Successfully Copied

रक्षाकवच बने महिला

भारतीय रक्षामन्त्री निर्मला सीतारमण स–साना व्यवहार निर्वाह गर्नेदेखि लिएर विशाल राष्ट्र भारतको सुरक्षा प्रबन्ध मिलाउने र तिनको व्यवस्थापन गर्नेसम्मको काममा उत्तिकै पोख्त छिन् । ३ सेप्टेम्बर २०१७ मा भारतकी प्रथम महिला रक्षामन्त्री बन्न सफल निर्मला भारतीय जनता पार्टीका तर्फबाट आन्ध्रप्रदेश र कर्नाटकको

परिवार मात्र होइन शक्ति सन्तुलनमा पनि महिलाको भूमिका अतुलनीय देखिँदै आएको छ । अहिले संसारभर मुलुक हाँक्ने क्षमता बोकेका महिलाहरूको संख्या बाक्लिँदै जान थालेको छ । यो क्रम नेपाली परिवेशमा समेत बढ्दो छ । संसारका थुप्रै मुलुकमा महिलाहरू सम्मानित एवं शक्तिशाली पदमा पुगेका छन् । राज्यको शक्तिशाली पदमध्ये रक्षामन्त्री पनि प्रमुख जिम्मेवारीको पद हो जसको काँधमा मुलुकको सुरक्षाको जिम्मेवारी हुन्छ । अहिले विश्वका करिब डेढ दर्जनजति मुलुकका रक्षामन्त्री महिला छन् । तथ्यांकका रूपमा त्यति ठूलो उपलब्धि नभए पनि यो आफैमा उल्लेखनीय र गर्वलायक विषय भने पक्कै हो । यस क्रममा के तथ्य पनि स्मरणीय छ भने नेपालले एक दशकअघि नै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षामन्त्रीका रूपमा पाइसकेको थियो ।

२८ अक्टोबर २०१५ मा मुलुककै गरिमामय पदमा पुग्न सफल महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी सन् २००९ मा नेपालको रक्षामन्त्री पद सम्हाल्ने प्रथम महिला हुन् । संसारका थोरै महिलाले मात्र रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यद्यपि अतुलनीय र अवर्णनीय व्यवस्थापकीय क्षमता बोकेका महिलाहरू यो क्षेत्रमा पनि अब्बल साबित हुँदै आएका छन् ।

भारतीय रक्षामन्त्री निर्मला सीतारमण स–साना व्यवहार निर्वाह गर्नेदेखि लिएर विशाल राष्ट्र भारतको सुरक्षा प्रबन्ध मिलाउने र तिनको व्यवस्थापन गर्नेसम्मको काममा उत्तिकै पोख्त छिन् । ३ सेप्टेम्बर २०१७ मा भारतकी प्रथम महिला रक्षामन्त्री बन्न सफल निर्मला सन् १०५९ मा मद्रासमा जन्मिएकी हुन् । भारतीय जनता पार्टीका तर्फबाट आन्ध्रप्रदेश र कर्नाटकको सभासद, पार्टी प्रवक्ता हुँदै सन् २०१४ मा उद्योग तथा वाणिज्य मन्त्री बन्न सफल सीतारमण एक सन्तानकी आमा हुन् । जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर निर्मलाको हक्की स्वभाव, स्पष्टवक्ता अनि दृढताले उनलाई उक्त स्थान दिलाएको भारतीय राजनीतिक विश्लेषकहरू बताउँछन् । रेल स्टेशनका कर्मचारी नारायण सीतारमणले कामका सिलसिलामा आफू जहाँ–जहाँ पुग्यो परिवारलाई पनि उतै सार्ने गरेका थिए । परिणामत: निर्मलाले भारतका कयौं स्थानमा आफूलाई एडजस्ट गर्दै लगिन् । केही समय लन्डनमा बिताएकी निर्मलाले बीबीसी वल्र्ड सर्भिस, प्राइस वाटरहाउस, एग्रिकल्चर इन्जिनियर्स एसोसिएसन आदि संस्थामा अर्थविद्का रूपमा काम गरिन् । उनले हैदरावादमा प्रनभा स्कुल स्थापना गरेकी छिन् भने उनका श्रीमान् आन्ध्रप्रदेशका मुख्यमन्त्रीका संचार सल्लाहकारका रूपमा कार्यरत छन् ।

