Successfully Copied

विपरीत रुचिमा रमाएको जोडी मेघा र पारस

४–५ वर्षको रिलेसनपछि घरमा आ–आफ्नो जातअनुसारको विवाहको कुरा आउन थालेपछि उनीहरूले आपसी सम्बन्धका बारेमा परिवारलाई जानकारी दिए जुन कुरा सुनेर उनीहरूका परिवारका सदस्यहरू अचम्ममा परे । उनीहरू संगीत प्राक्टिसका क्रममा भेट्ने कुरा परिवारलाई थाहा थियो तर विवाह गर्नेसम्मको सम्बन्ध भनेर कसैलाई जानकारी थिएन

वैवाहिक जीवन सफल हुन श्रीमान्–श्रीमतीको प्रकृति फरक हुनुपर्छ भन्ने मान्यता राख्ने जोडी हुन्–पारस शाक्य तथा मेघा चौधरी शाक्य । ७ वर्षअघि वैवाहिक सम्बन्धका बाँधिएको यो जोडीको ५ वर्षकी छोरी छिन् । विवाह ७ वर्षअघि मात्र भए पनि पारस र मेघाको चिनजान भने धेरै पुरानो हो । कक्षा ७ मा पढ्दादेखि नै उनीहरू साथी थिए । स्कुल एउटै नभए पनि बस स्टप एउटै भएकाले साथीहरूमार्फत मित्रताको बन्धनमा बाँधिएका उनीहरू छिट्टै क्लोज फ्रेन्ड बने । त्यतिबेला उनीहरूको एउटै रुचि थियो–संगीत । पारस हेबी मेटलका पारखी थिए भने मेघा क्लासिकल गाउँथिन् ।

स्कुल पूरा गरेपछि भेटघाट गर्ने, संगीतका कुराहरू गर्दै जाने क्रममा उनीहरू नजिकिए । स्कुलको पढाइपछि थप अध्ययनका लागि मेघा भारत तथा पारस साइप्रस पुगे । त्यसपछि उनीहरू अझ नजिकिए । एक–अर्काप्रति माया बसिसकेको थियो । नेपाल आएर पारस अन्तिम ग्रहण नामक अन्डरग्राउन्ड मेटल ब्यान्डको भोकलिस्टका रूपमा सक्रिय भए । उनले अन्तिम ग्रहणको एल्बमका लागि मेघालाई पनि युगल गीत गाउन अफर गरे । त्यसपछि प्राक्टिस, रेकर्डिङ आदिका लागि उनीहरूको नियमित भेटघाट हुन थाल्यो । उनीहरू नगरकोट, धुलिखेल, गोदावरी, लुभु आदि ठाउँ घुम्न जान्थे । अहिलेजस्तो मल तथा अन्य घुम्ने ठाउँहरू नहुँदा उनीहरू लामो यात्रामा निस्कनुपर्ने बाध्यता थियो । उनीहरू कहिले फिल्म हेर्न जान्थे भने कहिले ब्यान्डका साथीहरूसँगको भेटघाटमा रमाउँथे ।

४–५ वर्षको रिलेसनपछि घरमा आ–आफ्नो जातअनुसारको विवाहको कुरा आउन थालेपछि उनीहरूले आपसी सम्बन्धका बारेमा परिवारलाई जानकारी दिए जुन कुरा सुनेर उनीहरूका परिवारका सदस्यहरू अचम्ममा परे । उनीहरू संगीत प्राक्टिसका क्रममा भेट्ने कुरा परिवारलाई थाहा थियो तर विवाह गर्नेसम्मको सम्बन्ध भनेर कसैलाई जानकारी थिएन ।

पारसकी आमाले मेघालाई पहिलेदेखि नै चिन्थिन् । मेघाका बुवा वसन्त चौधरीसँग पारसलाई चिनाएपछि उनले पनि नाइनास्ती गरेनन् । नेवार समुदाय र मारवाडी समुदायले यो नयाँ सम्बन्धलाई हार्दिकतापूर्वक स्वीकार गरेका थिए । उनीहरूको आपसी समझदारीअनुसार आ–आफ्नै संस्कृतिअनुसार विवाह सम्पन्न भयो । बिदाइ मारवाडी स्टाइलबाट भयो भने पारसको घरमा नेवार परम्पराअनुसार दुलही भित्र्याइयो ।

प्रतिष्ठित व्यवसायी वसन्त चौधरीकी छोरी भएकीले धेरैले मेघा बुहारीका रूपमा कसरी बस्लिन् भन्ने सोच्थे तर मेघा ५ वर्षसम्म पारसको संयुक्त परिवारमा बुहारीकै रूपमा बसिन् जहाँ उनले नेवारी चाडपर्व तथा रीतिरिवाज सिक्ने अवसर पाइन् । स्वतन्त्रतामा विश्वास राख्ने दुवैको परिवारबाट कुनै पनि कुरामा यस्तै गर्नुपर्छ भन्ने दबाब आएन । उनीहरू नेवारी र मारवाडी दुवै संस्कृतिलाई उत्तिकै सम्मान गर्छन् । संयोग नै मान्नुपर्छ पारसलाई सानैदेखि इन्डियन खाना मनपर्छ भने मेघालाई नेवारी परिकार मनपर्छ ।

