Successfully Copied

एउटै क्षेत्रमा रमेका जोडी

३४ वर्षअघि गीत/संगीतले जोडेको यो साथ आज पनि यही क्षेत्रमा रमाइरहेको छ । ठीक उल्टो स्वभावका कुन्ती र शिलाबहादुरलाई उनीहरूको स्वभावले कहिले बेमेलको अवस्था सिर्जना हुन दिएनन् ।

 

शिलाबहादुर मोक्तान/कुन्ती मोक्तान

गम्भीर स्वभावका शिलाबहादुर मोक्तान तथा चञ्चल स्वभावकी कुन्ती मोक्तानको जीवनयात्रा भने निकै सहजताका साथ चलिरहेको छ । ३४ वर्षअघि गीत/संगीतले जोडेको यो साथ आज पनि यही क्षेत्रमा रमाइरहेको छ । ठीक उल्टो स्वभावका कुन्ती र शिलाबहादुरलाई उनीहरूको स्वभावले कहिल्यै बेमेलको अवस्था सिर्जना हुन दिएनन् । एउटै पेसामा आबद्ध यो जोडीले नेपाली सांगीतिक क्षेत्रमा ठूलो योगदान दिएको छ । कुन्ती शिलाबहादुरकै संगीतमा गीत गाउँछिन् ।

अहिलेसम्म कुन्ती र शिलाबहादुरको सहकार्यमा ‘कहिलेकाहीँ’, ‘मायालुलाई’, ‘कुसुम’, ‘कृति’, ‘मनको सपना’, ‘शैलुङ्गे’, ‘हाम्रो भेट’, ‘मेरो मन’ जस्ता १३ वटा एल्बम बजारमा आइसकेका छन् । घरमा दुवै एउटै पेसामा हुँदा सिर्जनाका बारेमा छलफल र बहस गर्न सजिलो हुने शिलाबहादुरको भनाइ छ । परिवार एउटै पेसामा हुँदा बढी फाइदा हुने यो जोडीको बुझाइ छ ।

 

उदीतनारायण/दीपानारायण

गीत–संगीतमै रमेको र जमेको अर्को जोडी हो–उदीतनारायण झा र दीपानारायण झा । नेपाली संगीतमा जम्ने क्रममै बलिउड छिरेर ठूलो सफलता हासिल गरेका गायक उदीत तथा नेपाली चलचित्रको पाश्र्वगायनमा कहलिएकी गायिका दीपा गहतराजको जोडी लामो समयदेखि यही क्षेत्रमा छ। दीपा र उदीतले थुप्रै गीतमा युगल स्वर दिएका छन् । उदीत र दीपाका छोरा आदित्य पनि यही क्षेत्रमा सक्रिय छन् ।

 

उदय/मनिला

उदय/मनिलाले ‘तिमीविना बाँच्न गाह्रो भो, उकाली चढौँला, ओराली झरौँला, तिम्रै लागि हो भने ज्यानै दिदिऊँला’ भनेर गीतमात्र गाएनन्, गीतमा भनिएझैं सँगै सहयात्रा गर्दै एउटै क्षेत्रमा रमाए । उनीहरूले गाएका दर्जनौँ गीत लोकप्रिय छन् । गायन र वैवाहिक जीवन दुवैमा आफूलाई सफल साबित गर्ने उदय–मनिला परेका बेला एक–अर्काको साथ पाउनु नै एउटै क्षेत्रको सहयात्राको फाइदा भएको बताउँछन् ।

 

माण्डवी/विपिन

गायिका माण्डवी त्रिपाठी तथा संगीतकार विपिन आचार्य पनि एउटै क्षेत्रमा रमेका अर्का जोडी हुन् । माण्डवी र विपिनको सहयात्राले पनि उनीहरूको सांगीतिक करिअरलाई सघाउ पुर्‍याएको छ । जन्ती लिएर चितवन पुगेका थिए । त्यसयता यो जोडीले सँगै काम गरेका कयौं गीत हिट भए । विवाहपछि उनीहरूलाई व्यासायिक रूपमा पनि एउटै क्षेत्रको फाइदा भयो । एउटै क्षेत्रका जीवनसाथी भएकै कारण एक–अर्कालाई बुझ्न निकै सहज त भयो नै–व्यावसायिक रूपमा पनि निकै टेवा पुग्यो ।

