Successfully Copied

रोजगारीका लागि असल शासन चाहिन्छ

सानो बच्चा अनि उचाइमा पुगिरहेको करियर, यो समय उनका लागि निकै जटिल रह्यो । होटल अन्नपूर्ण, फिस्टेल लज पोखरा तथा जगतपुर लज चितवन गरी हाल उनको मातहतमा ५ सयभन्दा बढी कर्मचारी छन् ।

 

हँसिलो मिजास, डाउन टु दि अर्थ स्वभाव अनि कडा परिश्रमी । यो परिचय हो– सृजना राणाको । यिनै गुणले आफूलाई सफलताको सिंढी चढ्न सघाउ पुर्‍याएजस्तो लाग्छ राणालाई । जनवरी १ तारिख सन् १९६८ मा स्व. बुवा किरणेन्दु तथा स्व. केन्द्र राज्यलक्ष्मी मल्लकी जेठी सन्तानका रूपमा काठमाडौंको कमलपोखरीमा जन्मिएकी राणाले सेन्टमेरिजबाट स्कुलिङ सकेपश्चात् भारतको वेलकम ग्रुप आइटीसी चेनबाट ३ वर्षे होटल म्यानेजमेन्ट कोर्स पूरा गरी दुई वर्ष त्यहीँ काम गरेकी हुन् । नेपाल फर्किएपछि उनले बुटिक खोलिन् । आफ्नी आमा ट्राभल एन्ड टुरिजम क्षेत्रमा कार्यरत भएकीले उनलाई त्यसमा पनि उत्तिकै रुचि थियो । सृजना ढेड वर्षकी हुँदा बुवाको स्वर्गारोहण भएपछि घरको सम्पूर्ण जिम्मेवारी आमाले सम्हालिन् । बुवा नभए पनि संयुक्त परिवारकी सृजनाको बाल्यकाल रमाइलोसँग बित्यो । उनीकहाँ काठमाडौं बाहिरका पाहुना कहिल्यै टुट्दैनथे । भान्सामा जहिलेसुकै खाना पाकिरहेको हुन्थ्यो । काका–ठूलाबुवाका समेत गरी १९ जना बालबालिका थिए उनको घरमा जहाँ रमाइलो त हुने नै भयो ।उतिबेला आत्मविश्वासी, कडा परिश्रम गर्ने र अंग्रेजी राम्रो भएकाहरुलाई उति गार्‍हो थिएन । सृजनामा ती सबै गुण थिए । त्यसैले ८० को दशकमा उनले बुटिकमार्फत ठूलो सफलता प्राप्त गरिन् । सन् १९९३ मा होटल व्यवसायी कपिल शमशेर जबरासँग वैवाहिक जीवनमा बाँधिएकी सृजनाको सन् १९९७ मा छोरी केसिया जन्मिइन् । त्यसपछि उनी व्यवसायसँगै छोरी हुर्काउन व्यस्त रहिन् । ट्राभल–टुरिज्म अनि होटल व्यवसायका क्षेत्रमा सृजनाले बाथरुम सफा गर्नेदेखि भाँडा माझ्ने, तरकारी काट्ने, पकाउने सबैको कुराको अनुभव बटुलेकी छिन् । उनको कामप्रतिको दृढता, कडा मेहनत र अद्वितीय क्षमता देखेर श्रीमान्ले आफ्नै व्यवसायमा संलग्न गराए । करियरको पिक–आवरमा उनले सन् २००४ मा छोरा सत्यजोत राणालाई जन्म दिइन् ।सानो बच्चा अनि उचाइमा पुगिरहेको करियर,  यो समय उनका लागि निकै जटिल रह्यो ।  होटल अन्नपूर्ण, फिस्टेल लज पोखरा तथा जगतपुर लज चितवन गरी हाल उनको मातहतमा ५ सयभन्दा बढी कर्मचारी छन् । लामो समयदेखि माइती नेपालका चेलीहरूलाई तालिम दिएर स्वरोजगार बनाउने काममा समेत खटिइरहेकी राणा फिस्टेल लजको शतप्रतिशत नाफा उनी उपाध्यक्ष रहेको जयन्ती ट्रस्टमार्फत मुटु रोगीको उपचारमा जाने बताउँछिन् । नेपालका ३ वटा अस्पताल गंगालाल, मनमोहन कार्डियाक सेन्टर तथा गण्डकी अस्पताल पोखरामार्फत हाम्रो पैसा मुटु रोगीका लागि जान्छ–सृजनाले भनिन्–त्यसबाहेक हामी नेपालका गाउँ–गाउँमा नि:शुल्क हार्ट क्याम्प चलाउँछौं, जनचेतनामूलक कार्यक्रम गर्छौं । होटल एसोसियसन नेपाल (हान) की उपाध्यक्ष राणा यसमार्फत होटल व्यवसायका क्षेत्रमा निर्णायक तहमा वकालत गर्ने काममा समेत सक्रिय छिन् । महिलाका लागि यो क्षेत्र सम्मानित र सुरक्षित बनाउन पनि सृजनाले थुप्रै काम गरिरहेकी छिन् ।अमेरिकामा मुख्यालय रहेको जोन्ता क्लबको नेपालस्थित अध्यक्ष सृजना यो संस्थामार्फत महिला सशक्तीकरणका क्षेत्रमा नेपालमा धेरै काम भैसकेको बताउँछिन् । हाल उनी यसको एरिया–डाइरेक्टर ( नेपाल र बंगलादेश) समेत हुन् । जोन्ता क्लब व्यवसायिक महिलाहरूको अन्तर्राष्ट्रिय संगठन हो जसले महिला सशक्तीकरण, महिला स्वास्थ्य, महिला विकास, महिला शिक्षा आदि क्षेत्रमा काम गर्छ । महिलाहरूलाई थुप्रै कानुनी अधिकार उपलब्ध छन् भनिएको अवस्थामा त्यस्ता कानुन थाहा पाउन के गर्ने, अधिकार प्राप्तिका लागि कहाँ सम्पर्क गर्नेजस्ता सूचना समेटिएका बुकलेट प्रकाशित गरी तालिम–प्रशिक्षकसहित बाँड्ने र बुझाउने कामका साथै सैनिक श्रीमती संघलाई नगद सहयोगसमेत गरेको जोन्ता क्लबले सिन्धुपाल्चोक, गोलढुंगा, पाशुपत क्षेत्रलगायतका स्थानमा शौचालय बनाउने काम उनकै अगुवाइमा सम्पन्न गरिसकेको छ ।

शिक्षा, अनुभव, आत्मविश्वास र एक्सपोजर यी चार कुराले महिलालाई सफल बनाउने सृजनाको ठहर छ । सदा भागदौडमै जीवन बिताएकी सृजना राणा हरेक बिहान योग गर्छिन् । यसले मानसिक एवं शारीरिक रूपमा शान्ति महसुस गर्न सहयोग पुर्‍याएको उनको अनुभव छ । आगामी योजनाका बारेमा सृजना भन्छिन्–‘यस्तो सुन्दर मुलुकमा जन्मिएँ, हुर्किएँ, मुलुककै लागि केही गर्नुपर्छ भन्ने सोचले यही पसिना बगाएँ । अब हामीलाई गुड गर्भनेन्स (असल शासन) चाहिन्छ तब मात्र हामी धेरै भन्दा धेरैका लागि रोजगारी सृजना गर्न सक्छौं ।’

 

 Image