Successfully Copied

इगो र इखलाई पर राखौं

समय–परिस्थितिअनुसार कुनै पनि कुरामा एकजनाले त कम्प्रोमाइज गर्नैपर्छ, त्यतिबेला मैले किन कम्प्रोमाइज गर्ने, तिमी नै गर भन्ने जस्ता कुराले पनि सम्बन्ध बिग्रन्छ भने इगो र इखलाई वैवाहिक सम्बन्धबीच ल्याउनु हुँदैन ।

डा. विशाल

अश्माजीमा तपाईंले के देख्नुभयो र विवाहका लागि पहिलो भेटमै राजी हुनुभयो ?

म त्यतिबेला मेडिकेयरमा काम गर्थें । घर–परिवारबाट कुरा आयो, भेटेर कुरा गर्दा मेरो व्यस्त जीवनका लागि उनी परफेक्ट जीवनसाथी हुन्छिन् जस्तो फिल भयो । हाम्रो विवाहमा परिवारको भूमिका बढी छ । भेट्दा नाईं भन्नुपर्ने कुनै कारण नै देखिन ।

तपाईंको सफलतामा उहाँको भूमिका कस्तो छ ?

विवाह हुँदा उनी बैंकर थिइन् । सन्तान भएपछि उनले आफ्नो करिअर नै छोडेर सन्तान र आफ्नो घरका लागि समय दिइन् । हामी एकल परिवारमा बस्ने भएकाले उनले बैंकमै काम गरिरहेको भए सारै गार्‍हो हुने थियो । उनको निर्णयका कारण मेरो काममा कुनै बाधा सिर्जना हुन पाएन ।

तपाईंहरूको स्वभाव कत्तिको मिल्दोजुल्दो छ ?

भयंकर उल्टो छ । म आगो भए उनी पानी हुन्छिन् । म धेरै बोल्छु तर उनी निकै कम बोल्छिन् । मलाई सबैसँग घुलमिल भएर हल्लाखल्ला तथा रमाइलो गर्न मन लाग्छ । उनी भने कुल छिन्, एक्लै रमाउँछिन् तर हामी दुवै नयाँ–नयाँ परिकार चाख्न मन पराउँछौं ।

श्रीमती तथा बालबच्चाका लागि कत्तिको समय दिनुहुन्छ ?

म निकै व्यस्त छु तैपनि म अरूजस्तै बिहानदेखि ड्युटीमा जाँदिन । छोराछोरीलाई स्कुल पठाएर, खाना खाएर १० बजेपछि मात्र काममा जान्छु । सकेसम्म हप्तामा एकपटक परिवारलाई लिएर डिनर गर्न बाहिर निस्कन्छु । हामी वर्षमा ४–५ पटक सपरिवार काठमाडौं बाहिर पनि जान्छौँ ।

श्रीमतीको मन नपर्ने पक्ष चाहिँ के छ ?

एकदमै कम बोल्ने भएकाले मनका कतिपय कुरा थाहा हुँदैन । अलिकति सोसल हुनु पनि जरुरी छ । समाज तथा आफन्तहरूसँग त्यति सम्पर्कमा रहँदिनन् ।

अश्मा

श्रीमानको कुन कुराबाट प्रभावित हुनुहुन्छ ?

सबैलाई ठिक्क पारेर राम्रो सम्बन्ध बनाउन सक्नुहुन्छ । सकेसम्म राम्रो गरौं भन्ने सोच राख्नुहुन्छ । मलाई थाहा भएअनुसार उहाँले कसैको पनि चित्त दुखाउनुभएको छैन । जस्तोसुकै परिस्थिति आए पनि सहज रूपमा मिलाउन जान्ने उहाँको कलाबाट म प्रभावित पनि छु ।

आफ्नो करिअरलाई छोडेर हाउस वाइफका रूपमा बस्नुपर्दा कुनै गुनासो त छैन ?

काम छोड्ने निर्णय मेरो आफ्नै हो । भोलि प्रोफेसनल भएर पेरिन्टिङ लुज भयो भने अझ नराम्रो हुन्छ भनेर मैले काम छोडेकी हुँ । हामी एकल परिवारमा भएकाले पनि काम छोड्नु आवश्यक थियो । त्यसैले एकजनाले त कम्प्रोमाइज गर्नैपथ्र्यो । डा. विशालको काम तुलनात्मक रूपमा डिमान्डिङ भएकाले मैले काम छाडेकी हुँ जसप्रति मेरो कुनै गुनासो छैन ।

श्रीमानले घरको काममा कत्तिको सहयोग गर्नुहुन्छ ?

उहाँ भान्साको काममा पोख्त हुनुहुन्छ । खाना मीठो पकाउनुहुन्छ । फुर्सदमा आफैं घरलाई नयाँ लुक दिन पनि उत्तिकै रुचाउनुहुन्छ ।

श्रीमानको पटक्कै मन नपर्ने बानी ?

आफ्नो मात्र कुरा भन्ने, अरूको कुरा सुन्दै नसुन्ने बानी छ जुन मलाई पटक्कै मन पर्दैन ।

सम्बन्ध सुमधुर राख्न के–कस्ता गुण आवश्यक हुन्छन् ?

समय–परिस्थितिअनुसार कुनै पनि कुरामा एकजनाले त कम्प्रोमाइज गर्नैपर्छ, त्यतिबेला मैले किन कम्प्रोमाइज गर्ने, तिमी नै गर भन्ने जस्ता कुराले पनि सम्बन्ध बिग्रन्छ भने इगो र इखलाई वैवाहिक सम्बन्धबीच ल्याउनु हुँदैन ।

 Image