Successfully Copied

महिला र मुटु रोग

यति बेला गर्मी हुने, मुटु ढुकढुक हुने मुटुको धड्कन बढ्ने तथा घट्ने हुन्छ भने स्वाँ–स्वाँसमेत हुनसक्छ । यस्तो बेला महिला आत्तिने, झर्किने, चिटचिट पसिना छुट्नुका साथै छाती दुख्ने पनि हुन्छ । यस्तो अवस्थामा कतिपय महिला आफूलाई मुटु रोग लागेको हो कि भनेर आत्तिन्छन्

महिलालाई प्रकृतिले नै महिनावारी हुने, शिशु जन्माउने, मेनापज (महिनावारी सुक्ने) जस्ता कुरा दिएको छ जुन पुरुषले भोग्नुपर्दैन । यसका सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । नकारात्मकअन्तर्गत महिनावारीका समयमा पेट दुख्ने तथा गर्भावस्थामा हुने पीडालाई लिन सकिन्छ भने सकारात्मकअन्तर्गत महिलाको महिनावारी सुक्नुअगावै मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । मेनापजअघि महिलामा मुटु रोगको सम्भावना कम भए पनि मेनापज हुने समयमा महिलाको शरीरमा हार्मोनको मात्रा घटेपछि केही लक्षण देखा पर्छन् ।

यति बेला गर्मी हुने, मुटु ढुकढुक हुने मुटुको धड्कन बढ्ने तथा घट्ने हुन्छ भने स्वाँ–स्वाँसमेत हुनसक्छ । यस्तो बेला महिला आत्तिने, झर्किने, चिटचिट पसिना छुट्नुका साथै छाती दुख्ने पनि हुन्छ । यस्तो अवस्थामा कतिपय महिला आफूलाई मुटु रोग लागेको हो कि भनेर आत्तिन्छन् । सबै छातीको पीडा मुटु रोगको कारण हुँदैन । यसलाई मेनापजमा हुने सामान्य समस्या मान्न सकिन्छ ।

सामान्यतया महिलाको मेनापज ४५ देखि ५० वर्षको उमेरमा हुन्छ । ४५ वर्षभन्दा कम उमेरका महिलामा मुटु रोग न्यून छ भने ५० वर्षसम्मका महिलालाई मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । यो उमेरमा पुरुषको तुलनामा महिलालाई कम मात्र मुटुको रोग लाग्छ । मेनापजभन्दा अघि हार्मोनका कारण मुटुमा ब्लकेज हुन पाउँदैन तर ५० वर्षभन्दा कम उमेरका महिलालाई मुटुको रोग नै लाग्दैन भन्ने होइन । ५० वर्षभन्दा कम उमेरका महिला जसको धूम्रपान गर्ने बानी छ, कोलस्ट्रोलको मात्रा उच्च छ तथा मधुमेह छ भने पनि मुटुको रोग लाग्ने सम्भावना वृद्धि हुन्छ । यो उमेरमा धूम्रपान गर्ने महिला पुरुषको तुलनामा बढी प्रभावित हुन्छन् । त्यसैले महिलाले मुटु स्वस्थ राख्न केही सावधानी अपनाउनुपर्छ । महिनावारी सुकेपछि सचेत हुनुपर्छ ।

लक्षण

-    महिला तथा पुरुषमा मुटु रोगका लक्षण पनि फरक–फरक हुन्छन् ।

-    महिलामा इसिजी गर्दा पनि अस्पष्ट लक्षण देखिन्छ । यद्यपि तिनै लक्षणका आधारमा उपचार गरेर महिलालाई ह्दयघातबाट जोगाउन सकिन्छ ।

-    कहिलेकाहीँ महिलामा देखिने लक्षण स्पष्ट नहुने हुँदा चिकित्सकहरू समेत झुक्किन्छन् । लक्षण ढिलो मात्र थाहा हुनसक्छ ।

-    सामाजिक कारणले गर्दा पनि धेरै महिला स्वास्थ्यसम्बन्धी सानातिना समस्यालाई बेवास्ता गर्छन् अर्थात् रोग लुकाउँछन् ।

-    समयमै अस्पताल गए रोगको उपचार समयमै गर्न सकिन्छ ।

के गर्ने ?  

-    महिलाले महिनावारी सुक्नुअगावै जीवनशैली तथा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    गुलियो, चिल्लो तथा मसालेदार खानेकुरा खानुहुँदैन । तौल नियन्त्रणमा राख्नुपर्छ ।

-    शारीरिक व्यायाम गर्नुपर्छ । बिहान, दिउँसो तथा बेलुकी जुनसुकै समयमा भए पनि १ घन्टा हिँड्नुपर्छ ।

-    अस्वस्थ बानी जस्तो धूम्रपान, मद्यपानको लत छ भने छोड्नुपर्छ ।

-    रोग लुकाएर बस्नुहुँदैन । सानाभन्दा साना समस्याका बारेमा पनि परिवारका सदस्यलाई बताउनुपर्छ ।

-    शरीरमा कुनै किसिमको असजिलोपन महसुस भए चिकित्सककहाँ जानुपर्छ ।

जानकारी

-    ५० वर्षभन्दा कम उमेरका महिला जसको चुरोट पिउने बानी छ, कोलस्ट्रोल तथा मधुमेह छ भने त्यस्ता महिलालाई पुरुषको तुलनामा बढी मुटु रोग लाग्ने बढी सम्भावना हुन्छ ।

-    पुरुषको तुलनामा महिलामा मुटु रोगको समस्या स्पष्ट देखिँदैन ।

-    महिलाको मुटुमै पीडा नभई घाँटी, बंगारा दुख्ने, स्वाँ–स्वाँ हुने लक्षण पनि मुटु रोगको कारण हुन सक्छ । यसका आधारमा अन्यत्र केन्द्रित हुँदा मुटुको समस्या बल्झिएको पनि पाइन्छ ।

-    एस्ट्रोजन हार्मोन महिलाका लागि मुटुको रक्षा कवच बनेर बसेको हुन्छ । यसले कोलस्ट्रोल बढ्न तथा मुटुका रक्तनली साँघुरिन दिँदैन भने रक्तचापसमेत नियन्त्रणमा राख्छ ।

-    ५५–६० वर्षको उमेरपछि महिलामा पनि पुरुषको जस्तै मुटु रोगको जोखिम बढ्छ ।

                  

                    मुटु रोग विशेषज्ञ, मोर्डन हर्ट क्लिनिक तथा ग्रान्डी इन्टरनेसनल हस्पिटल

 Image