४ नोभेम्बर २०१६ मा स्पेनमा निकै ठूलो उत्सव मनाइँदै थियो । कारण थियो मारिया डोलोरेस डे कोस्पेडलले रक्षामन्त्री पदमा पदभार ग्रहण गर्नु । १३ डिसेम्बर १९६५ मा स्पेनको म्याड्रिडमा जन्मिएकी मारिया पिपुल्स पार्टीका तर्फबाट १२ सेप्टेम्बर २००६ मा सिनेट सदस्यमा निर्वाचित भएकी थिइन् । सन् २००८ मा पार्टीको सेक्रेटरी जनरल पदमा रही काम गरेकी मारियाका रिकार्डो नामका एक सन्तान छन् । स्पेनको राजनीतिक इतिहासमा आजसम्मकै सर्वाधिक अर्थात् ४८ दशमलव १३ प्रतिशत मत हासिल गरी विजय भएकी मारियाले सन पावलो युनिभर्सिटीबाट उच्च शिक्षा पूरा गरेकी छिन् ।

केन्याकी प्रथम महिला रक्षामन्त्री रेचेले ओमामो युनिभर्सिटी अफ केन्ट केन्टरवरी युकेमा कानुनकी विद्यार्थी थिइन् । त्यहाँ बस्दा उनले जातीय विभेद एवं रंगभेदलाई नजिकबाट अनुभूति गर्ने अवसर प्राप्त गरिन् । फलस्वरूप उनको मनमा सर्वाङ्गीण विकासको मेरुदण्ड राजनीतिमार्फत ती कुरा न्यूनीकरण गर्ने विचार आयो र रेचेले आफ्नै मुलुक फर्किएर राजनीतिमा प्रवेश गरिन् । २७ वर्ष हाइकोर्ट अधिवक्ताका रूपमा आफूमा निखार ल्याएकी रेचेले ल सोसाइटी केन्याकी प्रथम महिला अध्यक्ष पनि हुन् । फ्रान्स तथा पोर्चुगलका लागि प्रथम केन्याली महिला राजदूतका रूपमा ५ वर्ष बिताएकी ओमामोलाई युनेस्कोले पर्मानेन्ट डेलिगेट्स नियुक्त गरेको छ । ओमामो १५ मे २०१३ मा केन्याको रक्षामन्त्री भएकी हुन् ।

२१ सेप्टेम्बर २०१५ मा अस्ट्रेलियाजस्तो शक्तिशाली मुलुकको रक्षामन्त्रीको पदभार ग्रहण गरेकी मेरिस पेन पनि अस्ट्रेलियन राजनीतिक इतिहासमै उक्त पदमा पुग्ने प्रथम महिला हुन् । अष्ट्रेलियन डिपार्टमेन्ट अफ डिफेन्सअन्तर्गत पर्ने डिफेन्स साइन्स अफ टेक्नोलोजी गु्रप, डिफेन्स स्ट्राटेजिक पोलिसी एण्ड इन्टेलिजेन्स गु्रप, अस्ट्रेलियन डिफेन्स फोर्स, अष्ट्रेलियन आर्मी, रोयल अष्ट्रेलियन न्याभी तथा रोयल अस्ट्रेलियन इयर फोर्स आदि रक्षा समूहको नेतृत्व हाँक्न सफल मेरिसलाई संसारकै १० सर्वोत्कृष्ट महिलामध्ये एक मानिन्छ ।

फ्रान्सको मिनिस्ट्री अफ द आर्मड फोर्स हाँकिरहेकी त्यहाँकी रक्षामन्त्री फ्लोरेन्स पार्लीलाई कूटनीति कौशल जानेकी महिलाका रूपमा चिनिन्छ । २१ जून २०१७ मा पदभार सम्हाल्न पुगेकी पार्ली ८ मे १९६३ मा जन्मिएकी हुन् । प्रधानमन्त्री लायोनिअल जस्पिनको कार्यकालमा फ्लोरेन्स जुनियर बजेट मिनिस्टरमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनले इयर फ्रान्स फोर्समा डेपुटी जनरल डाइरेक्टरको कार्यभार सम्हालिन् । लामो अनुभव एवं प्रभावशाली व्यक्तित्वका कारण आज उनी यो स्थानसम्म पुगेको विश्लेषकहरू बताउँछन् ।