विगत दुई वर्षदेखि चौधरी ग्रुपमै आबद्ध यो जोडी काममै रमाइरहेको छ । मेघा नर्भिक अस्पताल हेर्छिन् भने पारस चौधरी ग्रुपको एजुकेसन तथा फुड डिपार्ट हेर्छन् । काम र मेहनतमा विश्वास राख्ने यो जोडीमा अहिले पनि संगीतप्रतिको मोह भने कम भएको छैन । छोरी जन्मिएपछि मेघाले आफ्नो गायनलाई रोके पनि पारसको ब्यान्ड भने अझै सक्रिय छ । उनी घरमै साथीहरूसँग प्राक्टिस गरिरहन्छन् । व्यापार र संगीतमा रमाइरहेको यो जोडीका अनुसार अहिले धेरैजसो सम्बन्ध बिग्रनुको कारण एकले अर्काेलाई आदर नगर्नु, अनुशासन हीनता तथा परिवारले सानोतिनो झगडामै चासो दिएर मिलाउन पहल नगर्नु हो । तिमीभन्दा म के कम भन्ने सोचको विकास हुनुले नै सम्बन्ध दिगो हुन नदिने उनीहरूको राय छ ।

मेघालाई पारसको मनपर्ने बानी : रिजर्व बस्ने, सभ्य, अरूको कुरामा चासो नदिने, छोरीलाई बढी नै केयर र माया गर्ने ।

मननपर्ने बानी : पार्टीहरूमा जान त्यति नरुचाउने, घरमै बस्न खोज्ने । पारसलाई मेघाको मनपर्ने बानी : डाउन टु अर्थ, घमण्ड पटक्कै छैन, सबैसँग मीठो बोल्ने, परिवारसँग मिल्ने तथा परिवारलाई महत्व दिने ।

मननपर्ने बानी : ट्रान्स पार्टीहरू बढी जाने ।

विपरीत आकर्षण

विवाहअघि सँगै घुम्न वा सँगै खाना खान गए पनि दुवैलाई उनीहरूको रुचि विपरीत छ भन्ने पत्तो थिएन । विवाहपछि मात्र थाहा भयो उनीहरूबीच खानाको च्वाइसदेखि संगीतको च्वाइससम्म पनि विपरीत छ । मेघालाई नेवारी, जापानी तथा थाई परिकार मनपर्छ भने पारसलाई इन्डियन तथा कन्टिनेन्टल । मेघा क्लासिकल गीत गाउने भए पनि ट्रान्स संगीतमा रमाउँछिन् तर पारसलाई ट्रान्स म्युजिक पटक्कै मनपर्दैन उनी फुर्सदमा परिवारसँग घरमै बस्न मन पराउँछन् ।  पारसको बानी झनक्क रिसाइहाल्ने छ भने मेघा कुल छिन् । एउटा आगो र अर्को पानी भए मात्र सम्बन्ध दिगो रहने मेघा बताउँछिन् ।  यही विपरीत बानी नै उनीहरूको आकर्षण र दिगो मायाको कारण बन्न पुगेको छ ।

आपसमा मिल्ने रुचि

नयाँ–नयाँ ठाउँहरू घुम्ने रहर दुवैमा छ । समय मिल्यो भने उनीहरू घुम्न निस्किहाल्छन् । वर्षको एक–दुईपटक छोरीसहित विदेशसमेत पुग्छन् । दुवैको एउटै राय छ–घुम्दा नयाँ जोस र इनर्जी आउँछ ।

बिर्सन नसकिने क्षण

त्यतिबेला पारसले लामो केश पालेका थिए । बुवाले पारसलाई भेट्न बोलाउँदा मेघालाई आपत् पर्‍यो । पारसले केश काट्न मानेकै थिएनन्, त्यस्तो लामो केशमा बुवासँग कसरी भेटाउने ? बल्लतल्ल पारसलाई फकाएर कोरियन पार्लरमा हल्का मिलाउने भनी झुक्याएर केश छोटो बनाइदिएको क्षण दुवैका लागि अविस्मरणीय छ । त्यसपछि भने पारसले कहिल्यै केश पालेनन् ।

छोरीका प्रिय बाबा

धेरै समय मेघाले छोरीलाई हेरे पनि बाबासँग उनको बढी लगाव छ । स्कुलबाट फर्केर मेघासँग बस्ने छोरीलाई राति बाबा आएपछि अरु केही चाहिँदैन । छोरीलाई पनि उनीहरूलाई जस्तै संगीत मनपर्छ । उनी नाच्नमा निकै उत्साह देखाउँछिन् । आमाले जति नै माया गरे पनि छोरीहरू बाबासँगै बढी एटेच हुने मेघाको अनुभव छ ।

 Image