Successfully Copied

छेकिएको क्षमता

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव

मानिस स्वभावैले नयाँ कुरा गर्न मन पराउँछ, नयाँ स्वादमा रमाउन चाहन्छ । एकै किसिमको काम गर्दा कहिलेकाहीँ दिक्क लाग्नु अस्वाभाविक होइन । दैनिक उही र उस्तै प्रकृतिको जीवनमा ताजापन ल्याउन पनि नयाँपन आवश्यक छ तर जोकसैलाई आफ्नो क्षेत्रभन्दा परको दक्षता हासिल गर्न त्यति सहज छैन । त्यसका लागि समय, दृढता, सीप, क्षमता एवं बुद्धि खर्चनुपर्छ ।

प्रसिद्ध लेखिका मेरी डनबरले भनेकी छिन्–‘हामी हरेकले पृथक् एवं महत्वपूर्ण उपहार पाएका हुन्छौं, मात्र यत्ति हो स्वयंले यसको उपयोगिता र उत्साहलाई पहिल्याउन आफूभित्रको विशेष ज्योति प्रयोग गर्नुपर्छ ।’ हो यसरी नै हामीले उक्त ज्योतिको सहयोगमा आफूभित्रका खुबी बाहिर ल्याउन सक्नुपर्छ तब मात्र हाम्रो जीवन इन्द्रेणीजस्तै कलरफूल हुन्छ । अर्का विद्वान् बेञ्जामिन फ्र्यांकलिन भन्छन्–‘आफूभित्रको क्षमता लुकाउने होइन, आफू बन्नका लागि प्रयोग गर जसरी छहारीभित्र पनि सूर्यको प्रकाश रुमल्लिइरहेको हुन्छ ।’

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् :

डा. ऋतु बराल चिकित्सक तथा लेखिका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन डा. ऋतु बराल काठमाडौंमा जन्मिएकी हुन् । ऋतुले क्यानाडाबाट बिजनेस म्यानेजमेन्टमा विशेषज्ञता हासिल गरेकी छिन् भने इन्फेक्सन, प्रिभेन्सन एन्ड कन्ट्रोलमा विशेष कोर्स पूरा गरेकी छिन् । त्यसपछि उनले नेपाल फर्किएर ५ वर्ष किस्ट अस्पताल तथा अर्को ४ वर्ष पाटन अस्पतालमा काम गरिन् ।  

सेन्टमेरिजबाट स्कुलिङ सकेकी ऋतुले अमृत साइन्स कलेज हुँदै ढाका युनिभर्सिटीबाट एमबीबीएस र मणिपाल कलेज अफ मेडिकल साइन्सेसबाट एमडी गरेकी हुन् । प्रसूति गृहका स्त्रीरोग विशेषज्ञ डा. गेहनाथ बरालसँग वैवाहिक जीवनमा बाँधिएकी ऋतुका एक छोरा तथा एक छोरी छन् ।

सन् १९९५ देखि मेडिकल फिल्डमा कार्यरत बराल स्कुले जीवनदेखि नै लखनमा रुचि राख्थिन् । फिक्सन बढी लेख्छु–ती दिनको स्मरण गर्दै उनले भनिन्– ९–१० कक्षा पढ्दा राइजिङ नेपालमा लेटर टु एडिटर लेख्थें । अस्कल पढ्दा केटीहरूका लागि ड्रेस कोड थियो भने केटाहरूले ड्ेरस लगाउनु पर्दैनथ्यो । त्यस्ता विभेदका विषयमा मैले खुब लेखें । मलाई विशेषगरी महिलाको विषयमा कलम चलाउन मन लाग्छ ।  

सन् १९८६–८७ ताका भारतबाट प्रकाशित हुने स्याभी म्यागेजिनमा उनको दाइजो प्रथासम्बन्धी  लेख प्रकाशित भएको थियो, त्यसवापत २ सय भारु पुरस्कार हुलाकमार्फत प्राप्त गरेकी डा. बराललाई त्यसले लेखनमा थप ऊर्जा प्रदान गर्‍यो । बंगलादेशमा पढ्न बस्दा त्यहाँको प्रख्यात मर्निङ स्टार अंग्रेजी दैनिकमा उनले निकै लेख लेखिन् । त्यसैताका नेपाल स्टुडेन्ड एसोसियसनको म्यागेजिनमा पनि महिलाकै विषयमा आफूले अनेकौं लेख लेखेको ऋतु बताउँछिन् । नेपाल फर्किएपछि विभिन्न पत्रपत्रिकामा महिला तथा स्वास्थ्य विषयमा उनको कलम निरन्तर चलिरह्यो ।  

डा. ऋतु कामबाट फर्किएपछि तथा छुट्टीका बेला लेख्ने समय व्यवस्थापन गर्छिन् । असाध्यै पढ्ने आफ्नो बानीकै कारण आफू लेखनप्रति उत्प्रेरित भएजस्तो लाग्छ ऋतुलाई । डा. बराल भन्छिन्–लेख्ने बेला म डाक्टर हुँ भन्ने कुरा बिर्सन्छु । प्राय: रातको १ बजे सुत्ने ऋतु लेख्नका लागि सोही समय उपयुक्त हुने बताउँछिन् ।

आफ्नो नियमित पेसाभन्दा फरक क्षेत्रमा समेत सफल ऋतु भन्छिन्–‘सबैभन्दा ठूलो कुरा समय हो त्यसपछि त्यसलाई दिइने प्राथमिकता ।  यी कुरामा सन्तुलन मिलाउन सके आफूमा अन्तर्निहित प्रतिभा दबाएर बस्नु पर्दैन ।’

 Image