Successfully Copied

चलचित्र क्षेत्रमा रमाएकी केकी

अभिनय कलाबाटै धेरैको मन जित्न सफल केकी निर्मात्री भएपछि अरूका चलचित्रमा नदेखिने हुन् कि भन्ने कतिपयको अनुमान छ । त्यसको उत्तरमा केकी भन्छिन्–मलाई अभिनयको मोहले छाडेको छैन, राम्रो चलचित्रबाट अफर आए सकारात्मक छु । केकीलाई मानसिक रूपमा चुनौती हुने खालको मेन्टल्ली अनस्टेबल चरित्र

नेपाली चलचित्रमा ७ वर्षदेखि निरन्तर काम गर्दै आएकी नायिका केकी अधिकारी कोहलपुर एक्सप्रेसमार्फत निर्मात्रीका रूपमा उदाउँदैछिन् । चलचित्र स्वरबाट डेब्यु गरेपछि १९ वटा चलचित्रमा अभिनय गरिसकेकी केकी एउटै काम निरन्तर गरिरहँदा मोनोटोनस हुने कुरा बताउँछिन् । त्यसैले पनि उनले चलचित्र निर्माणमा हात हालेकी हुन् । केकी भन्छिन्–‘उस्तै काम निरन्तर गरिरहँदा जीवनमा नयाँपन भएन ।

निर्देशकको अन्डरमा बसेर काम गर्नुपर्ने भएकाले आफ्नो सिर्जना देखाउँदाको पीडाबाट उम्कन नै मैले चलचित्र निर्माणमा हात हालेकी हुँ ।’ सानैदेखि एक्सप्रेसन तथा अभिनयका कारण दर्शकको मन जित्न सफल केकी  नेपालका धेरै नायिका सीमित समयका लागि मात्र नायिका बन्न सकेको देखेर केही डराएकी पनि छिन् । यसैकारण निर्मात्रीका रूपमा सक्रिय रहन सके आफ्नो स्वास्थ्यले साथ दिएसम्म चलचित्र क्षेत्रमा रमाउन पाउने लोभ उनमा छ । नेपाली चलचित्रमा प्रवेश गर्नुपूर्व उनले विभिन्न म्युजिक भिडियोमा काम गरेकी थिइन् । केकीले आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल, मेरो बेस्ट फ्रेन्ड आदि चलचित्रमार्फत दर्शकको प्रशंसा बटुलेकी थिइन् । केकीले सत्यमोहन जोशीद्वारा लिखित ऐतिहासिक नाटक चारुमतीमा समेत अभिनय गरेकी छिन् ।

अभिनय कलाबाटै धेरैको मन जित्न सफल केकी निर्मात्री भएपछि अरूका चलचित्रमा नदेखिने हुन् कि भन्ने कतिपयको अनुमान छ । त्यसको उत्तरमा केकी भन्छिन्–मलाई अभिनयको मोहले छाडेको छैन, राम्रो चलचित्रबाट अफर आए सकारात्मक छु । केकीलाई मानसिक रूपमा चुनौती हुने खालको मेन्टल्ली अनस्टेबल चरित्र निर्वाह गर्ने रहर छ ।

केकी आफू निर्माता भएर काम गरेको पहिलो चलचित्र भएकाले ‘कोहलपुर एक्सप्रेस’ मा धेरै चुनौतीयुक्त काम नगरेको बताउँछिन् । यो चलचित्रमा कमेडी लभ स्टोरी समेटिएको छ । केकी यसलाई पहिलो प्रयास भएकाले सफल–असफल जे भए पनि प्रयासका रूपमा लिन्छिन् । एक–दुईवटा असफलताबाट डगमगाउनु हुँदैंन भन्ने उनको मान्यता छ । उनी छिटै निर्देशनमा समेत हात हाल्ने योजनामा छिन् ।

उनी आफू सानी छँदा म पछि फिल्म निर्देशन गर्छु भनेर धाक लगाउने गरेको कुरा पनि सम्झन्छिन् । केकीलाई स्कुलमा सबैले मिनीश्री भन्थे । बलिउडकी नायिका श्रीदेवीको जस्तै एक्सप्रेसन एवं नृत्यका कारण उनलाई बोलाउने नाम नै मिनीश्री राखिएको थियो । केकी श्रीदेवी र माधुरी दीक्षितको नृत्यको प्रशंसक हुन् । अमेरिकामा संचालित मेरो डान्स कप युएसए–२०१७ सिजन–२ को निर्णायकका रूपमा केकी अब चाँडै नै अमेरिका प्रस्थान गर्दैछिन् ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप तथा हेयर स्टाइल : संगीता प्रधान, काया द ब्युटी स्पट, कुपण्डोल

पहिरन : पिन्को, सिभिल मल

लोकेसन : अगेनो दि हिस्टा, धोबीघाट

 

 Image