अफ्रिकन नेसनल कंग्रेसकी ६० वर्षीया नोसिविवे मपिसा–नक्वाकुला १२ जून २०१२ मा दक्षिण अफ्रिकाकी प्रथम रक्षामन्त्री बन्न सफल भइन् । क्यानेडियन युनिभर्सिटीमा अध्ययन गरेकी नोसिविवे मुलुकको सुरक्षाका लागि लामो समयदेखि काम गर्दै आएकी महिला हुन् । सन् २००४ देखि २००९ सम्म गृहमन्त्री रहेकी नोसिविवेले सन् २००९ देखि २०१२ सम्म मिनिस्टर अफ करेक्सनल सर्भिस पद सम्हालेकी थिइन् । सन् १९८४ मा मिलिटरी ट्ेरनिङका लागि दक्षिण अफ्रिका छोडेकी नोसिविवेले केही समय एन्गोला र सोभियत युनियनमा बिताइन् । तालिमपछि उनले संयुक्त राष्ट्रसंघअन्तर्गतको हाई कमिसन रिफ्युजी (युएनएचसीआर) का लागि हेड अफ द कमिसनका रूपमा काम गरिन् । चाल्र्स नक्वाकुलासँग वैवाहिक जीवनमा बाँधिएकी नोसिविवे रक्षामन्त्री बन्नुअघि दक्षिण अफ्रिकाको डेपुडी मिनिस्टर अफ डिपार्टमेन्टमा थिइन् ।

डेमोक्रेटिक पार्टी अफ द लेफ्टका तर्फबाट २०१४ मा इटालीको रक्षामन्त्री बन्न सफल रोबर्टा पिनोटा साहित्यकी विद्यार्थी तथा इटालियन हाईस्कुलकी शिक्षिका हुन् । ८० को दशकमा इटालियन कम्युनिष्ट पार्टीका तर्फबाट डिस्ट्रिक्ट काउन्सिलरका रूपमा राजनीति प्रवेश गरेकी रोबर्टा युवा तथा सामाजिक नीति एवं विद्यालयस्तरीय नीति निर्माणमा प्रख्यात नाम हो । सन् २००१ मा स्याडो क्याविनेटभित्र स्याडो मिनिस्टर अफ डिफेन्समा चित्त बुझाएकी पिनोटाले सन् २०१३ मा अन्डर सेक्रेटरी अफ स्टेट इन द मिनिस्ट्री अफ डिफेन्ससम्म आइपुग्दा उनमा सकारात्मक छनक देखियो । युनाइटेड अरब इमिरेट्स आदि खाडी मुलुकमा रक्षासम्बन्धी काम गरेको अनुभवले उनलाई सन् २०१४ मा इटालीजस्तो शक्तिशाली राष्ट्रको रक्षामन्त्री पदसम्म पुर्‍याएको बताइन्छ ।

सन् २०१२ देखि नेदरल्यान्डको रक्षामन्त्री पद सम्हालिरहेकी जेनी हेनसी–प्लासकर सन् १९७३ अप्रिल ७ मा हिरलेन्ड, नेदरल्यान्डमा जन्मिएकी हुन् । सन् २००० मा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी ज्वाइन गरेकी जेनी सन् २००४ मा ४४ हजार मतसहित युरोपियन संसद् सदस्य निर्वाचित भएकी थिइन् । सन् २०१० देखि २०१२ सम्म प्रतिनिधिसभाको सदस्य रहेकी जेनी सन् २०१७ को निर्वाचनपछि पुन: प्रतिनिधिसभामै फर्किइन् । सन् २००५ मा उनले विमानस्थलको सुरक्षाका लागि युरोपियन सदनमा फायल पेस गरेकी थिइन् । सन् २००६ मा उनलाई युरोपियन सदनले मिडियाको कोड अफ कन्डक्टका विषयमा प्रश्न उठाएको थियो । सोही वर्ष प्रेसिडेन्सियल इलेक्सन अब्जरभेसनका लागि बेलारुस छिर्न खोज्दा उनलाई रोकिएको थियो । संसारकै शक्तिशाली महिलामध्ये एक बताउँदै सन् २०१५ मा गृहमन्त्री भएकी जेनी २०१७ मा एक मोटर एक्सिडेन्ट केसपछि राजीनामा दिन बाध्य भइन् ।

