Successfully Copied

भान्साका सौन्दर्य सामग्री

सुन्दर अनुहारले सबैलाई लोभ्याउँछ । सुन्दरता निकै महत्वपूर्ण कुरा हो । यसकारण सबै मानिस सुन्दर बन्न चाहन्छन् । यसका लागि पार्लर जाने, फेसियल, मसाज आदि गर्ने मानिस प्रशस्त छन् । यसो गर्नु स्वाभाविक भए पनि कहिलेकाहीँ समयको अभाव अथवा बजेटको कमीका कारण चाहना

सुन्दर अनुहारले सबैलाई लोभ्याउँछ । सुन्दरता निकै महत्वपूर्ण कुरा हो । यसकारण सबै मानिस सुन्दर बन्न चाहन्छन् । यसका लागि पार्लर जाने, फेसियल, मसाज आदि गर्ने मानिस प्रशस्त छन् । यसो गर्नु स्वाभाविक भए पनि कहिलेकाहीँ समयको अभाव अथवा बजेटको कमीका कारण चाहना पूरा गर्न असमर्थ हुने स्थिति आउँछ । यस्तो अवस्थामा घरमा पाइने सामग्रीको समुचित प्रयोग गरेर अनुहार चम्किलो बनाई सौन्दर्यमा निखार ल्याउन सकिन्छ ।

भान्सामा यस्ता थुप्रै सामग्री छन् जसको विविध गुणका बारेमा सबैलाई जानकारी नहुन सक्छ । भान्साका मह, कागतीको रस, बेसार, चनाको पीठो, जौको पीठो आदि पदार्थ अनुहारका लागि हितकारक हुन्छन् । यिनै वस्तुको पेस्ट बनाई घरमै बसेर अनुहारलाई कोमल, मुलाईम तथा चम्किलो बनाउन सकिन्छ ।

एन्टिपोर्स प्याक : एउटा टमाटरलाई कोरेर मसिनो बनाउने । त्यसमा १ चम्चा जौको पीठो र केही थोपा कागतीको रस मिसाएर पेस्ट बनाई अनुहारमा लगाउने । १०/१५ मिनेट राखेपछि सफा हुने गरी अनुहार धुने । यो उपाय हप्तामा १ पटक अवलम्बन गर्न सकिन्छ । त्यसैगरी एउटा पाकेको केरा, २ चम्चा बेसनको पीठो तथा एउटा अण्डाको सेतो भाग लिई पेस्ट बनाउने । त्यसपछि यसलाई अनुहारमा १५ मिनेटजति राख्ने र सफा पानीले धुने । यो उपाय पनि हप्तामा १ पटक अवलम्बन गर्न सकिन्छ । यसले छालालाई धूलोको दुष्प्रभावबाट जोगाउँछ ।

स्किन टाइटनिङ प्याक : एउटा आरू लिने र त्यसको गेडा निकाली राम्रोसँग पिस्ने । त्यसमा केही थोपा जैतुनको तेल तथा अण्डाको सेतो भाग मिसाउने । त्यसपछि यी सबै वस्तु मिसाई फिटेर अनुहारमा लगाउने । २० मिनेट राखिसकेपछि मनतातो पानीले धुने ।

यस्तै एउटा आलु, २ चम्चा जौको पीठो, १ सानो चम्चा मह र एउटा अण्डा मिसाउने । काँचो दूधले अनुहार सफा गरीे पेस्ट लगाउने । १० मिनेटजति राखेपछि चिसो पानीले अनुहार धुने । त्यसपछि कपासको सहायताले अनुहारमा गुलाबजल लगाउने ।

प्रोटिन प्याक : एउटा ठूलो चम्चा मासको दाल एक रात भिजाउने । एक रात भिजाईएको दाललाई पिसेर पेस्ट बनाई अनुहारमा आधा घन्टाजति राखी पखाल्ने । यसो गर्दा अनुहारलाई पोषण मिल्नुका साथै छाला ब्लिच पनि हुन्छ ।

एन्टिसनबर्न प्याक : यसको प्रयोगले घामबाट डढेको अनुहारमा चमक प्राप्त हुन्छ । दूध र दहीलाई प्राकृतिक तत्व मानिन्छ । यी दुईमध्ये कुनै एक आफूलाई चाहिने मात्रामा लिने र कपासको सहायताले अनुहारमा लगाउने । १५ मिनेटजति राखेपछि सफा पानीले अनुहार धुने ।

यसबाहेक एन्टी सनबर्न प्याकका रूपमा एक टुक्रा मेवा, एक चम्चा दही तथा दुई चम्चा जौको पीठो लिने । यी सबैलाई एक ठाउँमा राखी पेस्ट बनाउने र अनुहार तथा घाँटीमा लगाउने । १५ मिनेटजति राखेपछि यसलाई हल्का हातले हटाउने र पानीले पखाल्ने । त्यसपछि टोनर प्रयोग गरेपछि गुलाबजल लगाउने ।

बेरी प्याक : यसका लागि रसबेरी र स्ट्रबेरी बराबर मात्रामा लिने र दहीमा मिसाउने । अनुहारलाई क्लिन्जिङ मिल्कले सफा गरी यो प्याक लगाउने । आधा घन्टापछि सफा पानीले पखाल्ने । यसले मरेको छाला निकाल्न सहयोग गर्छ ।

चाउरी हटाउने प्याक : एउटा कोरेको काँक्रो, एउटा अण्डाको सेतो भाग, २ चम्चा मेयोनिज र एक सानो चम्चा जैतुनको तेल मिसाउने । अनुहार सफा गरेपछि यो प्याक अनुहारमा लगाउने । २० मिनेटपछि यसलाई सफासँग धुने । यो उपाय हप्तामा ३/४ पटक अवलम्बन गर्दा अनुहारको चाउरी हट्छ ।

यसबाहेक मह, कागती तथा वनस्पति तेल मिसाएर अनुहारमा १० मिनेटसम्म राख्ने । त्यसपछि मनतातो पानीले अनुहार धुने । यो सुख्खा छालाका लागि राम्रो प्याक मानिन्छ । फेसियल गरिसकेपछि यो प्याक प्रयोग गर्नुपर्छ ।

तैलीय छालाका लागि प्याक : एउटा स्याउ राम्रोसँग पिस्ने र अनुहारमा लगाउने र २० मिनेटसम्म रहन दिने । २० मिनेटपछि चिसो पानीले अनुहार पखाल्ने । यो प्याक चिल्लो छालाका लागि लाभदायक मानिन्छ ।

अल्फा हाइड्रोअक्साइड प्याक : अनुहारका साथै घाँटी एवं हातलाई कपासको सहायताबाट काँचो दूधले सफा गर्ने । १० मिनेटपछि पखाल्ने । यसो गर्दा छाला मुलायम हुन्छ ।

 Image