक देखाउँछ । म आफैलाई स्मार्ट र अलि मोटो देखेर दङ्ग पर्छु तर यो समयमा मेरो केश सुख्खा भएर चायाँ पर्छ । त्यसैले केही वर्षदेखि डाक्टरको सल्लाहमा महिनाको २–३ पटक फोलिड्यान स्याम्पु प्रयोग गर्दै आएकी छु । सुख्खा छालाका लागि बढी भन्दा बढी मोइस्चराइजर लगाउँछु । राति फेसवासपछि टोनिङ गरी मज्जाले मोइस्चराइजर लगाएर सुत्छु । बाल्यकालमा निमोनियाँ भएकाले मैले जति न्याना पहिरन लगाए पनि धूलो, धूवाँले समात्छ । त्यसैले तातोपानी बढी पिउँछु । मह, अदुवा तथा तातोपानी खाइरहन्छु । यसले रुघा, नाक बन्द हुने, घाँटी दुख्ने तथा खोकी लाग्ने समस्याबाट जोगाइरहेको छ । म जाडोको सुरूदेखि नै हिटर प्रयोग गर्छु । बेडमा जानुअघि इलेक्ट्रिक तन्ना तताएर सुत्ने बेला त्यसको इलेक्ट्रिक कनेक्सन अफ गरी सुत्छु ।

आँचल शर्मा, नायिका

वातावरणको हिसाबले मलाई गर्मीभन्दा जाडो नै मनपर्छ । फ्रेस हुने तथा खान रुच्ने हुँदा म सानैदेखि जाडो आउँदा खुसी हुन्थें तर अहिले ठूलो हुँदै आएपछि छाला सुख्खा हुने समस्याका कारण जाडो नआए पनि हुन्थ्यो जस्तो लाग्न थालेको छ । जाडोमा छाला निकै सुख्खा हुन्छ जसले गर्दा सुटिङको समयमा मेकअपमा समेत समस्या हुन्छ । म सुत्नुअघि नियमित ग्लिसिरिन तथा भ्यासलिन लगाउँछु । हातखुट्टामा ग्लिसिरिन दलेपछि मोजा र पञ्जा लगाएर सुत्छु । केशमा हरेक दिन सेसा तेल वा नरिवलको तेल तथा भिटामिन ई लगाएर मसाज गर्छु । एकदमै जाडो लाग्ने हुँदा २–३ वटा हाइनेक लगाई ज्याकेट वा कोटमा लङ बुट लगाएर हिँड्छु । लङ कोट, लङ स्वेटर तथा बुटले आफू स्मार्ट भएको अनुभव खहुन्छ । इभेन्टतिर जाँदा लङ स्वेटरमा स्कर्ट अनि लङ बुट लगाउँछु । मलाई विन्टरका डाउन ज्याकेट, कोट, लेदर ज्याकेट तथा कोट, लुज हुडी आदि निकै मनपर्छन् । अहिले बजारमा निकै स्टाइलिस्ट विन्टर वेयरहरू उपलब्ध हुन थालेकाले जाडोले फेसन गर्न पाइन भन्ने गुनासो गर्नुपर्दैन । जाडोमा प्राय: रुघा र खोकीले सताइरहने हुँदा म बाफ लिन छुटाउँदिन । यतिबेला खाना पनि सारै रुच्छ । मलाई मासको दाल, काउलीको तरकारी, साग र भात सार्‍है मनपर्छ । दिउँसो प्राय: झोल म:महरू खान्छु ।

 माल्भिका सुब्बा,

पूर्वमिस नेपाल तथा संचारकर्मी

जाडो मौसम मलाई पटक्कै मनपर्दैन । अझ अहिले शिशु सानो भएकाले त जाडो आयो कि टेन्सन हुन्छ । पोहोर सालको जाडोमा मेरो छोरालाई सन्चो भएन । त्यसैले यसपटक निकै केयर गरेकी छु । एक त जाडोको सुरुवातसँगै छाला तथा केश सुख्खा भएर गार्‍हो हुन्छ र छालाको बढी ख्याल गर्नुपर्छ । म हप्तैपिच्छे हेयर ट्रिटमेन्ट गराइरहन्छु । छालाका लागि पनि १५–१५ दिनमै ट्रिटमेन्ट गराइरहन्छु । मलाई यो मौसम मन नपर्नुको कारण खर्चालु भएर पनि हो । जाडोका पहिरन महँगा पनि हुन्छन् । सकेसम्म ब्रान्डेड पहिरन लगाउने भएकाले र एकपटक किनेपछि २–४ वर्षसम्मलाई हुने खालका पहिरन किन्ने भएकाले म महँगो नै किन्छु । म जाडोमा धेरैजसो लङ बुट तथा ओभर कोट लगाउँछु जसले न्यानोका साथै स्टाइलिस्ट र स्मार्ट लुक्स दिन्छ । छालामा अस्ट्ेरलियन क्रिम लगाउँछु । त्यसले भ्यासलिनको जस्तै काम गर्छ । छाला र हेयर ट्रिटमेन्टका लागि पार्लर नै पुग्छु । त्यसैले पनि विन्टर सिजन समरको तुलनामा निकै महँगो हुन्छ । म पोषिला खानेकुरा समय मिलाएर खाइरहन्छु । मासु, तातो झोलवाला खाना तथा सुप बढी खान्छु । यो मौसममा घाँटीको समस्या हुने भएकाले मनतातो पानी तथा सुप केही समयको अन्तरालमा खाइरहन्छु । चिसो खाना बन्द गर्छु भने बच्चालाई पनि केरा, गाजर, सुन्तलाहरू दिन्न । सकेसम्म पोषिला खानेकुरा खाने, मनतातो पानी पिउने तथा घाँटी छोप्ने प्रयास गर्छु । मलाई त यो जाडो महिना नै नआए हुन्थ्यो जस्तो लाग्छ ।

 

 Image