माथि उल्लेख भएका बाहेक रामचन्द्र काफ्ले/जुनु रिजाल, यशोदा पराजुली/गणेश पराजुली, सिन्धु मल्ल/सुदाम थापा, बिन्दु परियार/सुदीप सागर आदि थुप्रै जोडीले जीवनसँगै सांगीतिक करिअरलाई पनि उचाइमा पुर्‍याएका छन् । नेपाली पप, लोक तथा फिल्मी गीतहरूमा आवाज दिने गरेका छन् रामचन्द्र तथा जुनुले । नेपाली गीत–संगीतको क्षेत्रमा उनीहरूको चर्चा र सफलता पनि कम छैन । उनीहरू एल्बम, फिल्मदेखि स्टेज शोसम्म एकसाथ देखापर्दै आएका छन् ।

थुप्रै गीतमा आवाज दिएकी यशोदा पराजुली र केही गीतमा उनलाई साथ दिने गायक गणेश पराजुलीको दाम्पत्य जीवन सुखी र खुसी त छँदैछ त्यसका साथै उनीहरूले गायनमा समेत राम्रो सफलता पाएका छन् । यता गायिका सिन्धु मल्लले पनि गायनमा श्रीमान्को साथ पाइन् । संगीतकार सुदाम थापाले उनको यात्रालाई सहज बनाइदिए । सिन्धुले लोक, आधुनिक तथा फिल्मी गीतहरूमा आवाज दिएकी छिन् ।

 

ऋषि/सरिता

नेपाली चलचित्रमा चिनिएको जोडी हो–कलाकार सरिता लामिछाने तथा निर्देशक ऋषि लामिछानेको जोडी । सल्यानका ऋषि र झापाकी सरिताको भेट काठमाडौंमा भएर सहयात्रामा परिणत हुने लेखिएको रह्यो, भयो पनि त्यस्तै । भेट भएको करिब ७ वर्षपछि हो ऋषि र सरिताले एक–अर्काको सुख–दु:खमा साथ दिने भन्दै लगनगाँठो कसेको । विवाहको २० औं वसन्त पार गर्ने क्रमसम्म पुग्दा यो जोडीबीच कहिल्यै टकरावको स्थिति उत्पन्न भएको छैन । दुवैजना चलचित्र क्षेत्रमा आ–आफ्नै तरिकाले सक्रिय छन् । सरिता र ऋषि आपसमा मिलेर घरपरिवार चलाउँछन् । ठूला निर्णय ऋषिले गर्छन् भने घरको निर्णय सरिताको हातमा छ । उनीहरूको दाम्पत्य जीवनमा विभिन्न उतार–चढाव आए होलान् तर एक–अर्काप्रतिको समझदारी कहिल्यै टुटेन ।

 

सीताराम/कुञ्जना

नेपाली कला क्षेत्रमा रमेको मात्र होइन उदाहरणीय जोडी हो–सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी । टेलिभिजनको पर्दा हुँदै रियल लाइफमा समेत जोडीका रूपमा गाँसिएका उनीहरू समाज सेवामा पनि उत्तिकै सक्रिय छन् ।

दुवै एउटै क्षेत्रका भएका कारण पनि उनीहरू अधिकांश देशदेखि विदेशसम्मका कार्यक्रममा सँगै निस्कन्छन् । सीताराम र कुञ्जना समाज सेवामा पनि एकसाथ सक्रिय छन् । अभिनयमा पनि रुचाइएको यो जोडीको जीवनयात्रा धेरैका लागि प्रेरणादायक छ । अभिनेता निखिल उप्रेती तथा अभिनेतृ सञ्चिता लुईंटेल पनि कला क्षेत्रमै रमेका जोडी हुन् । पछिल्लो समय कोरियोग्राफर गम्भीर विष्ट तथा अभिनेतृ निष्मा घिमिरे पनि सहयात्रामा गाँसिएका छन् ।

 Image