सन् १९४९ मे २ तारिखका दिन बर्जेन नर्वेमा जन्मिएकी एनी ग्रेटे स्ट्रम इरिक्सेनले सन् २०१३ मा नर्वेको रक्षामन्त्री पद ग्रहण गरिन् । लेबर पार्टीकी कार्यकर्ता एनी इन्जिनियर हुन् । साइमेन्स निक्सडोर्फ जस्ता मल्टिनेसनल संस्थामा सिनियर कन्सल्टेन्सको काम गरेकी एनी सन् १९९९ मा बर्जेनको मेयर भएकी थिइन् । सन् २००२ मा लेबर पार्टीको सदस्यता लिएकी एनी सन् २००५ मा नर्वेजियन संसद् सदस्यनिर्वाचित भइन् । सन् २००५ मै उनले नर्वेको गृहमन्त्रीको पदभार ग्रहण गरिन् । त्यसपछि सन् २००९ मा स्वास्थ्यमन्त्री मनोनीत भएकी एनी सन् २०१२ मा पुन: गृहमन्त्री नभएसम्म उक्त पदमै थिइन् ।

सात सन्तानकी आमा उर्सुला वान डेर लेयेन सौन्दर्यकी प्रतिमूर्ति मानिन्छिन् । सेसेल्स, बेल्जियममा जन्मिएकी लेयेन ६० वर्षको उमेरसम्म पनि निकै आकर्षक एवं सुन्दर देखिन्छिन् । क्रिस्टियन डेमोक्र्याटिक युनियनकी नेतृ उर्सुलाले स्ट्यान्डफोर्ड युनिभर्सिटीका फ्याकल्टी मेम्बर श्रीमान्सँग हाउसवाइफका रूपमा क्यालिफोर्नियामा लामो समय बिताइन् । एन्जेला मार्केल चान्सलर हुँदा सन् २०१३ मा उर्सुलालाई जर्मनीको गृहमन्त्रीको पदभार सुम्पिइएको थियो । फिजिसियन उर्सुला जर्मनीको गृह मन्त्रालय हाँक्ने प्रथम महिला हुन् । त्यसअघि सन् २००५ देखि २००९ सम्म मिनिस्टर अफ सिनियर सिटिजन वुमन एन्ड युथ भैसकेकी उर्सुलाले २००९ देखि २०१३ सम्म लेबर एन्ड सोसल अफेयर्स मन्त्रीका रूपमा काम गरिन् । मेडिकलकी छात्रा उर्सुलापब्लिक हेल्थमा स्नातकोत्तर हुन् । सन् १९९० मा क्रिस्चियन डेमोक्र्याटिक युनियनबाट पार्टी प्रवेश गरेकी उर्सुला स्टेट मिनिस्टर हुँदै जर्मनीको गृह मन्त्रालय सम्हाल्न पुगेकी हुन् ।

कानुनकी विद्यार्थी एन्द्रेजा कटिक सन् २०१५ मा स्लोबानियाको गृहमन्त्री पदमा पुगेकी हुन् । स्लोबानियाको भेलेन्जे महानगरपालिको क्षमता अभिवृद्धि निर्देशकका रूपमा करियर सुरुवात गरेकी कटिकले त्यहाँ कानुन तथा प्रशासनका मुद्दा हेर्थिन् । युनिभर्सिटी अफ मारिबोरको सदस्यसमेत रहेकी एन्द्रेजाले स्लोबानियाको सहरी विकास–निर्माण तथा वातावरणका मुद्दालाई नजिकबाट नियालेकी छिन् । त्यसपछि उनले युनिसेफलगायत संयुक्त राष्ट्रसंघका विभिन्न प्रोजेक्टमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरिन् । सन् २०१३ मा स्लोबानियाको भेलेन्जे सहर संसारकै सुरक्षित सहरमा दरियो जसमा एन्द्रेजाको ठूलो योगदान छ । सन् २०१४ मा स्लोबानियामा संसदीय निर्वाचन भयो भने कटिक रिपब्लिक अफ स्लोबानियाको राष्ट्रिय सदनमा अत्यधिक मतले निर्वाचित भइन् । अंग्रेजी, जर्मन तथा क्रोसियन भाषाकी ज्ञाता एन्द्रेजा परिवारका साथ स्लोबानियाको भेलेन्जेमा बसोबास गर्छिन् ।

                                                                                      -एजेन्सीको सहयोगमा

 

 Image