Successfully Copied

गायिका स्मिताको कोजी होम

डेढ रोपनी जग्गामा निर्मित यो घर बाहिरबाट हेर्दा बंगला स्टाइलको देखिन्छ । मुख्य ढोकाबाट भित्र छिरेपछि सानो बगैंचा छ जहाँ कोइरालाको रुखदेखि भोगटे तथा अम्बाका रुखहरूसम्म छन् । यो घर बाहिरबाट नयाँ स्टाइलको आवरणमा देखिन्छ भने भित्र नयाँ र पुरानोको फ्युजनमा तयार भएको

शास्त्रीय संगीतको वातावरणमा हुर्किएकी स्मिता घिमिरेलाई युवावस्थामा पप गीतले आकर्षित गर्‍यो । त्यसपछि उनी काँधमा गितार भिरेर गीत गाउन थालिन् यद्यपि विवाहपछि उनको यात्रा अवरुद्ध भयो । सन्तान हुर्किएपछि उनी पुन: पप गीतहरू लिएर झुल्किइन् । स्मिता अहिले आफ्नो कम्पोजका दुईवटा आधुनिक गीति सिडी तथा उपन्यास सार्वजनिक गर्ने तयारीमा छिन् ।

स्मिता बालाजु हाइटमा श्रीमान् तथा छोराछोरीका साथ बस्छिन् । अहिले बस्दै आएको उनको यो घर पुख्र्यौली घर नै हो । उक्त पुरानो घरलाई अगाडि नयाँ भाग थपेर रिनोभेट गरिएको छ । डेढ रोपनी जग्गामा निर्मित यो घर बाहिरबाट हेर्दा बंगला स्टाइलको देखिन्छ । मुख्य ढोकाबाट भित्र छिरेपछि सानो बगैंचा छ जहाँ कोइरालाको रुखदेखि भोगटे तथा अम्बाका रुखहरूसम्म छन् । बरन्डाबाट भित्र पस्दा लबीमा दुईवटा ठूला–ठूला ढोका छन् । ती ढोकाभित्र लिभिङ रुम, बार तथा डिस्को थिएटर छ । लिभिङ रुम पछाडिको ढोकाबाट पुरानो घरलाई लिंक गरी तल जान मिल्ने बनाइएको छ ।

भर्‍याङका भित्ताहरूमा स्मिता आफैले कोरेका चित्रहरू सजाइएको छ । पुरानो घरको बायाँतिर ठूलो डाइनिङ रुम छ । डाइनिङ रुममा मरुन तथा क्रिम कलरको फर्निचरको कम्बिनेसन छ । डाइनिङ रुमबाटै ओपन किचेनमा पुगिन्छ । किचेनको पछाडिको भागमा सर्भेन्ट क्वाटर छ । पार्टी हुँदा घर फोहोर नहोस् भनेर बाहिर पनि एउटा किचेन बनाइएको छ । लिभिङ रुमको सिटिङ एरियासँगैको राउन्ड भर्‍याङबाट माथिको बाल्कोनीमा जान मिल्छ । त्यहाँ टिभी रुम बनाई सोफाको एरेन्जमेन्ट गरिएको छ ।

बाल्कोनीबाट तल झर्न ४ वटा सिँढी ओर्लनुपर्छ । जहाँ मास्टर बेडरुम छ । बेडरुमको भित्र खुल्ला स्पेस राखी दराजहरू एरेन्ज गरिएको छ । त्यसको भित्रपट्टि बाथरुम छ, जहाँ ज्याकुजी पनि छ । अर्काे साइडमा छोराको कोठा छ । माथिल्लो तल्लामा छोरीको कोठा, एक्सरसाइज रुम तथा म्युजिक रुम छन् । उक्त तल्लाको माथिल्लो भागमा पूजा कोठा, मेडिटेसन तथा आर्ट गर्न अनि लेख्न–पढ्न मिल्ने गरी स्पेस छुट्याइएको छ ।

यो घर बाहिरबाट नयाँ स्टाइलको आवरणमा देखिन्छ भने भित्र नयाँ र पुरानोको फ्युजनमा तयार भएको छ । यो घरमा स्मिताका थुप्रै गीतको म्युजिक भिडियोसमेत छायांकन गरिएको छ ।

 Image